लकडाउनमा यातायात व्यवसायीको मर्का : ‘हामी सधैँको पीडित’

२०७७ असार १७ बुधबार ०७:०५:०० मा प्रकाशित

सरकारले जोर बिजोर प्रणालीका आधारमा नीजि सवारी साधन सञ्चालन गर्न दिएको छ । सरकारी अनुमती अुनसार अहिले सडकमा नीजि सवारी साधनहरु जोर बिजोर प्रणालीका आधारमा निर्वाधन सञ्चालन भैरहेका छन् । तर ११ चैत देखि लागु भएको लकडाउनका कारण थन्क्याईएका सार्वजनिक सवारी साधन भने अहिले पनि ठप्प छन् ।  

लकडाउन अन्य क्षेत्रका लागि खुकुलो भएतापनि सार्वजनिक यातायात भने सञ्चालन हुन नसक्दा यसको मारमा यातायात व्यवसायिहरु परेका छन् । बैंकको ब्याज र किस्ता बुझाउन ताकेता भैरहनु तर तीन महिना भन्दा बढि समय सम्म यातायातका साधन सञ्चालन गर्न नसक्दा यातायात व्यवसाययिहरु निकै मर्कामा परेको त्रिशिद्धेश्वरी यातायात प्रालिका प्रशासनिक सचिव नारायण प्रसाद न्यौपानेले जानकारी दिए । 

‘तीन महिना भन्दा बढि समय भैसक्यो गाडीहरु थन्काएर राखेको, तर बैंकले किस्ता र ब्याजको ताकेता गरिरहेको अवस्था छ,’ उनले भने ‘यस्तो अवस्थामा यातायात व्यवसायिहरुले कसरी तिर्न सक्छन् ?’ यातायातका साधन ठप्प रहँदा आम्दानी शून्य भएपछि अधिकांश व्यवसायिहरुलाई मानसिक रुपमै समस्या पर्न थालेको समेत उनको भनाई छ । ‘गाडी सञ्चालन नभएपछि हातमुख जोड्ने उपाय समेत सकिन थालिसकेको छ,’ उनले भने ‘केहि व्यवसायिहरुले त झुण्डेरै आत्महत्या गर्ने सम्मको कुरा सुनाउनु हुन्छ ।’ प्रथमत : हर कठिन अवस्थामा यातायात क्षेत्रनै बढि प्रभावित हुने गरेको छ ।

यसपटक पनि अन्य क्षेत्र खुकुलो भएपनि सार्वजनिक सवारी साधनहरु सञ्चालन हुन नसक्दा यातायात व्यवसायिहरुलाई नै बढि मर्का परिरहेको छ । ‘विगतका हरेक आन्दोलनमा हामीहरु नै पीडित भयौँ,हाम्रा गाडीहरु नै जले’ उनले भने ‘कोरोना भाईसरले पनि अन्य क्षेत्र भन्दा हामीहरुलाई निकै मर्कामा पारिदियो ।’ तीन महिना देखि गाडीहरु थन्काएर राख्नु परेका कारण अब गाडीहरु सञ्चालन गर्दा अधिकांश गाडीहरुमा कम्तीमा डेढ लाख देखि बढि रकम खर्च लाग्ने उनको भनाई छ । ‘थन्काएर राखिएका गाडीहरु अब सञ्चालन गर्दा मोबिल अनिवार्य रुपमै चेन्ज गर्नुपर्ने हुन्छ, ब्याट्रिले काम गर्दैन एसिड अनिवार्य राख्नु पर्छ,’ उनले भने ‘यस अलावा टायर समेत कमजोर भैसकेका हुन्छन्, टायर फेर्नु पर्ने अर्को बाध्यता रहन्छ ।’

त्रिशिद्धेश्वरी यातायात प्रालिका अढाई सय गाडीहरु दिनहुँ कुद्ने गरेका थिए । यो प्रालिमा ६ सय ७५ गाडी आवद्ध छन् ।  

यिनै गाडीहरु कुदेवापत प्रालिलाई ट्रिप शूल्क मार्फत मासिक झण्डै चालीस लाख रुपैयाँ आम्दानी हुन्थ्यो । तर लकडाउन यता यो रकम पूर्ण रुपमा रोकिएको छ । ‘यहि आम्दानीबाट हामीहरुले संस्था चलाउने हो, तर अहिले यो आम्दानी पूर्ण रुपमा रोकिएको छ,’ उनले भने ‘यातायात व्यवसायि संगै संस्थाको आयस्रोत समेत  धरासायी बन्दै गएको छ ।’ यातायात व्यवसायिहरुले बैंकको किस्ता तथा ब्याज तीन महिना पछि धकेलिदिन माग समेत गरेका छन् । 

लकडाउनका कारण तीन महिना सम्मको रकम अहिले तिर्न सक्ने अवस्था नरहेको भन्दै उनिहरुले यो तीन महिनाको रकमपछि तिर्ने गरि वातावरण मिलाईदिन अनुरोध गर्दै आएका छन् । ‘हामीहरुले मिनाहाको कुरा गरेका छैनौँ, तर अहिले तीन महिना लकडाउन अवधिको ब्याज र किस्ता लकडाउन खुलेपछि तिर्ने वातावरण मिलाई दिन अनुरोध गरेका हौँ,’ उनले भने ‘नत्र अधिकांश व्यवसायिहरुलाई साह्रै समस्या पर्ने छ ।’ 
(नागरिक न्युजबाट)

ताजा खबर