हठात् संसद अन्त्य गर्ने सरकारको निर्णय अनुत्तरदायी : कांग्रेस

२०७७ असार १९ शुक्रबार ०६:५१:०० मा प्रकाशित

काठमाडौँ — संसदको चालु अधिवेशन आजै (बिहीबार) साँझबाट अन्त्य गर्ने सरकारको निर्णयलाई प्रमुख प्रतिपक्षी कांग्रेसले अनुत्तरदायी कदम भनेको छ । संसदमा भएका सबै दलसँग सल्लाह गरेर, संसदको बिजनेस सकिएपछि अधिवेशन अन्त्य गर्ने परम्परा भएकोमा अन्य दललाई थाहासमेत निदइ अधिवेशन अन्त्य गरेर सरकारले संसदलाई कार्यकारीको लाचार छायाँमा परिणत गर्न खोजेको पनि कांग्रेसले बताएको छ । 

प्रतिनिधि सभामा कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कान्तिपुरसँग भने, 'संसदको बिजनेस सकिएको थिएन । विधेयक, प्रतिवेदन, संकल्प र ध्यानाकर्षण प्रस्तावहरु थिए । यी सबैमा छलफल हुन नदिइ हठात् रुपमा संसद अन्त्य गर्नु सरकारको अस्वभाविक व्यवाहा भयो । यो जनउत्तरदायी पनि भएन, संसदीय अभ्यास विरुद्ध पनि भयो ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पनि एक विज्ञप्ति जारी गर्दै संघीय संसदको जारी अधिवेशन एकाएक अन्त्य गरिएको घटनालाई आपत्तिजनक भन्दै यसमा आफ्नो पार्टीको असहमति रहेको बताएका छन् । उनले एमसीसी लगायत महत्वपूर्ण विधेयक र कोरोनाको चुनौती सामाना गर्न प्रस्तुत संकल्प प्रस्तावबारे टुंगोमा नपुगी अधिवेश अन्त्य गरिनुलाई दुखद भनेका छन् । अधिवेशन आह्वान र अन्त्य गर्ने स्थापित निश्चित प्रक्रियालाई अवलम्बन नगरिएको पनि कांग्रेसले बताएको छ ।

शर्माले विज्ञप्तिमा अधिवेशन अन्त्य गर्ने बारे कांग्रेससँग कुनै परामर्श नगरिएको र पूर्व सूचना पनि नदिइएको बताएका छन् । 'संसद अधिवेशन अन्त्य गर्नेबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग न त कुनै परामर्श गरिएको छ न त पूर्व सूचना दिइएको थियो,' विज्ञप्तिमा भनिएको छ ।

उनले दलभित्रको द्वन्द्वको दुस्प्रभाव संसद अधिवेशनमा पर्नु दुखदमात्र होइन आपत्तिजनक भएको पनि बताएका छन् । 'जनताको जीवन प्रधान कि सत्ताको राजनीति ? सम्माननीय प्रधानमन्त्रीसमक्ष सार्वजनिक रुपले प्रश्न राख्दै नेपाली कांग्रेस संघीय संसदको अधिवेशन हठात अन्त्य गरिएकोमा असहमति प्रकट गर्दछ,' विज्ञप्तिमा भनिएको छ ।
(कान्तिपुर अनलाइनबाट)

ताजा खबर