होटलले दिएनन् तलब

२०७७ असार १७ बुधबार ०७:५८:०० मा प्रकाशित

काठमाडौं। तारे होटेलका मजदुर र कर्मचारीले वैशाखदेखि तलब पाएका छैनन्। सरकारको निर्देशनमा उनीहरुलाई चैत महिनाको तलब दिइएको थियो। काम र माम दुवै नपाएपछि होेटलसँग आवद्ध करिब ११ लाख कामदार र कर्मचारी समस्यामा परेका छन्।

पर्यटनसँग प्रत्यक्ष सम्बन्ध राख्ने तारे होटलको छाता संगठन होटल संघ नेपाल ( हान) को निर्णयअनुसार नै वैशाखदेखि कामदार र कर्मचारीको तलब नदिइएको हो। कोरोनाका कारण चैत ११ देखि बन्दाबन्दी भएपछि आम्दानी शून्यमा झरेको भन्दै होटलले वैशाख र जेठ महिनाको तलब दिएका छैनन्।

पछिल्लो दुई महिनाको तलब कामदार कर्मचारीले नपाउँदा उनीहरुको घर परिवार चलाउन धौधौ परेको छ। तलबका विषयमा होटेल व्यवस्थापन र कामदारबीच दर्जनौं छलफल भए पनि समस्या समाधान भएको छैन।

हानको पछिल्लो समयमा पाँच तारे र चार तारे होटलले मासिक साढे ८ हजार रुपैयाँ र ३ तारे तथा २ तारे होटलले साढे ४ हजार रुपैयाँ न्यूनतम् तलब प्रस्ताव गरेका थिए। दुवै पक्ष सहमति नजिक पुग्न लागेको दाबी हानका कानुनी सल्लाहकार डा.गान्धि पण्डितले गरेका छन्।

हानको यो प्रस्तावलाई भने होटलसँग आबद्ध श्रमिक युनियनले स्वीकारेका छैनन्। श्रमिक युनियनले असार १५ गते हानलाई तलबका विषयमा पत्रसमेत पठाएको छ। यसअनुसार पाँच तारे र चार तारे होटललाई खाइपाइ आएको तलबको ५० प्रतिशतका दरले न्यनूतम् १० हजार रुपैयाँबाट नघट्ने र २० हजारबाट नबढ्ने गरी माग गरिएको छ।

यस्तै तीन तारे र दुई तारे होटलले श्रमिकलाई मासिक ९ हजार रुपैयाँ र एक तारे तथा पर्यटक स्तरीय होटल रिसोर्ट तथा रेस्टुरेन्टको हकमा मासिक ६ हजार रुपैयाँको प्रस्ताव गरिएको छ।

होटलमा आबद्ध श्रमिकको युनियन अखिल नेपाल होटल क्सासिनो तथा रेष्टुँरा मजदुर संघ, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुँरा मजदुर युनियन र नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघले संयुक्त रुपमा उक्त प्रस्ताव पेश गरेका हुन्।

होटल संघ नेपालमा आवद्ध देशैभरि छरिएका रहेका १५ क्षेत्रीय संघअन्तर्गत ३ हजार ५ सय होटल सदस्य छन्। यसमा प्रत्येक्ष र अप्रत्येक्ष गरी करिब ११ लाख श्रमिक कार्यरत रहेको संघका उपाध्यक्ष विनायक शाहले जानकारी दिए।

कोरोनाका कारण सन् २०२० र सन् २०२१ मा होटल व्यवसायको अवस्था धराशायी बन्दै गएकाले कामदार र कर्मचारीलाई तलब खुवाउन नसकिएको हानकी अध्यक्ष सिर्जना राणाले जानकारी दिइन्। राणाले भनिन, ‘आम्दानी नै शून्य भएको अवस्थामा कर्मचारीलाई तलब दिने क्षमतामा हामी छैनौं। तर पनि केही राहत हुने गरी दैनिकी खर्च टार्न मात्रै उक्त तलब प्रस्ताव गरेका छौं।’

उनका अनुसार होटल व्यवस्थापनले अहिले खर्च धान्न सक्ने अवस्थामा छैनन्। बैंकको ऋणको किस्ता तिर्न सकस परेको छ। ‘आगामी ६ महिनासम्म राहत प्याकेज उपलब्ध गराउन हामी तयार छौं, त्यसपछि अवस्थामा सुधार आउन नसके होटलमा ताल्चा लगाउनुको विकल्प छैन्’, अध्यक्ष राणाले भनिन।

नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुँरा मजदुर युनियनका अध्यक्ष सूर्यबहादुर कुँवरले न्यायोचित तबरबाट अहिलेको तलब प्रस्ताव गरिएको बताए। होटल बन्द हुँदा श्रमिकको एक मात्र आम्दानीको स्रोत गुमेका कारण उनीहरुको दैनिकी कष्टकर बनेको कुँवरले जानकारी दिए।

कोरोनाको महामारी विश्वव्यापी रुपमा फैलिँदै गएपछि गत मार्चबाट पर्यटक आवागमन ठप्प छ। महँगा तारे होटलको प्रमुख आम्दानीको स्रोत विदेशी पर्यटक हुन्। यसपछि सभा, सम्मेलन तथा पार्टी हुन्। कोरोना र जारी बन्दाबन्दीका कारण यस्ता गतिविधि ठप्प छन् भने सबै उडान बन्द हुँदा पर्यटक आवागमन पनि अवरुद्ध छ।

नेपाल पर्यटन बोर्डले यही वैशाखमा सार्वजनिक गरेको तथ्यांकअनुसार होटलमा कुल लगानी करिब ७९ अर्ब रुपैयाँ छ। यसमा बैंक ऋण २८ अर्ब रुपैयाँभन्दा बढी छ। यो तथ्यांकले यस क्षेत्रको करिब २० प्रतिशत हिस्सालाई मात्र प्रतिनिधित्व गर्ने बोर्डले जनाएको छ। होटल व्यवसायी यस क्षेत्रमा १० खर्ब रुपैयाँभन्दा बढी लगानी रहेको बताउँदै आएका छन्।
(अन्नपूर्ण पोष्टबाट)

ताजा खबर