सलहका कारण कृषकमा भोकमरीको चिन्ता

२०७७ असार १९ शुक्रबार ०८:१७:०० मा प्रकाशित

प्युठानको सरुमारानी गाउँपालिका–३ दुमहीका चुमबहादुर राना वर्षेनी २९ रोपनी बारी र ८ रोपनी खेतमा मकै लगाउंँछन् । उनले यस वर्ष पनि मकै लगाए ।

यहाँ फलेको मकैले वर्षभरि खान पुग्थ्यो । हलक्क बढेको मकै भर्खर पसाउँदै थिए । उनलाई यस वर्ष पनि मकै राम्रै फल्छ भन्ने आस थियो । किन कि मकै घोगा हाल्ने तयारीमा थियो । तर, सलहले बोटमै मकै सोतर पारेपछि उनको आशा निराशामा परिणत भएको छ । मकै हुर्कंदै गर्दा अमेरिकी फौजी कीराले सतायो । उनले कृषि प्राविधिकको सल्लाहअनुसार विषादी छरेपछि त्यसलाई केही नियन्त्रणमा ल्याउन सफल भए ।

एकाएक ठूलो झुन्डमा आएका सलहबाट भने उनले मकै जोगाउन सकेनन् । हेर्दाहेर्दै सलहले मकै सकेपछि उनी चिन्तामा छन् । राना मात्र होइन साविकको हंसपुर गाविसका मकैखेती गर्ने धेरैजसो किसानको अवस्था उस्तै छ । कीराले गुभोसमेत खाएर सखाप पारेपछि मकैको बोटका डाँठमात्र ठडिएका देखिन्छ । सरुमारानी–३ कोटाचौरकी चमेली पल्लीले पनि बारीमा लगाएको मकैको पात सलह कीराले खाएर आधासरो ठुटो बनाएको गुनासो गर्नुभयो ।

‘६ महिना खान पुग्ने मकै सलहले छिनभरमै स्वाह पा¥यो ।’ –पल्लीले भन्नुभयो । हंसपुरको दुमही, कोटाचौर, कोटघर टोल, बाङ्गेसाललगायतका झन्डै ५० बढी किसानले लगाएको मकैमा सलहले क्षति पु¥याएको हो । आगो बाल्ने, थाल ठटाउने जस्ता विधि अपनाए पनि सलह नभागेको किसानहरू बताउँछन् ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर