के प्रधानमन्त्री ओलीसँग छन् यी १५ प्रश्नका जवाफ ?

२०७७ असार १६ मंगलबार १७:३३:०० मा प्रकाशित

 १. हालै आयोजित एउटा कार्यक्रममा  प्रधानमन्त्री केपी शर्मा ओलीले परोक्षरूपमा आफूलाई हटाउन भारत सक्रिय रहेको आरोप लगाउनु भयो । यो नेपालमा निरन्तर लगाइने गरिएको सस्तो र रून्चे राजनीतिक आरोप  हो । अघिल्लो पटक आफूलाई हटाँइदा पनि उहाँले दोष भारतलाई  दिनुभएको  थियो ।

सवैलाई थाहा छ, त्यसपटक उहाँलाई हटाउने प्रत्यक्ष भूमिकामा रहनुभएका प्रचण्ड नै अहिले उहाँको दलको कार्यकारी अध्यक्ष हुनुहुन्छ । ओलीजीले नै प्रचण्डसँग पार्टी एकता गर्नुभएको हो । एकताका बडे बडे गुड्डी हाक्नु भएको हो ।

२.अहिले पनि उहाँलाई हटाउने भूमिकामा मूलतः प्रचण्ड नै हुनुहुन्छ तर ओली भारतलाई दोष दिइरहनु भएको छ । एक्लै चुनावमा जाँदा पनि राम्रो वहुमत पाउने अवस्था हुँदाहुँदै पनि उहाँलाई हिजो चुनावी जँघार तर्न किन माओवादीको आड चाहिएको थियो त्यो समयले उहाँसँग सोध्ला नै । 

यता आफ्ना राजनीतिक सीमा र क्षमताका अभावहरूबाट उत्पन्न समस्याहरूलाई छोप्न र त्यसबाट आफ्नो पार्टी भित्र उठेको विरोधको लहरलाई व्यवस्थापन गर्न नसकेर उत्पन्न हुन गएको राजनीतिक  संकटबाट  आत्तिएर  उक्त सङ्कटलाई गौरवीकरण गर्ने उद्देश्यले त्यसलाई भारतीय हस्तक्षेपसँग जोडेर बताउन थाल्नु भएको  पनि प्रष्ट हुँदै आएको  छ । 

३. उहाँसँग दुई तिहाई संसदीय बहुमत छ । रौँ रौँमा राष्ट्रियताको तेज भरिएको दावी गर्ने उहाँका दलका  सांसद छन् । उहाँको सिङ्गो पार्टी पङ्क्ति छ । आफ्नै  पार्टीका सांसद  र  नेता  बाहेक अरू कसैले हटाएर उहाँ हट्ने होइन । 

विपक्षी दलसँग त्यो बल र सामर्थ्य छैन । क्षमता भए  हटाउनु उसको राजनीतिक धर्म नै हुन्थ्यो होला । केही चलखेल भए त्यहाँ भित्रै हुने हो । कसैले खेल्ने हो भने पनि ओलीजीले छानी छानी ल्याएका पार्टी पङ्क्ति र त्यसैगरी टिकट दिएका सांसदहरूमै खेल्ने हुन् । त्यस अवस्थामा आफ्ना पार्टीका नेता र सांसद भारतको हातमा बिकेको आशय उल्लेख गरेर प्रधानमन्त्रीले स्वयम् आफ्नो पार्टीका सांसद र नेताको मात्र होइन, पार्टीकै समेत अपमान गरिरहनु भएको छ ।

तर यो राजनीतिक चरित्र प्रदर्शनमा ओली एक्ला होइनन् । उनका पार्टीका अन्य पूर्व प्रधानमन्त्रीहरूले पनि त्यस्तो आरोप भारतमाथि लगाउने गरेका हुन् ।

४. ओलीजीले भनेको सही हो भने पनि ठूला र शक्तिशाली राष्ट्रहरूको चरित्र  नै हो त्यो । आफ्नो मुलुकको हित र सुरक्षामा अनुकूल नभएका मुलुकको राजनीतिक नेतृत्व विरूद्ध ठूला र शक्तिशाली  राष्ट्रहरूले  त्यो गर्छन्, गरिरहन्छन् । हिजो पनि त्यो भएको हो र आज पनि भइरहेको छ । राष्ट्रहरूको विखण्डन र विघटन पनि गराउँछन् उनीहरूले । अमेरिकाले रूसमा त्यस्तो हस्तक्षेप गर्दछ, गरेको छ ।

रूसले अमेरिका जस्तो मुलुकमा  पनि त्यस्तो हस्तक्षेप गरेकोबारे अमेरिकाले न्यायिक जाँच बुझ नै गर्यो । चीनले अमेरिकी र भारतीय राजनीतिमा हस्तक्षेप गरेको समाचार  क्षेत्रबाट आइरहेको छ । चीनले एमाले र माओवादीको एकता र ओली सरकारको सङ्कट टार्न भूमिका खेलेको प्रष्ट देखिएको अवस्थामा सकेमा भारतले ओली सरकार ढाल्न भूमिका खेल्न सक्दछ । खेल्छ । कुनै नौलो कुरो होइन यो ।

५. नक्साको राजनीति कति राष्ट्रियता र देशभक्ति हो अनि कति सत्ता स्वार्थ र महत्वाकांक्षा हो त्यो समयले बताउँदै जाला । नक्सामा देखिएको राष्ट्रिय एकता दवाव हो कि स्वेच्छा हो ? चुनावी भविष्य र स्वार्थको जोहो हो वा निष्ठा हो ? त्यो पनि समय क्रममा प्रष्ट हुँदै जाला ।

मुलुकको नयाँ नक्सा जारी हुनु अघि नक्सा सम्वन्धी तालुक मन्त्री र सरकारको मुखियाको भनाई  दुनियाँले सुनेकै हो । हाम्रै विज्ञ र विश्लेषकले आज एउटा र भोली अर्को कुरा गरेको पनि हामीले पढेकै सुनेकै हो । नेपाली जनता र विश्वले हाम्रो नक्सा पनि देखेका छन् । प्रमाण हामीसँग पनि होला र दुनियाँसँग पनि ।

दुनियाँ न्याय र विवेकको भाषा मात्रै बोल्दैन, शक्ति र दवावको भाषा अझ बढी बोल्छ र बुझ्छ– त्यो पनि हामीले देखेकै बुझेकै हो । हामीले त्यही दवाव र सीमा भित्र बाँच्ने क्षमता आर्जन गर्ने हो ।

६.भारतले पंचायत र राजा वीरेन्द्रलाई फाल्न सहयोग गरेको होइन र ? राजधानीको मुटुमा प्रधानमन्त्री ओलीको  दल समेतको आयोजनामा भएको कार्यक्रममा भारतका नेताहरू राजा र पंचायत विरूद्ध बुरूबुरू हुँदा खुशीले उहाँहरु तीन हात माथि उफ्रिएको होइन ? 

भारतीय रेडियो, टेलिभिजन र समाचारपत्रहरूले राजा र रानीबारे जथाभावी भन्दा कति खुशी हुने गर्नुहुन्थ्यो उहाँहरू ? दल पो थिएन त, पंचायत पनि त जन अनुमोदित थियो । मरिचमान पनि त निर्वाचित प्रधानमन्त्री थिए । हजारौँ हजार वर्षको विश्वको इतिहासमा दलहरूको इतिहास भनेको त केही सय वर्षको इतिहास त हो नी !

७.  त्यति भएर पनि पंचायत विघटन गरेर र सम्पूर्ण सत्ता सुम्पिएर संवैधानिक भएका राजा वीरेन्द्रले एक वचन भारत विरूद्ध बोलेको थाहा छ कसैलाई ? 
उहाँहरूले धक्कु लगाउने गरेको गणतन्त्र ल्याउन भारत कै बल र रणनीतिक चाहनामा राजा ज्ञानेन्द्रलाई हटाएको होइन  उहाँहरुले ? राजा ज्ञानेन्द्रले कहिल्यै भारत विरूद्ध तीतो पोखेको थाहा छ ?

नेपालका कुनै राजनीतिक दल वा दलहरू विरूद्ध एक वचन कतै बोलेको सुनिएको छ ?

त्यही हो राजधर्म !

त्यही हो नेपाल जस्तो मुलुकले माग्ने  कूटनीतिक र राजनीतिक मर्यादा । 

सकेसम्म मुलुकको आन्तरिक उर्जा र क्षमता बढाउँदै जाने, अर्थतन्त्र मजबुत बनाउँदै जाने र सुरक्षा यन्त्रलाई आधुनिक र सशक्त बनाएर लैजाने भन्दा बढी पो के गरेका थिए उनीहरूले ?

