संक्रमितको उपचारबापत अस्पताललाई दैनिक प्रतिविरामी १५ हजार रुपैयाँसम्म अनुदान

२०७७ असार १७ बुधबार ०८:४३:०० मा प्रकाशित

काठमाडौं । शंकास्पद तथा संक्रमित व्यक्तिको उपचारवापत अस्पताललाई प्रतिव्यक्ति दैनिक दुई सयदेखि १५ हजार रुपैंयाँसम्म अनुदान रकम सम्वन्धित संस्थालाई उपलब्ध गराउने तयारी थालिएको छ । सामान्य र लक्षण नदेखिएका तर आइसोलेसन सेन्टरमा रहेका संक्रमितहरुको उपचारमा दुई हजार, मध्यम अवस्थामा रहेका संक्रमितको उपचारका लागि प्रति बिरामी दैनिक सात हजार रुपैयाँ अनुदान रकम सम्वन्धित अस्पताललाई उपलब्ध गराउने तयारी थालिएकोे हो ।

यस्तै, गम्भीर प्रकृतिका संक्रमितको उपचारका लागि सम्वन्धित संस्थालाई प्रति व्यक्ति दैनिक १५ हजार रुपैंयाँ उपलब्ध गराइने छ । सामान्य/लक्षण नदेखिएका होम क्वारेन्टाइनमा बस्दै आएकाहरुको उपचारमा दुई सय रुपैंयाँ उपलब्ध गराउने तयारी थालिएको छ । सो रकम खर्चको आधारमा सम्वन्धित संस्थालाई उपलब्ध गराइने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रस्ताव मन्त्री परीषद्मा लगेको छ ।

संक्रमितको उपचारबापत उपलब्ध गराउने अनुदान रकम
संक्रमितको अवस्था                संस्था                       प्रतिदिन/ प्रतिव्यक्ति
लक्षणविहीन/सामान्य                होम                            २००
लक्षणविहीन/सामान्य              आइसोलेसन सेन्टर          २,०००
लक्षणविहीन/सामान्य              अस्पताल                       ३,५००
मध्यम                                अस्पताल                       ७,०००
गम्भीर                               अस्पताल                        १५,०००

स्वास्थ्य मन्त्रालय नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा.गुणराज लोहोनीले संक्रमितको उपचार खर्चलाई व्यवस्थित गर्न लागिएको बताए । उनले भने, ‘खर्च व्यवस्थापन सन्दर्भमा मन्त्री परिषद्मा प्रस्ताव पेश भएको छ । यो रकम खर्चका आधारमा सम्वन्धित संस्थालाई उपलब्ध गराइन्छ ।’ उनले पहिलो प्राथमिकतामा ज्वरो खोकी आएका, ट्राभल हिस्ट्री रहेका र फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीहरु पर्ने बताए । स्वास्थ्य मन्त्रालयले प्रत्येक पालिकामा स्वाबको नमुना संकलन केन्द्र बनाउने रणनीति अघि सारेको छ ।

यसैविच, नेपालमा पछिल्लो २४ घण्टामा थप तिन सय १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या १३ हजार पाँच सय ६४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ६० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । संक्रमित डिस्चार्ज हुनेको संख्या तिन हजार एक सय ९४ पुगेको छ ।

– प्रत्येक पालिकामा नमुना संकलन केन्द्र बनाउने रणनीति
– एकैदिन थपिए ३१६ संक्रमित

स्वास्थ्य मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये २९ जनाको मृत्यु भएको छ । हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ । हाल देशभरका क्वारेन्टाइनमा रहेकाहरुको संख्या ५३ हजार ७० जना रहेको छ । संक्रमित मध्ये १० हजार तीन सय ४१ जना उपचाररत छन् ।

सय बढी स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार
कोभिड–१९ महामारी नियन्त्रण र रोकथाममा अग्रमोर्चामा खटिएका एक सय जनाभन्दा बढी स्वास्थ्यकर्मीमाथि कुटपिट र ज्यान लिनेसम्मका क्रियाकलापहरु भएको पाइएको छ ।

केही स्थानमा स्वास्थ्यकर्मीमाथि हातपात भए पनि प्रहरीले उजुरी समेत लिन नमानेको बताइएको छ । यो अवधिमा स्वास्थ्यकर्मीहरु बाजुरा हिमाली गाउँपालिकामा कार्यरत राजबहादुर भण्डारी, त्रिवेणी नगरपालिका बाजुरामा कार्यरत रामबहादुर नेपाली, शिखरपुर नगरपालिका डोटीमा कार्यरत रमेश कुँवरमाथि दुव्र्यवहार भएको छ ।

यस्तै, गढीमाई नगरपालिका रौतहटका धर्मेन्द्र सहनीलगायत तीन जना, धरान उपमहानगरपालिका विष्णु स्वास्थ्य चौकीमा कार्यरत चन्द्रप्रकाश खनाल लगायतमाथि दुव्र्यवहार भएको हेल्थ असिष्टेन्ट संघका बागमती प्रदेश संयोजक कृष्ण खत्रीले जानकारी दिए ।

क्वारेन्टाइनमा बसेकाहरुलाई आरडिटी टेस्ट पोजेटिभ निकालेको, घरबाट स्वास्थ्य चौकी जाँदै गर्दा कोरोना सार्छस भन्ने आरोप लगाउँदै दुव्र्यवहार गरिएको पीडित स्वास्थ्यकर्मीको गुनासो छ ।

अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता नपाएको हेल्थ असिष्टेन्ट संघका वरिष्ठ उपाध्यक्ष दीपेन्द्र खड्काले बताए । उनले भने, ‘जोखिममा खटिएका अधिकांश स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता पाएका छैनन् । हब हस्पिटलमा कार्यरतलाई मात्र भत्ता उपलब्ध गराइएको छ ।’
(राजधानी दैनिकबाट)

ताजा खबर