नयाँ विमानको नेपाल उडान : पारस्पारिक आधारमा अनुमति

२०७७ असार १९ शुक्रबार ०८:४२:०० मा प्रकाशित

काठमाडौं : पारस्पारिक उडान प्रणालीका आधारमा मात्रै नयाँ विमान कम्पनीले नेपालमा उडान भर्न पाउने भएका छन्। बन्दाबन्दीको अवधिमा नेपालमा उडान नभरेका नयाँ विमान कम्पनीको हकमा सरकारले यस्तो व्यवस्था गर्न लागेको हो।

कोरियाबाट नेपाली फर्काउन जिन एयरले गरेको प्रस्तावको हकमा नीतिगत व्यवस्थामार्फत पारस्परिक उडान प्रणालीका आधारमा मात्रै उडान अनुमति दिन सकिने सरकारले जनाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार पारस्परिक उडानका लागि तयार नहुने जिनलगायत अन्य विमान कम्पनीलाई भने अनुमति दिइने छैन। मन्त्रालयका सचिव केदारबहादुर अधिकारीका अनुसार नेपाल एयरलाइन्सलाई पनि कोरिया उडान अनुमति दिइएको अवस्थामा मात्रै कोरियाको जिन एयरसहित अन्य विमान कम्पनीको हकमा नीतिगत व्यवस्था गरी अनुमति प्रदान गर्न सकिन्छ।

‘अहिले प्रस्ताव आएको जीन एयरको नेपाल उडानको प्रस्तावमा नेपाल एयरलाइन्सलाई पनि कोरिया उडानको अनुमति दिनुपर्ने हाम्रो सुझाव छ’, उनले भने,‘हामीले अहिले नेपालमा उडान नभरेका नयाँ बिमान कम्पनीको हकमा कुनै निर्णय गरेका छैनौं। तर पारस्पारिक उडान प्रणालीका आधारमा नीतिगत व्यवस्था गरी जान सकिन्छ।’

नेपाल एयरलाइन्सले पनि व्यावसायिक उडान नभरेका कारण कोरिया उडानको अनुमति नपाएको मन्त्रालयले जनाएको छ। कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण कोरियामा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकारले नेपाल एयरलाइन्सलाई प्रतिनेपाली ८ सय ७५ अमेरिकी डलर भाडादर तोकेको थियो। तर युरोपियन युनियनको हवाई नीति पालना गर्ने कोरियाले नेपाल कालोसूचीमा परेको भन्दै नेपाल एयरलाइन्सलाई उडान अनुमति दिएको छैन। हालसम्म कोरियाबाट नेपाली ल्याउने र नेपालबाट पनि नेपाली कामदार लैजाने विषयमा जिन एयरले मात्रै प्रस्ताव गरेको छ।

मन्त्रालयका अनुसार जिन एयरको प्रस्तावअनुसार एकतर्फी भाडा प्रतिव्यक्ति ८ सय २५ डलर छ। कोरियास्थित गैरआवासीय नेपाली संघकोे पहलमा कोरियाको जिन एयरले भाडादर तोकेर परराष्ट्र मन्त्रालयमार्फत पर्यटन मन्त्रालयलाई गत मंगलबार प्रस्ताव गरेको थियो। कोरियामा रहेका नेपाली कामदारलाई जुन ३० तारिख र जुलाई ५ तारिखमा जिन एयरमार्फत नेपाल फर्काउने गरी प्रस्ताव गरिएको एनआरएन कोरियाका संस्थापक अध्यक्ष तथा पर्यटन व्यवसायी केपी सिटौलाले अन्नपूर्णलाई बताए।

जिन एयरले प्रस्ताव गरेको भाडादर नेपालमा व्यावसायिक उडान भर्दै आएको कोरियन एयरलाइन्सको काठमाडौं–कोरिया उडान भाडादरभन्दा ४ सय २५ डलर सस्तो छ। कोरियन एयरलाइन्सले प्रतिव्यक्ति १ हजार २ सय ५० डलर प्रतिव्यक्ति काठमाडौं–कोरियाको भाडादर तोकेको छ।

कोरियामा अलपत्र परेका नेपाली स्वदेश ल्याउन सरकारले उद्धार उडानअन्तर्गत कोरियन एयरलाइन्सको हकमा प्रतिव्यक्ति ६ सय डलर तोकेको छ।

‘जिन एयरले अनुमति पाएको भए ७ सय ५० डलरमै नेपाली कामदार कोरियाबाट काठमाडौं र काठमाडौंबाट कोरिया आउजाउ गर्न सक्षम हुन्थे’, सिटौलाले भने,‘जिन एयरलाई अनुमति नदिइदा आर्थिक संकटको समयमा नेपालबाट कामका लागि कोरिया जाने कामदारले चार सय २५ डलर बढी तिर्नुपर्ने अवस्था छ।’

पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार उद्धार उडानका लागि कोरियन एयरले १ हजार डलरको प्रस्ताव गरे पनि सरकारले ६ सय डलरमा सहमति गराएर उडान अनुमति दिइएको हो। ‘कोरियाबाट नेपाल आउने नेपालीको भाडा सरकारले व्यवस्थापन गर्ने हो। तर कामका लागि चार्टर्ड उडानमा एयरलाइन्स कम्पनीले तोकेको भाडादरमा कोही कोरिया जान चाहन्छन् भने त्यसमा सरकारले हस्तक्षेप ह्ुन्न’, लामिछानेले भने,‘जीन एयरले प्रस्ताव गरेको भाडादरभन्दा कम मूल्य कोरियन एयरले कबोल गरेकाले उसैलाई नेपाली कामदार ल्याउन अनुमति दिइएको हो।’

कोरियाबाट नेपाल फर्किने सूचीमा १ हजार २ सय जना नेपाली कामदार छन्। यसमध्ये दोस्रो चरणमा फर्काउने भनेर करिब ३ सय कामदारको सूची कोरियास्थित नेपाली दूतावासले तयार पारेको छ। पहिलो चरणमा २ सय २८ जना जुन २० तारिखमा फर्केका थिए। कोरियाबाट जुलाईको अन्त्यसम्म करिब ५ हजार नेपालीको ईपीएस भिसा अवधि सकिन लागेको छ। भिसा समाप्त हुने कामदारलाई नेपाल फर्काउन र बिदामा नेपाल आएकालाई कोरिया पठाउन जिन एयरले प्रस्ताव गरेको भाडा दर सुलभ भएको पर्यटन व्यवसायी सिटौलाको दाबी छ।

बन्दाबन्दीमा टाइटर एयर, जजिरा एयरलगायत केही नयाँ विमानले भने उडान अनुमति पाएका छन्। यसैलाई आधार बनाएर जिन एयरले पनि नेपाल उडानको अनुमति पाउनुपर्ने सिटौलाको भनाइ छ। कोरियास्थित नेपाली दूतावासका कार्यवाहक राजदूत रामसिंह थापाले जिन एयरको प्रस्तावबारे सरकारलाई जानकारी गराइएको बताए। उनले भने,‘जीन एयर नेपाली आकाशमा नयाँ भएकाले सरकारको निर्णय नै अन्तिम हुनेछ।’
(अन्नपूर्ण पोष्टबाट)

ताजा खबर