कठालो टालेको कोट लगाएको सुनेकै हो राजा वीरेन्द्रले ! ज्ञानेन्द्रको रहन सहन पनि औषत नेपाली राजनीतिक नेताको भन्दा धेरै माथि बताउन्नन् देखी जान्नेहरू ।

८. राजा वीरेन्द्रले आफ्नो मुलुकको प्रतिरक्षा क्षमतालाई सानो हदसम्म बढाउन खोजेका त थिए । मुलुक भएपछि दुईचार घण्टासम्म टिक्ने सैन्य क्षमता त राज्यसँग  हुनुपर्यो नी । भारतसँग केही हतियार किन्न खोजे, भारतले चर्को मूल्य बतायो, चीनसँग किने । तर ओलीजीहरू नै  भारतसँग मिलेर राजा वीरेन्द्रविरूद्ध जाइलाग्नु भयो । वीरेन्द्रले सत्ता छोड्नु भयो, जसलाई  उहाँले सत्ता सुम्पनु भयो तिनले उहाँको जीवन रक्षा गर्न नसकेको हो नी होइन ?

९. राजा ज्ञानेन्द्रले के गरेका थिए ? उनी राजा हुनुभन्दा वर्षौँ अघि देखि मुलुक अनन्त हत्या हिंसाको चक्रमा थियो । दलहरू नै द्वन्द्व र हिंसा अन्त्य गर्न जिम्मेवार थिएनन् । आपसी हानाहान र तानातानमा थिए । ‘म पनि हेर्छु नी त ! मलाई केही समय देऊ ! तिमीहरूले यतिका वर्षसम्म सकेनौ मलाई तीन वर्ष देऊ  ! तै शान्ति स्थापना गर्न सक्छु कि त’ भनेका त थिए नी ! 

दलहरूले तीन वर्ष दिएनन् !

उनले पनि थाम्न सकेनन् सकेनन्,  शान्त, भद्र, सभ्य, शिष्ट राजधर्म र नागरिक धर्म निर्वाह गरेर राजा ज्ञानेन्द्र नारायणहिंटीबाट बिदा भएर हिँडे । राजकाजमा मोडेल हुन् राजा ज्ञानेन्द्र !

१०. चुनाव गराउने जिम्मा लिएर प्रतिनिधि सभा विघटन गरेर आएको बहादुरले म चुनाव गराउन नसक्ने भएँ सरकार भनेर कान समातेकै  हुन् । उनलाई हटाउन राजा कहाँ बिन्ती पत्र हाल्न गिरिजा प्रसाद, माधव नेपालहरू जानुभएकै हो । त्यस अवस्थामा शासन संचालनमा कसैको वैधानिक अधिकार  बाँकी रहेको थिएन । निर्वाचित प्रधानमन्त्रीले विघटन गरेको र सर्वोच्च अदालतले समेत सदर गरेको उक्त विघटनलाई  उल्ट्याउने माग सडकको लागि उचित थियो होला तर एउटा राष्ट्र प्रमुखले त्यो काम गर्न सक्दैनथिए ।

उनले पनि ओलीजीले जस्तै चीनसँगको सम्वन्धबाट  मुलुकको रणनीतिक क्षितिजलाई अलिकता फराकिलो  खोजेका त थिए । सवै मिलेर राजा ज्ञानेन्द्रलाई हटाएको मात्र होइन,  हटाउन सहयोग गरे भारतको चाहना मुताविक गर्ने कागज गरेर आएका व्यक्ति नै ओलीजीको दलका कार्यकारी अध्यक्ष छन् । तिनै ओलीजीले प्रचण्डसँग नेहोरा गरेर पार्टी एकता गर्नुभएको हो । पार्टीको कार्यकारी अध्यक्ष र प्रधानमन्त्रीको पालो बाँधेर एकतामा जानुभएको हो । सुहाउँछ राष्ट्रियताको ठूला ठूला कुरा गर्न ?
 
११. राजनीतिक अदूरदर्शिता क्षुद्र राजनीतिक महत्वाकांक्षाले १९४७ अघिको एउटा भारत आज तीन टुक्रा भएको छ । बेलायतले भारतलाई दुई टुक्रा बनाएर गयो । भारतले पाकिस्तानलाई दुई टुक्रा बनाइदियो । पाकिस्तान अझै विखण्डनको सङ्घारमा छ ।

 यही हो वर्तमान विश्व ! 

