आत्महत्या सम्बन्धी मिथक र वास्तविकता

२०७७ असार १७ बुधबार १२:२४:०० मा प्रकाशित

भारतीय सिने कलाकार सुशान्त सिंहले आत्महत्या गरेको खबर सुने पछि मेरा एकजना पठित मित्रले फोनमा भने– “के हौ मनोविज्ञ ? यी कलाकारलाई नपुग्दो के थियो र ? फेरि त्यति नामी र हँसिला मान्छेलाई के पीर प¥यो होला र ?”

 यसरी ख्यातीप्राप्त व्यक्तिका आत्महत्या र नेपालमा दिनहूँ सुनिने मान्छेहरुले विष खाएका, झुण्डिएका र नदीमा फाल हानेका घटनाहरुले जनमानसलाई तरङ्गित बनाए पनि यो तरङ्गले बढाएको जनचासो र विचार विमर्शभित्र कैयन भ्रम र मिथकहरु व्याप्त देखिन्छन् । यी मिथक र भ्रमहरुले आत्महत्यालाई र आत्महत्या उन्मुख व्यवहारलाई कलंकपूर्ण तुल्याउँछन् । कलंकले आत्महत्या र आत्महत्या उन्मुख व्यवहारलाई लुकाउनु पर्ने र एक दुरुह विषय बनाउने हुनाले आत्महत्या रोकथामको लागि यी भ्रम र मिथकहरुलाई चिर्नु र समस्यालाई तथ्यपरक र बैज्ञानिक ढङ्गले बुझ्नु आजको टड्कारो आवश्यकता बनेको छ ।  विश्व स्वास्थ्य संगठनले सन् २०१४ मा प्रकाशित गरेको “आत्महत्या रोकथामः एक विश्वव्यापी आवश्यकता” नामक पुस्तिकाले आत्महत्या सम्बन्धी यस्ता केही मिथक र यथार्थ प्रस्तुत गरेकोछ । यो आलेखले तिनै विषयमा आधारित रहेर आत्महत्या सम्बन्धी मिथक र यथार्थको चर्चा गर्नेछ ।

सर्वप्रथम त आत्महत्याबारे हाम्रो समाजमा रहेको दर्विलो मिथक भनेको मर्ने या आफ्नो जीवन समाप्तीको कुरा गर्ने मान्छले कहिल्यै आत्महत्या गर्दैन भनी विश्वास गर्नु हो । आत्महत्याको यस्तो शाब्दिक सङकेतलाई “भुक्ने कुकुरले टोक्दैन” भनेर वेवास्ता गरिन्छ या खिसीट्यूरीको विषय बनाईन्छ । तर विश्वभर भएका कैयन अध्ययनहरुले देखाए अनुसार आत्महत्या गर्ने मध्ये धेरै व्यक्तिहरु एन्जाइटी, डिप्रेसन, निराशा जस्ता समस्याले परोलिएका हुन्छन् । यसबाट छुटकारा पाउनका लागि  सहयोग र उपचार खोजिसकेका हुन्छन् । गहन निराशाको भूमरीमा गोता मारिरहेको या चिन्ताको पीडाले छटपटाइरको व्यक्तिलाई वेवास्ता र लाञ्छनाले समस्याको दुष्चक्रतर्फ धकेल्छ । मनोवैज्ञानिक पीडा निवारणमा कुनै पनि साथसहयोग नपाएपछि उसकालागि आत्महत्या नै दुःखमुक्तिको एकमात्र बाटो हुनसक्ने सम्भावना ठूलो हुन्छ ।

यसरी नै आत्महत्या कुनै पूर्वाभास र सूँइको बेगर नै अचानक हुन्छ भनी ठान्नु अर्को गतिलो मिथक हो । मनमा आत्मघाती सोच आउने, अब जीवन समाप्त गर्नैपर्छ भनेर निश्चित गर्ने र यसको योजना बनाउन लागी परेका व्यक्तिहरुमध्ये धेरैजसोले कुनै न सङ्केत दिएको, कसैसँग कुरा गरेको या त्यस ढङ्गको व्यवहार देखाएको पाईएको छ । तर हाम्रो समाजमा चेतावनीका यी सुक्ष्म स्वरहरुलाई ख्याल गर्ने अभ्यास नभएका कारण यी आवाजहरु गुपचुप रहन पुग्छन् । मनमा मच्चिरहेको आँधी कसैले देख्दैन, मात्र देख्छ त रुखको हाँगामा मच्चिरहेको मृत शरीर । केही थोरै आत्महत्याहरु कुनै छनक बेगर नै भावावेशवस हठात पनि हुन पुग्छन् तर यस्ता घटनामा पनि पूर्व सङ्केत र चेतावनीका सुक्ष्म व्यवहारको खोजी गर्नु रोकथामका दृष्टिकोणबाट सँधै महत्वपूर्ण हुन्छ ।

