मोदी र पुटिनका बीचमा कोरोनाबारे कुराकानी

२०७७ असार १९ शुक्रबार ०८:२६:०० मा प्रकाशित

नयाँ दिल्ली ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच कोरोनाका बारेमा कुराकानी भएको छ ।  कोरोनासँगै दुई पक्षीय सरोकारका विविध विषयमा छलफल भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

कोरोनाभाइरसबाट धेरै प्रभावित मुलुकहरुको सूचीमा अग्रस्थानमा रहेका दुवै देशका शीर्ष नेताहरुले कोरोना भाइरसबाट भइरहेको क्षति न्युनिकरणका लागि के के प्रयास भइरहेको छ भन्ने बारेमा अनुभव आदान प्रदान गर्नुभएको थियो ।

त्यसैगरी उहाँहरुले भावी दिनमा कोरोनाका लागि र अन्य विषयमा के कसरी सहकार्य गर्न सकिन्छ भन्ने बारेमा समेत छलफल गर्नुभएको थियो । भारतीय अधिकारीका अनुसार उहाँहरुले टेलिफोन कुराकानीका क्रममा यही बर्ष भारतमा हुने भनिएको बार्षिक सम्मेलनबारेमा पनि छलफल गर्नुभएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले आफ्नो देशमा हुने सम्मेलनमा स्वागत गर्न आफु प्रतिक्षारत रहेको बताउनुभएको पनि वक्तव्यमा उल्लेख गरिएको छ । आफ्नो देशमा स्वागत गर्न प्रतिक्षारत रहेको मोदीको भनाईप्रति पुटिनले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कुराकानीका क्रममा संविधान संशोधन गरेर कार्याकाल लम्ब्याउन सफल भएको र संविधान संशोधनको प्रस्तावमा अत्यधिक मत प्राप्त गरेकोप्रति प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनलाई बधाई दिनुभएको थियो ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर