‘प्रचण्ड आएपछि रात पर्नै परेन’ 

२०७७ असार १७ बुधबार १३:०६:०० मा प्रकाशित

लौ ! दुरुस्तै किच्चक पो हुनुहुँदो रैछ त ! 

उहाँ मुस्कुराउनु भो– हो ! म किच्चक नै हुँ !!

तपाईंलाई त भीमले मारेको हैन र ? 

लामो हाँसो हाँस्नु भो उहाँ शोलेको गब्बर झैँ !

कस्ले मार्न सक्ने मलाई ? छातीमा मुड्की बजार्दै उल्टै मलाई पो सोध्नु भो !

भीमले तपाईंको बध गरेर यो ठाउँको नाम किच्चक बध रहेको किम्बदन्ती छ नि त ! मैले फोटो देखाएँ !!

केहीबेर टोलाउनु भो ! भावुक हुँदै बोल्नु भो– कोशिश त गरेको हो तर सकेन !!

अनि यो फोटो, किम्बदन्ती के त ?

भ्रम ! सबै भ्रम !! मेरो नाटक !!

भ्रम ? नाटक ? कसरी किच्चकजी ?

जिज्ञासा राखिहाल्यौ ! ल सुन– भीमको कुटाइबाट बच्न मरेको नाटक गरें ! म मरेको ठानेर उसले पनि छोडदियो !! दुनियाँले पनि पत्याए तर म मरेको थिईन !!

अनि यत्रो दिन कता हराउनु भो त ?

त्यसपछि म बिहार गएँ ! उता मेरा दौँतरी प्रशस्तै थिए ! बानी बेहोरा सबै मिल्ने ! उतै बसियो !

अनि यत्रो बर्ष यता आउने जाने भएन त ?

भयो नि ! किन नहुनु ? पञ्चायतकालमा बेला बेला आईरहन्थे ! त्यसबेला पनि केही मित्र थिए मेरा ! कोहि पञ्चका नाममा ! कोहि तश्करका नाममा !! कोहि

ब्यापारका नाममा !! जो जता जुनसुकै रूपमा भए नि हाम्रो जमघटको केन्द्र चंै दरवारमार्गको एउटा घर थियोे ! साथीहरू मिलेर पोखरा सोखरा घुम्न गैरहिन्थ्यो !!

नमिता –सुनिता काण्ड सुनेको होला हैन ? अहिलेको निर्मला काण्ड झैँ !

मैले ‘हो’ मा टाउको हल्लाएँ ! बोली फुटेन !!

धेर नबुझ ! उहाँले दाहिने आँखा झिम्क्याउनु भो !

भनेपछि तपाईंको मरेको नाटकभित्र त यत्रो मोजमस्ती पो रैछ ! हैन त ?

स्वीकारमा टाउको हल्लाउँदै कथा जारी राख्नु भो– बहुदल आएपछि धेरै साथीहरू थपिए ! बिहारी जस्तै !! पञ्च सहित केही साथी त छँदै थिए ! यतैको सर्कल ठूलो भएपछि बिस्तारै बिहार छोडियो ! यतै बढी बसोबास हुन थाल्यो !! धेरै साथीहरूले राजनैतिक पार्टी खोले ! काङ्ग्रेस, एमाले, राप्रपा, सद्भावना विभिन्न नाममा !!

बहुदलीय मित्रहरु समेतको सामेली भो मेरो फ्रेण्ड लिस्टमा !!

अनि तपाईं चै कुन पार्टीमा हो त ? कि आफ्नै पार्टी खोल्नु भो ?

किच्च हाँस्नु भो उहाँ ! 

किन खोल्नु पार्टी ? सबै मेरै मित्रहरू हुन् ! मेरै आदर्शमा चलेका छन् ! मलाई नै रोल मोडल मान्छन् !! म सबैको, सबै मेरा !!

अनि ! ब्यापार ब्यबसाय के छ त ? घरवार त चलाउनै प¥यो हैन त ?

