संशोधित नागरिकता विधेयक फिर्ता लिन कांग्रेसको माग

२०७७ असार १७ बुधबार ०७:२५:०० मा प्रकाशित

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान र प्रचलित व्यवस्था विपरित राज्य व्यवस्था समितिबाट नागरिकता संशोधन विधेयक फिर्ता लिन माग गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय समितिको बैठकले विधेयक प्रचलित व्यवस्था र संविधान विपरित रहेको ठहर गरेको हो ।

पार्टीको १४औं महाधिवेशन र राज्यव्यवस्था समितिले पारित गरेको नागरिकता विधेयकका विषयमा छलफल गर्न बैठक बोलाइएको थियो । बैठकले नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले पाउने वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा प्रस्तावित संशोधन नेपालमा नागरिकता सम्बन्धमा संवैधानिक र कानूनी व्यवस्था भएको दिनदेखि कायम रहेको व्यवस्था विपरित र राजनीतिक, सामाजिक, सांस्कृतिक मान्यता विपरितको कांग्रेसले ठहर गरेको छ ।

नागरिकता प्राप्तिका विषयमा थप संवैधानिक, सामाजिक एवं पारिवारिक जटिलताहरु समेत सृजना हुन सक्ने प्रबल सम्भावना रहेको औल्याउँदै कांग्रेसले,‘यो बैठक सरकारले प्रस्तुत गरेको संविधान विपरीतको नागरिकता संशोधन विधेयक फिर्ता लिन माग गर्दछ ।’

राज्य व्यवस्था समितिमा पार्टीका सांसदहरुले फरक मत राखीसकेको उल्लेख गर्दै कांग्रेसले भनेको छ,‘यसै अनुसार संसदमा प्रस्तुत हुन यो बैठक नेपाली कांग्रेस संघीय संसदीय दललाई निर्देश गर्दछ ।’

बैठकमा बोल्ने अधिकांस सदस्यहरूले कानुन कहिल्यैपनि पश्चगामी हुन नसक्ने भन्दै सरकार र सत्तारुढ दल पछाडि फर्कन लागि परेको आरोप लगाएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्ति गैरजिम्मेवार, कुटनीतिक मूल्य मन्यता विपरित रहेको भन्दै कांग्रेस नेताहरूले ओलीको आलोचना गरेका छन् ।आफ्नो असफलतालाई छोप्न प्रधानमन्त्रीले संसद र आफ्नै संसदीय दललाई लान्छित गरेको जनाउँदै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आपत्ती प्रकट गरे ।

नयाँ नक्सा पारित गरेकाले भारतले आफुलाई प्रधानमन्त्रीबाट हटाएको भन्ने ओलीको धारणाप्रति असन्तुष्टी जनाउँदै शर्माले भने, ‘यो एक प्रधानमन्त्रीको विषय होइन । सिगो देश एक भएर संसदले पारित गरेको नक्सा हो । सबैको साझा स्वामित्व छ । तर, प्रधानमन्त्रीको गैरराजनीति अभिव्यक्तिले बहुमतको सार्वभौमिता र नेपालको संसदलाई अपमानीत गर्ने काम गरेको छ ।’ जनताले झन्डै दुई तिहाइको सुविधा दिंदादिंदै अनुकुल परिस्थितिलाई प्रतिकुलतातर्फ बदल्ने र विषयआन्तर गर्न प्रधानमन्त्री लागि परेको कांग्रेसको बुझाइ छ ।

पदाधिकारीले असार १४ गते तयार गरेको १४औं महाधिवेशनको संशोधित कार्यतालिका अनुमोदन गर्न बैठक बोलाएपनि निर्णय गर्न बाँकी छ । १४औं महाधिवेशनको अन्तिम मितिलाई कायमै राखेर कांग्रेसले संगठन समायोजन, सदस्यता वितरण, छानविनको कार्यतालिका संशोधन गरेको छ । कोरोना भाइरसको संक्रमणका कारण पूर्वर्निधारीत कार्यतालिका प्रभावित भएपछि कात्तिकबाट गर्ने भनिएको तल्लो तहको अधिवेशन दुई महिना पर सार्दै पुसमा सार्ने गर्नेगरी कार्यातालिका संशोधन गरिएको छ । बुधबार बस्ने बैठकले महाधिवेशन कार्यतालिकासहितका विषयमा निर्णय लिनेछ ।
(नागरिक न्युजबाट)

ताजा खबर