बौद्धिक परिवारमा पढाइको दबाब

२०७७ असार १५ सोमबार ०७:२७:०० मा प्रकाशित

स्विडेन : विश्वविद्यालय स्तरको अध्ययनको सिलसिलामा सामान्यभन्दा बौद्धिक परिवारका सन्तानमा अध्ययनबारे अनावश्यक दबाब रहने गरेको पाइएको छ । स्विडेन र जर्मनीका अन्वेषकहरूको एक समूहले ‘फ्रन्टियर्स इन साइकियाट्रिक’ नामक जर्नलमा हालै सार्वजनिक प्रतिवेदनमा प्रथम वर्षका छात्राको कपालको विश्लेषण गरेर उक्त तथ्य पत्ता लगाएको हो ।
बर्न विश्वविद्यालयका प्राध्यापक अलेक्स बर्ट«म्स र रुहर विश्वविद्यालय बोचमका नीना मिकंलेको समूहले गरेको अध्ययनले उक्त निष्कर्ष निकालेको हो ।

अध्ययनले विद्यार्थीले आफ्नो डिग्री नलिने हो भने उनीहरूको परिवारको सामाजिक प्रतिष्ठा खतरामा पर्नसक्ने भन्दै उनीहरूले सामान्यभन्दा बढी तनाव लिने गरेको देखिएको छ । तनावपूर्ण अवस्थामा शरीरले कोर्टिसोल हर्मोन बढी मात्रामा जारी गर्छ, जुन कपालमा पनि देखिन्छ । बढ्दै गरेको कपालमा लामो समयसम्म कोर्टिसोल हर्मोनको स्तर उच्च रहन्छ भने त्यो व्यक्तिमा बढी तनाव रहेको मान्न सकिने अनुसन्धानको निष्कर्षमा भनिएको छ ।

टोलीले विभिन्न ७१ व्यक्तिलाई परीक्षणका लागि नमुना बनाएको थियो । यसमा किशोरीले विश्वविद्यालयको अध्ययन सुरु गरेपछिका केही समयमा कपालमा कोर्टिसोल हर्मोनको मात्रालाई आधार बनाएर अशिक्षित तथा शिक्षित परिवारका सदस्यमा हुने तनावबारे अध्ययन गरिएको हो । ‘एकमात्र समावेशी मापदण्ड के थियो भने पहिलो सेमेस्टर सुरु गरेका छात्राको कपाल लामो थियो’, नीना मिकंलेले अनुसन्धान समूहको निष्कर्षबारे बताइन् । उनीहरूले महिलालाई मात्र अनुसन्धानको दायरामा राखे । अनुसन्धानका लागि कोही पनि सोही उमेर समूहका पुरुष समावेश नगर्ने निर्णय गरे । महिलाको एकै प्रकारको नमुनाको अध्ययनबाट नतिजा थप विश्वसनीय बनाउने उनीहरूको उद्देश्य थियो ।

प्रतिमहिना कपाल एक सेन्टिमिटर बढ्ने भएकाले अनुसन्धानकर्ताहरूले सेमेस्टरको सुरुदेखि ६ हप्तामा बढेको कपालको पछिल्लो डेढ सेन्टिमिटर भागको परीक्षण गरेका थिए । विश्वविद्यालयमा अध्ययनका क्रममा उनीहरूले विषयगत रूपमा महसुस गरेको तनावका बारेमा पनि सोधिएको थियो ।

अध्ययनबाट के पत्ता लाग्यो भने शिक्षित परिवारका पहिलो सेमेस्टरका विद्यार्थीका कमसेकम एक अभिभावकले विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका थिए । तर त्यस्ता अभिभावकका सन्तान गैरशिक्षित परिवारका विद्यार्थीको तुलनामा उच्च तनावमा रहेको पाइयो । अन्य पक्षमा भने उनीहरूबीच खासै फरक थिएन ।

शिक्षित परिवारका विद्यार्थीको पढाइ तिनको परिवारको प्रतिष्ठासँग गाँसिने भएकाले नतिजा राम्रो ल्याउन दबाब पर्ने गरेको अध्ययनका क्रममा सोधिएका प्रश्नावलीको उत्तरमा लेखिएको छ । 
(अन्नपूर्ण पोष्टबाट)

ताजा खबर