पृथ्वी प्रज्ञा पुरस्कार समालोचक ताना शर्मालाई

२०७४ कार्तिक १३ सोमबार २०:५६:०० मा प्रकाशित

काठमाडौँ, १३ कात्तिक ।  नेपाल प्रज्ञा–प्रतिष्ठानले प्राज्ञिक क्षेत्रको गरिमामय र ठूलो राशिको मानिने पृथ्वी प्रज्ञा पुरस्कार वरिष्ठ समालोचक एवं निबन्धकार प्रा डा तारानाथ शर्मालाई प्रदान गर्ने भएको छ । 

यहाँ सोमबार सम्पन्न ३२ औँ प्राज्ञ सभाले सो पुरस्कार सिफारिशसम्बन्धी प्राज्ञ परिषद्को निर्णयलाई अनुमोदन गरेको सदस्यसचिव डा जीवेन्द्रदेव गिरीले जानकारी दिए । सो पुरस्कार प्रत्येक चार वर्षमा एक पटक दिइन्छ । यस्तै प्रत्येक दुई दुई वर्षमा प्रदान गरिने रु एक एक लाख ‘नेपाल प्रज्ञा संस्कृति पुरस्कार’ डा वीणा पौडेल घिमिरे र ‘नेपाल प्रज्ञा भाषा पुरस्कार’ डा रामावतार यादवलाई प्रदान गरिने भएको छ । हरेक वर्ष दिइने ‘नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार’ वर्ष २०७३ का लागि विमल निभा (विमलकृष्ण श्रेष्ठ) तथा वर्ष २०७४ का लागि ध्रुब सापकोटालाई दिइनेछ । 

यस्तै रु एक लाख राशिको तराई–मधेशमा बोलिने मातृभाषा साहित्यका लागि ‘नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार २०७३’ अब्दुल लतिफ सौक उर्दू भाषा र वर्ष २०७४ को सोमबहादुर धिमाल धिमाल भाषालाई दिइनेछ । पहाडी हिमाली क्षेत्रमा बोलिने ‘मातृभाषा साहित्य पुरस्कार २०७३’ का लागि पदम राई र २०७४ का लागि धनबहादुर माझीलाई प्रदान गर्ने निर्णय भएको छ । सभाले चालू आवको नीति, कार्यक्रम र बजेट तर्जुमा गरेको    छ । सचिव गिरीले चालू आवका रु १६ करोड बजेट विनियोजन गरिएको बताए। 

सभाले प्रतिष्ठानको नियमावली र कलाकार कर्मचारी सेवा शर्त विनियमावलीमा संशोधन गरेको छ ।रासस  

ताजा खबर