भारतले मोबाइल एप बन्द गरेकोमा चीनको आपत्ति

२०७७ असार १७ बुधबार ०६:३९:०० मा प्रकाशित

काठमाडौँ — भारतले टिकटक र विच्याटलगायत ५९ वटा चिनियाँ मोबाइल एपमा प्रतिबन्ध लगाएकोमा चीनले कडा आपत्ति जनाएको छ । नयाँ दिल्ली स्थित चिनियाँ दूतावासका प्रवक्ता जि रोङले मंगलबार एक विज्ञप्ति जारी गर्दै यो प्रतिबन्धले दुई देशबीचको व्यापार सम्बन्धमा नकारात्मक असर पर्ने बताएका छन् । 

उनको विज्ञप्तिमा भारतको यो कदमलाई विभेदकारी र विश्व व्यापार संगठनको मान्यताको विरुद्ध पनि भनिएको छ । चिनियाँ मोबाइल एपले भारतको सार्वभौमिकता र आन्तरिक सुरक्षामा खतरा पैदा गरेको भन्दै भारतीय सूचना प्रविधि मन्त्रालयले ५९ वटा एपलाई प्रतिबन्ध लगाएको बताएको थियो । लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेनासँग भएको झडपमा २० भारतीय सैनिक मारिएका थिए । त्यसपछि भारत र चीनबीचको सम्बन्ध बिग्रिएको मानिन्छ । विज्ञप्तिमा भारतले ती एपले भारतीय सुरक्षाामै खतरा भएको भन्ने आरोपको पनि खण्डन गरिएको छ ।

साथै विज्ञप्तिमा भारतको यस कदमले ठूलो संख्यामा भारतीयको रोजगारी पनि गुम्ने बताइएको छ । यी एपहरु भारतीय उपभोक्तामाझ पनि निकै लोकप्रिय भएका भन्दै उपभोक्ताको रोजाइ र उपभोगको अधिकारलाई पनि यसले कुण्ठित गर्ने चीनको भनाई छ । चीनले एपलाई प्रतिबन्ध लगाउने निर्णय फिर्ता लिई दुई देशबीचको व्यापार सम्बन्धलाई सुमधुर बनाउन पनि आग्रह गरिएको छ ।
(कान्तिपुर अनलाइनबाट)

ताजा खबर