एमाले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन, बैठकमा दाहालले भने–‘कसले किन दर्ता गर्न लागेको हो ?’

२०७७ असार १७ बुधबार ०६:२७:०० मा प्रकाशित

काठमाडौँ — नेकपा (एमाले) नामको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको विषयमा नेकपा बैठकमा छलफल भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटीको चौथौ दिनको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले यो पार्टी कसले किन दर्ता गर्न लागेको हो भनेर विषय प्रवेश गराएका थिए । 

झापाकी सन्ध्या तिवारीको अध्यक्षतामा एमाले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा आवेदन दिएको भन्ने सूचनापछि बैठकमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । ‘नयाँ दल नेकपा एमाले दर्ता गर्न निर्वाचन आयोगमा दुई दिनअघि आवेदन परेको भन्ने सुन्नमा आयो । यसमा हाम्रो पार्टीका नेता कार्यकर्ता कसैको संलग्नता छ कि छैन भन्ने प्रश्न उठेपछि अध्यक्ष प्रचण्डले बैठकमा विषयवस्तु प्रवेश गराउनु भयो र त्यसबारे छलफल भयो,’ बैठकपछि प्रवक्ता श्रेष्ठले भने।

दाहालको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले 'म यही पार्टीको अध्यक्ष हुँ, मेरो पार्टी यही हो' भन्ने जवाफ दिएको प्रवक्ता श्रेष्ठले बताए ।
(कान्तिपुरअनलाइनबाट)

ताजा खबर