छैन ! कुनै ब्यवसाय छैन ! सबै मेरै नामको लाईसेन्सबाट काम गर्छन् ! त्यसकै रोयल्टीबाट चल्छ भन्नुप¥यो !! कहिलेकाहीँ साथीहरूबीच मनमुटाव हुन्छ ! बेला बेला

आफैं पनि गराईदिन्छु अनि मिलाउने पनि गर्दिन्छु !! अलेली हात लागिहाल्छ !!

झगडा पनि गर्छन् र ? अनि तपाईंले मिलाउँदा मिल्ने पनि हुन्छ त ?

किन नगर्नु ? खान नपाउँदा उखपात गर्छन् ! खान पाउँदा सबै मिल्छन् !! मिलाउने जिम्मेवारी चै मेरै हुन्छ !! सबैमा मेरै बुद्धि पसेकोले होला खाने ख्वाउनेमा मिल्छन् ! मेरो कुरो मान्छन् पनि ! महाकाली, टनकपुर, तराईको नागरिकता ! के के भन्नु र ? तिमीले बुझेकै छ नि ! प्याट्ट मेरो पिठ्युँमा हान्नु भो !!

भनेपछि कमाई धमाई त राम्रै रैछ ! घर बनाउनु भो त काठमाडौंमा ? बालुवाटारतिर जग्गा त निकै जोड्नु भो होला हैन ?

मज्जाले हाँस्नु भो किच्चकजी ! म ट्वाल्ल परेर हेरिरहें ! कथालाई निरन्तरता दिँदै जानू भो– किन चाहियो घर ? खान बस्न खाँचो छैन ! सबैले तानातान गर्छन् ! बोलाईरहन्छन् ! कहिले कता, कहिले कता ? देशभरि छन् साथीहरु ! पञ्चायतकालमै केही थिए ! बहुदल आएपछि निकै थपिए, झन् गणतन्त्र पछि त जङ्गल पसेका समेत सलह झै थपिए ! अहिले संघीयता थपिएपछि त तराई पहाड हिमाल सबैतिर कुत्ता नपुछे नेता !! अधिकांश मेरा मित्र !! एउटाकोमा एक दिन बस्दा नि बर्सौ बित्छ !!!

जोसैजोसमा  निकैबेर उभिएर गफिएछ ! खुट्टा गलेपछि पो थाहा भो ! छेउको कान्लामा बसियो ! मलाई पनि किच्चकजीलाई चिमोट्न मन लाग्यो ! रमाइलो लाग्यो ! सोधेँ– विशेषगरि को को छन् त साथीहरू ? बढी समय कता बित्छ ?

कता मात्र भन्नु ? जता पनि छन् नि ! देशैभरी घुम्छु तर राजधानी नै बढी हो समय बित्ने चै ! कहिले बुढानिलकण्ठ कहिले खुमलटार कहिले कोटेश्वर कुनै दिन सानेपा कुनै दिन बल्खु !! प्रायः सत्ताकै वरिपरि हुन्छु ! सिंहदरबार– बालुवाटारभित्र जो पस्छन् उनीहरु स्वतः मेरा परम मित्र भैहाल्छन् ! उनीहरु सँगसँगै म पनि पसिहाल्छु !!

बढी प्रिय चैं को भए त ? यत्रो संगत गर्दा !

प्रायः सबै प्रिय नै हुन् तर पनि अघि पछि मिलाउँदा चैं कोइराला, देउवा हुँदा फोन गरेर बोलाउथे ! रात परेपछि पसिन्थ्यो ! प्रचण्ड आएपछि रात पर्नै परेन दिउँसै पसियो ! अब अहिले दुबै मिलेका छन् ! दुई तिहाई पनि छ !! फोन न सोन पत्रिकामै बिज्ञापन दिएर बोलाका छन्  ! मेरो मात्रै टेण्डर परेको छ !! जतिसुकै बेला खुल्लम खुल्ला पस्छु ! कुनै रोकटोक छैन !! कहिलेकाहीँ शीतल निवासतिर पनि गईन्छ ! अस्ति नयाँ हेलिकप्टर चढ्ने निम्तो आकोथ्यो ! मुस्ताङ गएर मार्फा चाखेर आईयो ! मज्जा आयो !!! कार्पेट हेर्न जान चैं भ्याको छैन ! अब फर्केर जानु छ !!! अलि समस्या परेको भनेको किशुनजी र मनमोहनजीको पालामा हो !! नत्र जीवन चकाचक नै छ !! अहिले त घर ज्वाईं जत्तिकै भको छु ! ढुक्कै बस्छु उतै !!!

