दुई खर्बले घट्यो आयात

२०७७ असार १६ मंगलबार ०८:०७:०० मा प्रकाशित

काठमाडौँ। कोभिड–१९ सङ्क्रमणका कारण विश्व व्यापारमा आएको गिरावटको तस्बिर नेपालको अन्तर्राष्ट्रिय व्यापारमा पनि देखिएको छ । चालू आर्थिक वर्षको जेठ महिनासम्मको भन्सार विभागको तथ्याङ्कअनुसार समग्र अन्तर्राष्ट्रिय व्यापारमा करिब दुई खर्ब रुपियाँको गिरावट देखिएको छ । कुल आयात अघिल्लो आवको जेठको तुलनामा एक खर्ब ९९ अर्ब रुपियाँले घटेर ११ खर्ब ८१ करोड रुपियाँ पुगेको छ । अघिल्लो जेठमा नेपालले १२ खर्ब ९९ अर्ब रुपियाँको वस्तु आयात गरेको थियो । तुलनात्मक रूपमा चालू आवको आयात १५.३१ प्रतिशतले घटेको देखिन्छ ।

जेठसम्म नेपालको कुल अन्तर्राष्ट्रिय व्यापार ११ अर्ब ८८ करोड रुपियाँ पुगेको छ । यो अघिल्लो आवको तुलनामा करिब दुई खर्ब रुपियाँले नै कम हो । गत जेठमा नेपालको कुल अन्तर्राष्ट्रिन्य व्यापार १३ खर्ब ८७ अर्ब रुपियाँ पुगेको थियो । आयातमा भएको कमीले अन्तर्राष्ट्रिय व्यापारको आकार मात्र होइन, नेपालको व्यापार घाटामा पनि समानान्तर रूपमै घटेको छ । जेठसम्म नेपालको व्यापार घाटा अघिल्लो वर्षको तुलनामा दुई खर्ब एक अर्ब रुपियाँले घटेर १० खर्ब १२ रुपियाँ पुगेको छ । अघिल्लो जेठमा व्यापार घाटा १२ खर्ब ११ अर्ब रुपियाँ पुगेको थियो ।

यसबीचमा नेपालको निर्यात वृद्धि भने करिब उस्तै रहेको छ । चालू आवको सुरुवातमा निर्यातमा उत्साहजनक परिस्थिति देखिएकोमा जेठसम्म आइपुग्दा निर्यात वृद्धिदर स्थिर जस्तै छ । नेपालले चालू आवको समीक्षा अवधिसम्म ८८ अर्ब रुपियाँको वस्तु निर्यात गरेको छ, जबकी गत वर्षको जेठमा ८७ अर्ब ८३ करोड रुपियाँको वस्तु निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ । यो ०.१९ प्रतिशतको वृद्धिदर हो । आयात घट्दा कुल व्यापारमा यसको हिस्सा घटेर ९२.६० प्रतिशत पुगेको छ । अघिल्लो जेठसम्म आयातको हिस्सा ९३.६७ प्रतिशत थियो । निर्यातको हिस्सा १६.९५ प्रतिशतले बढेर ७.४० प्रतिशत कायम भएको छ ।

व्यापारिक साझेदारका रूपमा सधँैजस्तै छिमेकी मुलुक भारत पहिलो स्थानमा छ । यसबीचमा नेपालले भारतबाट छ खर्ब ७० अर्ब रुपियाँको वस्तु आयात गरेको छ भने ६२ अर्ब ९५ करोड रुपियाँको वस्तु निर्यात गरेको छ । दोस्रोमा चीन छ । जहाँबाट नेपालले एक खर्ब ६९ अर्ब रुपियाँको आयात गरेको छ भने एक अर्ब १३ करोड रुपियाँको निर्यात गरेको छ । तेस्रोमा रहेको इन्डोनेसियाबाट करिब ३० अर्बको आयात हुँदा १२ करोड ३० लाख रुपियाँको मात्र निर्यात भएको छ । चौथोमा रहेको अमेरिकाबाट २२ अर्ब १४ करोड र पाँचौँ स्थानमा रहेको संयुक्त अरब इमिरेट्सबाट १७ अर्ब ६७ करोड रुपियाँको आयात भएको छ । यी मुलुकमा नेपालले क्रमशः आठ अर्ब ३८ करोड र २१ करोड ७५ लाख रुपियाँको वस्तु निर्यात गरेको छ ।

जेठसम्म नेपालले सबैभन्दा धेरै ७८ अर्ब २१ करोड रुपियाँको डिजेल आयात गरेको छ । त्यसपछि ३८ अर्बको फलाम तथा स्टिल, करिब २८ अर्बको एलपी ग्यास, २६ अर्ब ५४ करोडको पेट्रोल र १८ अर्ब ५१ करोड रुपियाँको चामल आयात गरेको छ । निर्यात भएका वस्तुमध्ये सबैभन्दा धेरै १८ अर्ब ३१ करोड रुपियाँको पाम तेल छ । त्यसपछि सोयाबिन तेल १० अर्ब १२ करोड रुपियाँको निर्यात भएको छ । गलैँचा, ऊनी कपडा, जुस, जुट, अलैँचीजस्ता वस्तु नेपालबाट धेरै निर्यात हुने वस्तुमा परेका छन् ।
(गोरखापत्र अनलाइनबाट)

ताजा खबर