ठूला र शक्तिशाली मुलुकले आन्तरिक रूपमा कमजोर मुलुकलाई बाँच्न पनि दिँदैनन् । हामीले हेर्याहेर्यै चीनले तिब्बत र सिञ्जियाङ्लाई रक्तपात मच्चाएर आफूमा मिलायो । भारतको ठूलो भाग नियन्त्रणमा लिएर बसेको छ । 

साम, दाम, दण्ड, भेद सवै प्रयोग गरेर भारतले सिक्किमलाई सर्लक्क निलिदियो । प्रजातन्त्रको निहुँमा निलिदियो ।

१२. मूल्य व्यक्तिको स्वतन्त्रताको पनि हुन्छ र राष्ट्रको स्वतन्त्रताको पनि । स्वतन्त्र राष्ट्रको रूपमा बाँच्ने हो भने नेपालले केही मूल्य चुक्ता गर्न सक्नु पर्दछ । आफ्नो स्वतन्त्र परिचय पनि निर्माण गर्नु पर्दछ । केही मूल्य र संस्कृति निर्माण गर्नु पर्दछ । दलहरूले त्यो परिचय, मूल्य र संस्कृति निर्माण गर्न नसक्ने रहेछन् ।

प्रजातन्त्रले मात्रै पनि त्यो सम्भव बनाउन सक्ने रहेनछ । प्रजातन्त्रको आडम्वर मात्रै पालेर बस्ने हो भने नेपाल  अर्को विहारमा मात्रै खुम्चिने अवस्था बन्ने रहेछ । समाजवाद र साम्यवादको नारा घोकेर मात्रै बस्ने हो भने  नेपाल अर्को उत्तर कोरिया बन्ने सम्भावना निर्माण हुँदै छ  । किन स्वतन्त्र र सार्वभौम नेपाल ? भन्ने प्रश्न नै समय क्रममा हराउने अवस्था देखिदैं छ ।

१३. अर्को विहारलाई कालापानी, लिपुलेक र लिम्पियाधुरा चाहिन्न । अर्को उत्तर कोरियाले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपाली भूभागमा  जोड्न  सक्दैन । अर्को विहार वा अर्को उत्तर कोरिया हुनलाई स्वतन्त्र र सार्वभौम नेपाल आवश्यक पर्दैन ।

१४. चल्तीका केही राजनीतिक नारालाई फालेर पूर्ण संवैधानिक राजा सहितको हिन्दु राष्ट्रले मात्रै नेपाललाई अर्को विहार वा उत्तर कोरिया  बन्नबाट छेक्न सक्छ । सिक्किम विलयपछि नेपालको तराईलाई भारतमा लैजाने इन्दिरा गान्धीको रणनीतिक लक्षलाई भारतीय सुरक्षा तन्त्रले परित्याग गरेको छैन । स्थगित मात्रै गरेको हो भन्ने कुरा बुझ्न शायद ढिलो हुँदै छ ।

स्वतन्त्र र सार्वभौम नेपालको भौगोलिक अखण्डताको सुरक्षाको लागि पनि अन्तर्राष्ट्रिय प्रत्याभूति सहितको  स्वतन्त्र, तटस्थ र शान्ति क्षेत्र नेपालको औचित्य बुझ्नु पर्दछ । नेपाललाई उत्तर कोरिया बनाउने राजनीतिले नक्सामा लिम्पियाधुरा जोड्ला तर मधेश ? 

उत्तर कोरिया बन्ने र बनाउने प्रयाससँगै  नेपालको अर्को भूभागलाई  दक्षिण कोरिया बनाउने अभ्यास शुरू नहोला र ?  सत्तारूढ दलको राजनीतिले आमरूपमा पहाडलाई भारत विरोधी मधेशलाई चीन विरोधी बनाइदिएको अवस्थामा लिम्पियाधुरा होइन, नेपाल सिङ्गै रहन्छ कि विखण्डित रहन्छ भन्ने सवाल हो । 

प्रश्न  सिङ्गो नेपाल उत्तर कोरिया बन्छ कि ? पहाड उत्तर कोरिया र मधेश दक्षिण कोरिया बन्न जाने हो ?

१५. हेक्का राख्नु नै पर्ला दोस्रो विश्व युद्धको अन्त्यमा संसारका करीव ५० भन्दा केही बढी मुलुकहरूबाट नै उत्तर र दक्षिण कोरिया जसै गरेर आज संसारमा दुई सय भन्दा बढी मुलुक बन्न गएका छन् ।

स्वतन्त्र र सार्वभौम मुलुकको रूपमा मुलुकको आन्तरिक एकता र अखण्डता धान्न पनि न्यूनतम आर्थिक, कूटनीतिक, राजनीतिक र सैनिक क्षमता चाहिन्छ र बुझ्नु पर्दछ नेपालमा दलहरूले शासन गरेको तीन दशक भयो र गणतन्त्रले शासन गरेको पनि डेढ दशक भयो । (भट्टराई नेपाल शिक्षक युनियनका पूर्व अध्यक्ष र लोकप्रिय विश्लेषक हुन् ।)

ताजा खबर