अनि यता चैं कसरी नि ? किच्चक बध आउनुको कारण ?

म मारिएँ भन्ने हल्ला व्यापक रैछ ! रमाइलो लाग्यो सबै उल्लु भको देखेर !! एसो घुम्न आएको भीमले मलाई मारेको फोटो देखेर खुब हाँस उठ्यो !!! उनीहरुलाई के थाहा ? म मरेको छैन झन् बलवान् भएको छु भन्ने !! लामो हाँसो हाँस्नु भो किच्चकजी !! घडी हेर्दै भन्नु भो– लु अब छुट्नु पर्छ होला ! ढिलो भो ! मेरो त एयरपोर्ट पुग्नु छ !! आजै काठमाडौं नपुगी हुँदैन !! ओलीजीको फोन आको आकै छ ! साथीहरुले पेल्दैछन् रे !!! तिम्रो स्कुटर छ है ? मलाई एयरपोर्ट छोड्देउ ल !
लकडाउन छ ! एयरपोर्ट गएर के गर्नु ? प्लेन आउनु परेन ?

अरे उल्लु ! लकडाउन सकडाउन तिमेरलाई हो, हामीलाई हैन ! तिमी पुर्याउ मात्र न ! मलाई लिन डेढ अर्बको हेलिकप्टर आउँदैछ !!

किच्चकजीलाई पछाडि राखेर हिँडियो चन्द्रगढीतिर ! ‘ज्ञान चोक’ मा पुगेपछि रोक्न लाउनु भो !

आउ ! खाजा खाउँ ! यहाँ राम्रो पाईन्छ !! सेवारो है बोजु !! बाहिरैबाटै कराउँदै पस्नु भो !! पुरानो अड्डा रैछ उहाँको !! स्वागत सत्कारबाटै बुझियो !!!

लु ! फाक्सा पोल्नु अनि दुई गिलास दिनु त बोजु !! किच्चकजीले अर्डर दिनु भो !!

म त खान्न त !! मधुरो स्वरमा बोलें म !

ओठ लेपारेर हेर्नु भो मलाई ! कहिले देखि हो यो नाटक ? 

साँच्चै हो ! लसुन प्याज त खान्न अचेल ! लुरुलुरु भन्ने धर्म पो लिएको छु त !!

अब खुरुखुरु भन्ने धर्म लिने ! प्याट्ट मेरो गालामा हिर्काउँदै बोल्नु भो– नौटन्की ! नेता हुने भएछौ अब !! नालिमा लड्दा उठाएर कागती पानी ख्वाउने मै हैन ?

खुरुक्क तन्काउ !! नाटक गर्छौ अहिले ? त्यो पनि मसँग ?

फेला परियो किच्चकको ! तन्काईयो ! एयरपोर्ट पुगियो !! हात मिलाईयो !! आलिङ्गनादी गरेर बिदा भईयो !! उहाँ काठमाडौं लाग्नु भो ! म घर लागें !!
दिनभरी संगत गरियो किच्चकजीसँग ! सँगै बसेर तन्काईयो पनि !! मित्रता भो !! रमाइलो गफगाफ भो !!

कतै नेता हुने लक्षण त हैन ???

डरमर्दो पो भो त !

(किच्चक वार्ता’ शीर्षकमा भूर्तेलले राजनीतिमाथि गरेको तीखो व्यंग्यात्मक विश्लेषण)

ताजा खबर