प्रधानमन्त्रीलाई आफ्नै बोलीले पारेको संकट, स्थायी कमिटीमा मागियो दुवै पदबाट राजीनामा

२०७७ असार १७ बुधबार ०७:३४:०० मा प्रकाशित

मदन भण्डारीको जन्म जयन्तीका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिका कारण नेकपाको स्थायी कमिटी बैठक निर्धारित कार्यसूचीमा छलफल नगरी सकिएको छ।  

सरकार हटाउन भारत लागिपरेको र पार्टीकै नेताहरुको संलग्नता रहेको भन्दै ओलीले अभिव्यक्ति दिएपछि मंगलबार स्थायी कमिटी सोही विषयमा केन्द्रीत भएको थियो। प्रधानमन्त्री ओली आफ्नै बोलीका कारण स्थायी कमिटी बैठकमा संकटमा परेका छन्। मंगलबार बैठकमा बोल्ने अधिकांस नेताहरुले उनीविरुद्ध आक्रोस मात्र पोखेनन् राजीनामा समेत माग गरे। त्यो पनि पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट।

बैठकमा नेताहरुले प्रधानमन्त्रीका कारण पार्टी र सरकार दुवै अप्ठ्यारोमा परेको धारणा राखेका थिए। उनीहरुले दुवै पदबाट राजीनामा दिन माग गरे।

बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाटै प्रधानमन्त्रीको राजीनामा माग गरिएको बताएका थिए। यो सैँग बैठकमा बोल्ने नेताहरुले प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए।  

वरिष्ठ नेता झलनाथ खनालले ओलीबाट सरकार र पार्टी नचलेको बताएका थिए। उनले पनि प्रधानमन्त्रीको राजनीनामा माग गरे। अर्का नेता माधव नेपालले ओलीमा अहंकार र दम्भ भरिएको बताएका थिए। बामदेव गौतमले पनि ओली पार्टीमा अल्पमतमा परेको भन्दै राजीनामा दिन सुझाव दिएका थिए।  

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति र निर्वाचन आयोगमा नेकपा एमालेको नाममा दल दर्ताका लागि परेको निवेदनको विषयमा छलफल भएको बताए। बैठकमा आज सीमा समस्या सम्बन्धी छलफल सकाएर कोभिड—१९ को विषयमा कार्यसूची रहेपनि छलफल हुन नसकेको उनले बताए। 'सीमा समस्या सम्बन्धी बोल्न बाँकी सदस्यहरुले बोल्ने र कोभिड—१९ को विषयमा छलफल गर्ने समझदारी बनेको थियो। तर यो बीचमा अन्य विषयमा पनि पार्टीमा छलफल गर्नुपर्ने आवश्यकता महशुस गरेर स्थायी कमिटीले मदन जयन्तीका अवसरमा प्रधानमन्त्रीले सरकार हटाउन खोजेको, भारतसँग सम्बन्धी विषय र पार्टीका नेताहरुको संलग्नताको पनि चर्चा भएको सन्दर्भमा स्पष्ट हुनुपर्ने भएकाले छलफल आवश्यक रहेको थियो।’’, उनले भने, 'अर्को विषय २ दिन अगाडि निर्वाचन आयोगमा नेकपा एमाले नाम गरेको पार्टी दर्ताका लागि आवेदन परेको कुराको सन्दर्भमा पार्टीको कुनै नेता कार्यकर्ताको संलग्नता छ छैन भन्ने विषयमा स्पष्ट हुन छलफल भयो।’’

बैठकमा प्रधानमन्त्री ओलीले आफुले दिएको अभिव्यक्तिका विषयमा प्रष्ट पारेको बताए। दल दर्ताको विषयमा प्रधानमन्त्री ओलीको भनाई उदृत गर्दै श्रेष्ठले भने, 'म यहि पार्टीको अध्यक्ष भएकाले मेरो पार्टी यहि हो।’ मंगलबारको बैठकमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल, झलनाथ खनाल, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ र भीम रावल लगायत १८ जना नेताहरुले आफ्नो धारणा राखेका थिए। अर्को बैठक बुधबारका लागि बोलाइएको छ।
(नागरिक न्युजबाट)

ताजा खबर