यसरी नै मान्छेले एकपटक जीवन समाप्त गर्ने बिचार गरेपछि ग¥यो ग¥यो, यसलाई कुनै हालतले पनि रोक्न टार्न सकिँदैन भन्ने सोच आत्महत्या रोकथामको दिशामा रहेको अर्को ठूलो तगारो हो । आत्महत्या गर्न खोज्ने व्यक्ति जीवनप्रतिको आशा र विरक्तीको दोसाँधमा लामो समय भौंतारिएको हुन्छ । सजिला र अप्ठ्यारा जीवन परिस्थितिहरुको चपेटाले पैदा गर्ने आशा र निराशामा चाकाचुली खेल्दै जाँदा उसले जीवनलाई सहज बनाउने अनेक प्रयत्नहरु गरेको हुन्छ । आशाको सुक्ष्म त्यान्द्रोमा जीवन अल्झाईराखेको अवस्थामा पनि मान्छेले कहिलेकाँही भावावेशमा विष पिउन समेत पुग्छ । यस्तो पीडादायक द्व्न्दको समयमा कसैले उसको मनको कुरा शान्त र धैर्यतापूर्वक सोधिदिएर, सुनिदिएर र बुझिदिएर उसलाई भावनात्मक सहयोग पु¥यायो भने उ आत्महत्या गर्नबाट बच्न सक्ने सम्भावना रहन्छ ।

एकपटक आत्मघाती मनोदशा सिर्जना भएपछि यो सोच र व्यवहार जिन्दगीभरी अटूटरुपले आईरह्न्छ भनी ठान्नु अर्को एउटा विस्मयकारी मिथक हो । थुप्रै मान्छेहरुमा जीवनको कुनै न कुनै घडीमा आत्मघाती सोच आउने गर्छ । अतिशय वेदना र तनावको घडीमा यो सोचको मात्रा र आवृत्ति बढ्न सक्ने हुनाले आत्महत्याको जोखिम उच्च रहन सक्छ तर यो अवस्था छोटो अवधिसम्म मात्र रहन्छ । व्यक्तिगत सबलता, पारिवारिक तथा सामाजिक सरसहयोग तथा माया र भरोसा जस्ता जीवनदायी तत्वहरुले फेरि जिजीविषा भरिदिन्छन् र दीर्घजीवन जीउने वातावरण सिर्जना गर्दछन्  । फेरि पनि कुनै घडीमा आत्मघाती सोच फर्कन सक्छ र व्यक्ति आत्महत्याको प्रयासतर्फ उद्यत हुन सक्छ तर यी सोच र व्यवहारहरु सँधै परिस्थितिजन्य र क्षणिक हुने गर्दछन् । अतः आत्मघाती सोचलाई परिस्थितिजन्य  र क्षणिक मनोदशाको रुपमा स्वीकारेर भावनात्मक, सामाजिक तथा मनोवैज्ञानिक सहयोगको चाँजोपाँचो मिलाउनु नै आत्महत्या रोकथामको उत्तम उपाय हुनसक्छ ।

यसरी नै मानसिक स्वास्थ्य समस्याबाट पीडित व्यक्तिले मात्र आत्महत्या गर्छ भन्ने सोचले पनि अर्को एउटा जबरजस्त मिथकको काम गरेकोछ । डिप्रेसन, एन्जाइटी, स्कीजोफ्रेनिया, बोर्डरलाइन पर्सनालिटी डिस्अर्डर तथा कुलत आत्महत्याका जोखिमकारी तत्व अवश्य हुन् तर यी समस्या हुने बित्तिकै व्यक्तिले आत्महत्या गरीहाल्छ भन्ने हुँदैन । कतिपय आत्महत्याहरु त डिप्रेसनको गहन पीडाको घडीमा भन्दा पनि यसबाट तङ्ग्रिदै गरेको बेलामा भएको पाइएको छ । कैयन मानिसहरुले अनेकन मानसिक स्वास्थ्य समस्यासँग जुध्दै उर्जामय, सिर्जनशील र उपयोगी जीवन विताएका छन् ।  मानसिक स्वास्थ्य समस्यावाट मुक्त भएपनि जीवन परिस्थिति ज्यूँकात्यूँ रह्यो र तनाव सामना गर्ने शैली अनूकुलनकारी भन्दा पनि विध्वंसात्मक रहिरह्यो भने कुनै मानसिक स्वास्थ्य समस्या नभएपनि  आत्महत्याको जोखिममा कमी नआउन सक्छ । त्यसकारण आत्मघाती सोच र व्यवहार भएको व्यक्तिलाई मानसिक रोगीको बिल्ला भिराएर चुप लागेर बस्नु भन्दा पनि तनाव व्यवस्थपानका सीप सिकाउनु आत्महत्या रोकथामको व्यवहारिक बाटो हुनसक्छ ।

