पाइलट र एयर होस्टेजलाई कोरोना

२०७७ असार १९ शुक्रबार ०८:११:०० मा प्रकाशित

लकडाउनका बेला तीन दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय उडान गरेको हिमालयन एयरलाइन्सका पाइलट र क्याबिन क्रु मेम्बरलाई कोरोना भाइरस संक्रमण भएको खबर छ । प्राप्त जानकारीअनुसार हिमालयन एयरलाइन्समा कार्यरत एक मेक्सिकन पाइलट र एक एयर होस्टेजलाई कोरोना संक्रमण भएको हो ।

आरडीटी परीक्षणमा नेगेटिभ आएका उनीहरूको पीसीआर जाँचमा पोजेटिभ आएको जनाइएको छ । संक्रमण पुष्टि भएपछि उनीहरूलाई बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा भर्ना गरिएको छ । कोरोनाको उपचारका निम्ति सरकारले तोकेको अस्पतालमध्ये सो एक हो ।

पाइलटलाई संक्रमणलाई संक्रमण पुष्टि भएपछि उनको ‘कन्ट्रयाक ट्रेसिङ’ का क्रममा एयर होस्टेजलाई पनि संक्रमण भएको फेला परेको स्रोतको भनाइ छ । संक्रमण देखा परेसँगै हिमालयन एयरलाइन्समा ४० भन्दा बढी पाइलट र ८० भन्दा बढी एयर होस्टेज तथा अन्य कर्मचारीलाई निगरानीमा राखिएको स्रोतले जनाएको छ ।

यता हिमालयन एयरलाइन्समा विभिन्न देशबाट उडान गरेका यात्रुको जानकारी लिने क्रम पनि जारी रहेको बताइएको छ । ४० भन्दा बढी उडानबाट सयौंको संख्यामा यात्रु आएकाले सबैको विवरण अझै प्राप्त भइनसकेको स्रोतले जनायो ।

संक्रमित कर्मचारीको स्वास्थ्य स्थिति, सुरक्षा सतर्कता एवं कन्ट्रयाक ट्रेसिङलगायतका बारेमा जानकारी लिन हिमालय एयरलायन्सका प्रशासन उपाध्यक्ष विजय श्रेष्ठसँग नेपाल समाचारपत्रले पटक–पटक प्रयास गरे पनि सम्र्पक हुन सकेन ।

प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिएको हिमालयन एयरलाइन्सले सरकारी सदाशयताकै कारण राष्ट्रिय ध्वजावहाक विमान कम्पनी नेपाल वायुसेवा निगमले भन्दा बढी प्राथमितकता पाउँदै आएको छ ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर