निकुञ्जबाट निस्केको बाघको आक्रमणबाट २ जना घाइते

२०७७ असार १५ सोमबार ०८:०७:०० मा प्रकाशित

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको पाटेबाघको आक्रमणमा पर्दा बर्दिया राजापुरको वन क्षेत्रमा २ जना घाइते भएका छन् ।

राजापुर नगरपालिका १० लालपुर र मझेरा गाउँका २ जनालाई पाटे बाघले आक्रमण गरेको हो । पाटेबाघको आक्रमणमा परि राजापुर नगरपालिका –१० लालपुर गाउँका मोहन थारु र मझेराका दयाराम थारु घाइते भएका छन् ।

गाउँ नजिकै भैँसी चराउँदै गर्दा लालपुरका मोहन थारुलाई आइतबार बिहान र बाघ रहेको क्षेत्रमा बाघ भगाउन पुगेको टोलीसँगै पुगेका मझेराका दयाराम थारुलाई दिउँसो बाघले आक्रमण गरेको हो ।

पाटेबाघ ओहोरदोहोर गर्ने मुख्य मार्ग कोरीडोर क्षेत्रमा निकुञ्जबाट बाहिर निस्कीएको पाटेबाघ मझेरी टापु नजिक सामुदायिक वनमा लुकेर बसेको डिभिजन बन कार्यालय बर्दियाका प्रमुख महेन्द्र वाग्लले बताए । आक्रमण गर्ने बाघ सामुदायिक वनमा लुकेर बसेको भन्ने खबरपछि बर्दिया निकुञ्जको हात्ती सहितको बाघ भगाउने टोलीले बाघ भगाएको उनले बताए ।

दुबै जनालाई आक्रमण गर्ने बाघ एउटै रहेको डिभिजन बन कार्यालयका प्रमुख वाग्लेले बताए । भैँसी चराउने क्रममा भैँसी सामुदायिक वनमा गएपछि भैँसी भगाउन जाँदा मोहन थारुलाई बाघले आक्रमण गरेको बताइएको छ ।

बाघको आक्रमणमा परि लालपुरका मोहन थारुको दाँया हात, बाँया खुट्टा र पिठ्युँमा गम्भिर चोट लागेको छ भने मझेराका दयाराम थारुको टाउको र दुबै कन्चटमा गम्भिर चोट लागेको प्रहरीले जनाएको छ । उनिहरु दुबैको नेपालगंज मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी पोष्ट कोठियाघाटले जनाएको छ ।
(राजधानी दैनिकबाट)

ताजा खबर