कसैसँग आत्महत्याको बारेमा कुरा ग¥यो अथवा निराश र हतास देखिने मान्छेसँग उसको जीवनप्रतिको दृष्टिकोणबारे सोधखोज ग¥यो भने उसलाई झन् मर्ने हौसला मिल्छ भन्ने विश्वास सबैभन्दा बढी उल्झनकारी मिथक हो । हाम्रो समाजमा आत्महत्यालाई घोर कलंकको बिषय ठानिने हुनाले आत्मघाती सोच र संवेग मनमा मडारिरहेको व्यक्तिले यो पीडा कसैलाई कहन सक्दैन् । “मेरो मनमा हिजोआज आत्महत्याको सोच आइरहन्छ” भनेर सुनाउँदा कसैले नपत्याउने, खिसीट्यूरीको पात्र बनिने अथवा अर्तिउपदेशको बखान सुन्नुपर्ने भयले मान्छे नराम्ररी झस्कन्छ । त्यसमाथि हाम्रो सँस्कृतिमा संवेगको सहज अभिव्यक्तिलाई स्वाभाविक रुपले स्वीकार नगरिने हुनाले पीडित व्यक्ति आफ्नो पीडादायक संवेग मनमा गाँठो पारेरै बस्न बाध्य हुन्छ । अनेकन अनुसन्धानहरुले देखाए अनुसार यसरी पीडामा रहेको व्यक्तिलाई “जीवन तनावपूर्ण बनेकोबेला कहिलेकाँही हाम्रो मनमा जिन्दगी धान्न सकिँदैन कि क्या हो, मर्दा पो कतै हाइसन्चो हुन्छ कि भन्ने बिचार पनि आउनसक्छ । तपाँईलाई कतै त्यस्तो त लागेको छैन ?” भनेर शान्त र धैर्यतापूर्वक उसको प्रतिष्ठालाई ख्याल गरेर सोधिदियो भने जिजीविसा र मृत्युआकाङक्षा वीच पीङ खेलिरहेको मनले साहारा पाउँनसक्छ । यस्तो सुरक्षित कुराकानीले बाँच्ने आधार र अवसर प्रदान गर्न सक्छ ।

 मलाई फोनमा सुशान्तको आत्महत्याको चर्चा गर्दै ख्यातीप्राप्त, भौतिक सुखसयलले भरिपूर्ण र बाहिरभन्दा हेर्दा हँसमुख देखिने व्यक्तिलाई आत्महत्याको सोच र आवेगले छुँदैन भनी ठान्ने मेरा मित्रका भनाईहरु आत्महत्याको बारेमा हाम्रो समाजमा व्याप्त रुढ मान्यता र मिथकबाट प्रभावित अभिव्यक्ति नै हुन् । आत्महत्याको सोच जोसुकैलाई आउन सक्छ र जुनसुकैले पनि आत्महत्याको प्रयास गर्न सक्छ । यस्तो बेला दोष नलगाई, अर्ति उपदेश नथोपरी, यसो गर उसो गर नभनी, व्याख्या विवेचना नछाँटी, आदरभावमा, धैर्य भएर पीडित व्यक्तिको कुरा सुनिदियो र बुझिदियो भने उसलाई भावनात्मक सहयोग पुग्छ र जीवनका चुनौति डटेर सामना गर्ने साहस पलाउन सक्छ । आत्महत्या रोकथामका लागि भावनात्मक सहयोगको यो सिप र मनोवृत्तिलाई हाम्रो समाजको हरेक तहमा बिस्तार गर्नु नै आज हरेक सरोकारावालाको दायित्व हो ।

(लेखक काठमाडौं  विश्वविद्यालयका विद्यार्थी मनोपरामर्शदाता हुन् ।

ताजा खबर