साउन ७ गतेसम्म अहिलेकै मोडालिटी अनुसार लकडाउनलाई निरन्तरता दिइने

२०७७ असार १६ मंगलबार ०६:२४:०० मा प्रकाशित

काठमाडौँ — सरकारले लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अहिलेकै मोडालिटीमा लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको एक मन्त्रीले कान्तिपुरलाई बताए ।

यस्तै, बैठकले प्रदश सरकार र स्थानीय तहरुलाई जोखिम मूल्यांकन गरेर लकडाउनलाई कार्यान्वयन गराउन सक्‍ने निर्णय पनि गरेको छ ।

'बैठकमा हवाइ उडाउन खुलाउने विषयमा पनि कुरा भयो तर यसबारे कुनै निष्कर्ष भएन,'ती मन्त्रीले भने ।

यसअघि जेठ २८ मा मन्त्रिपरिषद् बैठकले असार १ गतेबाट लकडाउन खुकुलो पार्ने निर्णय लिएको थियो ।

त्यसैअनुसार अहिले जनसंख्या मन्त्रालय र गृह मन्त्रालयको निर्देशिकाअनुसार सुरुमा स्वास्थ्य, पेट्रोलियम पदार्थ, फोहोरमैला व्यवस्थापन, बैंक तथा वित्तीय संस्था, कृषिसम्बन्धी काम, उत्पादनशील उद्योग, निर्माण उद्योग, सबै प्रकारका ढुवानी र पुस्तक पसललगायतका सेवा खुला गरिएको छ । यिनै सेवा खुल्ने गरी सरकारले लकडाउन साउन ७ सम्मका लागि लम्बाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को जेठ २८ मा बसेको बैठकले उच्चस्तरीय समन्वय समितिको प्रस्तावअनुसार तीन चरणमा लकडाउन खोल्ने निर्णय लिएको थियो । पहिलो चरण २१ दिन, अवस्था हेरेर दोस्रो चरण १५ दिन र थप १५ दिन तेस्रो चरण गरी लकडाउन पूर्ण रूपमा खुला गर्ने सरकारको नीति थियो । तर, पहिलो चरण सकिएपछि थप २१ दिन सरकारले लकडाउन पहिलो चरणकै जस्तै लम्बाएको हो ।
(कान्तिपुर अनलाइनबाट)

ताजा खबर