७ सय गोल गर्ने सात फुटबलर

२०७७ असार १८ बिहीबार ०७:५१:०० मा प्रकाशित

स्पेनिस ला लिगा क्लब बार्सिलोनाका कप्तान लियोनल मेसीले नेपाली समय अनुसार आज बिहान भएको खेलमा एट्लेटिको मेड्रिडविरुद्ध एक गोल गरेका थिए । उक्त गोलसँगै मेसीले आफ्नो नाम सेभेन हन्ड्रेड क्लबमा समावेश गरेका छन् । उक्त गोल मेसीको करियरको सात सयौं गोल बन्यो ।

बार्सिलोना र राष्ट्रिय टिमबाट गरी उनले आफ्नो कुल गोलसंख्या सात सय पुर्‍याएका हुन् । योसँगै अर्जेन्टिनाका कप्तान समेत रहेका मेसी सात सय गोलको कोशेढुंगा पार गर्ने विश्वका सातौं खेलाडी बनेका छन् । यसअघि ७ सय गोलको कोशेढुंगा पूरा गर्नेमा जम्मा ६ जना खेलाडीको मात्र नाम रहेको थियो ।

स्पोर्ट सकर फाउन्डेसनद्वारा जारी गरिएको तथ्याङ्क अनुसार ७ सय गोल गरेर सेभेन हन्ड्रेड क्लबको अन्य ६ खेलाडीमा क्रिस्टियानो रोनाल्डो, रोमारियो, पेले, गर्ड मुलर, फेरेन्क पुस्कास र जोसेफ बिकानको नाम उल्लेख छ ।

लियोनल मेसी

अर्जेन्टिनाका समेत कप्तान रहेका ३३ बर्षे लियोनल मेसीले आफ्नो पुरै करियर बार्सिलोनाबाट खेल्ने बताएका छन् । करियरमा मेसीले ८ सय ६० खेलमा सात सय गोल पुरा गरेका हुन् । यो कोशेढुंगा पार गर्ने क्रममा पछिल्ला तीन खेलमा उनी गोलविहिन बनेका थिए ।

गर्ड मुलर

सन् १९७४ मा जर्मनीलाई फिफा विश्वकपको उपाधि दिलाउन निर्णायक गोल गरेका जर्मन फुटबल लेजेन्ड हुन् गर्ड मुलर । उनले आफ्नो खेल करियरमा ७ सय गोल कटाएका थिए ।

सन् १९६२ देखि १९८१ सम्म फुटबल खेलेका उनले ७ सय ९३ म्याचमा ७ सय ३५ गोल गरेका हुन् । उनी बायर्न म्युनिख क्लबका कीर्तिमानी गोलकर्ता पनि हुन् ।

क्रिस्टियानो रोनाल्डो

फुटबल करियरमा ७ सय गोल पूरा गर्ने पोर्चुगलका क्रिस्टियानो रोनाल्डो वर्तमान विश्व फुटबलका अर्का चर्चित नाम हुन् । उनले अहिलेसम्म चार वटा क्लबबाट खेलेका छन् ।

सन् २००१ बाट फुटबलमा लागिपरेका रोनाल्डोले स्पोर्टिङ्ग सीपी, म्यानचेस्टर युनाइटेड, रियल मेड्रिड हुँदै हाल इटालियन सिरी ए क्लब युभेन्ट्सबाट खेलिरहेका छन् । उनले पोर्चुगलका साथै क्लबबाट गरी १ हजार ४१ खेलमा ७ सय ४४ गोल गरेका छन् ।

फेरेन्क पुस्कास

सन् १९४३ देखि १९६६ सम्म फुटबल खेलेका हंगेरियन लेजेन्ड पुस्कासले आफ्नो खेल करियरमा ७ सय ५४ भन्दा बढी खेलमा ७ सय ४६ भन्दा बढी गोल गरेका छन् । उनले ठ्याक्कै कति खेलमा कति गोल गरेको स्पष्ट प्रमाण नभेटिए पनि गोलसंख्या भने ७ सय ४६ गोल कटाएको उल्लेख छ ।

रोमारियो

नेदरल्यान्ड्सको पीएसभी आइन्डओभेन, स्पेनको बार्सिलोना तथा भ्यालेन्सिया क्लबबाट खेलेका रोमारियोले क्लब र ब्राजिलबाट गरी ७ सय ७२ गोल गरेका छन् ।

१९८५ देखि २००७ सम्म फुटबल खेलेको उनले ९ सय ९४ खेलमा उक्त गोल गरेका हुन् । त्यसक्रममा उनले सन् १९९४ मा ब्राजिलले चौथो पटक फिफा विश्वकप जित्दा ५ गोल गरेका थिए ।

पेले

फुटबलको दुनियाँमा ‘कालो हिरा’ बाट परिचित पेलेले ब्राजिलियन क्लब सान्तोस र अमेरिकाको न्यूयोर्क कसमस र ब्राजिलबाट खेल्ने क्रममा ७ सय ३७ गोलको आँकडा पूरा गरेका थिए ।

उनले ८ सय ३१ खेलमा उक्त गोलसंख्या पूरा गरेका हुन् । तर, सन १९५७ देखि १९७७ सम्म खेलेका पेलेले १ हजारभन्दा बढी गोल गरेको दाबी गर्दै आएका छन् ।

जोसेफ बिकान

सन् १९३१ देखि १९५६ सम्म फुटबल खेलेर ८ सयभन्दा बढी गोल गरेका भएपनि चेक–अष्ट्रियन मूलका जोसेफ बिकान अन्य गोलकर्ताको तुलनामा छायाँमा परेको नाम हुन् । उनको नाम त्यति चर्चामा आउने नगरे पनि उनले करियरमा खेलेको ५ सय ३० भन्दा बढी खेलमा ८ सय ५ गोल गरेको उल्लेख छ ।

फेरेन्क पुस्कासको जस्तै उनको पनि खेल र गोलसंख्या ठ्याक्कै यत्ति नै भनेर उल्लेख नगरिए पनि ७ सय गोलको कोशेढुङ्गा पूरा गर्नेहरुको सूचीमा उनको नाम शीर्ष स्थानमा गनिन्छ । तथ्याङ्क अनुसार ८ सय ५ गोल गरेका भएपनि उनले आफ्नो गोलसंख्या १ हजार ५ सयको हाराहारीमा पुर्‍याएको बताइन्छ ।

४२ वर्षको उमेरपछि मात्र क्लब फुटबलबाट सन्यास लिएका जोसेफले रेपिड भियना, डिनामो प्राग लगायत अष्ट्रिया र चेक रिपब्लिकका गरी करिब आधा दर्जनभन्दा बढी क्लबबाट खेलेका थिए । उनी बीसौं शताब्दीका युरोपियन क्लबका गोल मेसिनबाट समेत परिचित छन् ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर