रियल मेड्रिड शीर्ष स्थानमा फर्कियो

२०७७ असार १५ सोमबार ०७:४९:०० मा प्रकाशित

स्पेनिस क्लब रियल मेड्रिड ला लिगा फुटबलको शीर्ष स्थानमा फर्किएको छ ।

लिगको ३२औं चरणको खेलमा इस्पान्योलमाथि १/० गोलअन्तरको साँघुरो जित निकाल्दै रियल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । यो जितसँगै रियल बार्सिलोनालाई समान खेलपछि स्पष्ट रूपमा २ अंकले पछि पार्दै उपाधि होडमा अघि बढेको छ ।

नेपाली समयअनुसार सोमबार बिहान इस्पान्योलको घरेलु मैदानमा भएको खेलमा रियलले जित निकाल्न ठूलै संघर्ष गर्नु परेको थियो । घरेलु टोली इस्पान्योलले उत्कृष्ट रक्षात्मक खेल खेल्दा रियलले १/० को साँघुरो जितमै चित्त बुझायो । रियलको जितमा मिडफिल्डर कासेमिरो नायक बने । उनले खेलको ४५औं मिनेटमा गरेको एक मात्र गोलले नै रियललाई महत्त्वपूर्ण ३ अंक दिलाउन पर्याप्त बन्यो ।

कासेमिरोले डीबक्सबाट निकै कठिन अवस्थामा सो गोल गरेका थिए । बक्समा करिम बेन्जेमाले दिएको सुन्दर ब्याक हिल पासमा कासेमिरोले डिफेन्डरलाई बिट गर्दै बललाई जाली चुमाएका थिए । जितपछि रियलले ३२ खेलबाट ७१ अंक जोडेको छ । रियलले समान खेलपछि बार्सिलोनालाई २ अंकले पछि पार्दै शीर्ष स्थान ओगटेको छ । पराजित इस्पान्योल भने २४ अंकसहित लिगको २०औं स्थानमा छ ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर