हारलगत्तै प्रशिक्षक बर्खास्त

२०७७ असार १७ बुधबार ०८:०८:०० मा प्रकाशित

म्याड्रिड : स्पेनिस ला लिगा क्लब भ्यालेन्सियाले प्रशिक्षक अल्बर्ट सेलाडेस लोपेजलाई पदबाट बर्खास्त गरेको छ। भ्यालेन्सिया ला लिगाको पछिल्लो खेलमा भिल्लारियलसँग पराजित भएलगत्तै प्रशिक्षक अल्बर्टलाई पदबाट बर्खास्त गरिएको हो। आइतबार राति खेलिएको खेलमा भिल्लारियलले भ्यालेन्सियालाई २–० गोलले हराएको थियो।

उक्त नतिजापछि भ्यालेन्सियाले सोमबार अबेर प्रशिक्षक अल्बर्टलाई पद छाड्न सुझाव दिएको समाचारमा जनाइएको छ। जारी सिजनको लिगमा भ्यालेन्सियाले गतिलो प्रदर्शन गर्न सकिरहेको छैन। जारी सिजनको ला लिगामा सबै टोलीले ६÷६ खेल खेल्न बाँकी रहँदा भ्यालेन्सिया ४६ अंकसहित तालिकाको आठौं स्थानमा छ।

भ्यालेन्सियाले यो सिजन १२ जित, १० बराबरी र १० हारको नतिजा निकालेको छ। युरोपियन प्रतियोगितामा छनोट हुनसमेत भ्यालेन्सियालाई समस्या पर्ने देखिएको छ। लगातारको निराशाजनक नतिजाका कारण नै प्रशिक्षक अल्बर्टलाई पदबाट हटाइएको क्लबका एक अधिकारीले जनाएका छन्।

कोरोना भाइरसको महामारीका कारण स्थगित लिग सुचारु भएयता भ्यालेन्सियाले ला लिगामा पाँच खेल खेलिसकेको छ। भ्यालेन्सिया लिग सुचारु भएयता रियल म्याड्रिडसँग ३–०, इबरसँग १–० र भिल्लारियलसँग २–० गोलले पराजित भएको छ। लेभान्तेसँग १–१ गोलको बराबरीमा रोकिएको भ्यालेन्सियाले ओसासुनालाई भने २–० गोलले हराएको थियो।

अल्बर्ट यसै सिजन भ्यालेन्सियाको प्रशिक्षक बनेका थिए। त्यसअघि उनले रियल म्याड्रिडका सहायक प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। ४४ वर्षीय अल्बर्टले स्पेनको उमेर समूहका विभिन्न राष्ट्रिय टोलीमा समेत प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन्।

उनी आफ्नो समयका चर्चित खेलाडी पनि हुन्। स्पेनको राष्ट्रिय टोलीका अतिरिक्त उनले बार्सिलोना र रियल म्याड्रिडजस्ता चर्चित क्लबबाट पनि व्यावसायिक फुटबल खेलेका थिए। ‘प्रशिक्षक अल्बर्टले तत्काल लागू हुने गरी पदबाट राजीनामा दिएका छन्’, क्लबद्वारा सोमबार अबेर जारी विज्ञप्तिमा भनिएको छ, ‘उनले पुर्‍याएको योगदानका लागि हामी धन्यवाद दिन चाहन्छौं।’

अल्बर्टको स्थानमा साल्भाडोर गोन्जालेज मार्को (भोरो)लाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिइएको छ। आगामी खेलमा ५६ वर्षीय भोरोले नै प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन्। भोरोलाई भ्यालेन्सियाले छैटौं पटक अन्तरिम प्रशिक्षकको जिम्मेवारी सुम्पिएको हो।

गत सेप्टेम्बरमा भ्यालेन्सियाले तत्कालीन प्रशिक्षक मार्सेलिनोलाई पदबाट बर्खास्त गर्दै उक्त जिम्मेवारी अल्बर्टलाई दिएको थियो। मार्सेलिनोको प्रशिक्षकत्वमा भ्यालेन्सिया ला लिगा तालिकाको चौथो स्थानसम्म उक्लिएको थियो। अल्बर्टको प्रशिक्षकत्वमा भने भ्यालेन्सियाले विभिन्न प्रतियोगितामा १३ वटा खेल खेलेकोमा केवल दुई जित हात पार्न सक्यो।

भ्यालेन्सिया जारी सिजनको च्याम्पियन्स लिगबाट समेत बाहिरिइसकेको छ। च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलमा भ्यालेन्सियालाई इटालियन सिरिए क्लब एटलान्टाले ८–४ कुल गोल भिन्नताका आधारमा हराएको थियो।
(अन्नपूर्ण पोष्टबाट)

ताजा खबर