लगातारको बर्षाले त्रास थपिदै

२०७७ असार १५ सोमबार ०६:५०:०० मा प्रकाशित

लगातारको बर्षाका कारण पहाडी भेगमा पहिरो र तराइमा बाढीको जोखिम बढ्दै गएको छ । अविरल बर्षाका कारण प्रदेश ५ का ठूला नदीहरुमा पानीको बहाव बढ्न थालेको छ । 

तिनाउ, कालिगण्डकी, वाणगंगा, राप्ती र नारायणी नदीमा पानीको वहाव बढ्न थालेपछि स्थानीयहरु त्रसित भएका छन् । बर्षाका कारण प्रदेश ५ का रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ, बाँके, बदिया, गुल्मी, पाल्पा, प्यूठान, रुकुम र रोल्पाका ठूला साना नदीमा बाढीको जोखिम रहेको मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ ।  

रुपन्देहीको तिनाउ नदीमा बढेको बहाबका कारण नदी किनारका करिव १५ सय घरधुरी बाढीको जोखिममा छन् । सरकारले विभिन्न चरणमा नदीको तटबन्ध गरेकाले तत्काल बस्तीमा बाढी पस्न नसकेपनि यो वर्ष बर्षात लामो समय भएकाले क्षती हुनसक्ने विज्ञहरुले बताएका छन् । लगातारको बर्षाका कारण गुल्मीमा दरबार गाउँपालिकामा घर भत्किदा एक जना घाइते भएका छन् । पहिरोले घर भत्काउदा दरबार गाउँपालिका १ रैनादीकी ३१ की कमला माजकोटीको लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदारराज पन्तले जानकारी दिए । घाइते माजकोटीको लुम्बीनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ ।  

घर भत्किएकाले परिवारका अन्य सदस्यलाई छिमेकीको घरमा राखिएको छ । यस्तै गुल्मी दरबार गाँउपालिका १ बलिथुम बस्ने लोक बहादुर सुनारीकोको घर र गोठ पहिरोले बगाएको छ । घर गबाएपछि ६ जनाको परिवारलाई जनज्योती प्रा.बि.बलीथुममा सुरक्षित राखिएको प्रहरीले जनाएको छ । पहिरोका कारण गोठमा रहेका भैसी, गाई, सुगुर बाख्रा र कुखुरा मरेका छन । अबिरल बर्षाले मदाने घिउपानी बस्ने बिर बहादुर नेपालीको गोठ समेत पहिरोले क्षती पुर्‍याएको छ ।  

पहाडी क्षेत्रमा पहिरोले बस्ती जोखिममा पारेको छ । पाल्पा बगनासकाली गाउँपालिका ८ घिमिरेडाँडामा एक घर भत्किएको छ ।  ८२ वर्षका टिकाराम घिमिरेको ढुङ्गा माटोले बनेको जस्ता पाताको छानो भएको ३ तले कच्चि घर भत्किएको तर मानवीय क्षती भने नभएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घर भत्किदा ३ लाख बराबरको क्षती भएको छ । अविरल वर्षाका कारण मुख्य तथा ग्रामिण भेगका सडकहरु अवबरुद्ध भएका छन् ।  

बुटवल पाल्पा सडकखण्डको सिद्धबाबा क्षेत्रमा पहिरोका कारण सडक अबरुद्ध हुन थालेको छ । आईतबार विहान पहिरो गएपछि अबरुद्ध भएको सडक दिउँसोदेखि एकतर्फी सञ्चालनमा आएको प्रदेश न. ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक डिल्लिराज पाण्डेले जानकारी दिए । उनका अनुसार मुख्य राजमार्ग क्षेत्रमा पहिरोका कारण बेलाबेलामा सडक अबरुद्ध भइरहेको छ । तानसेन रामपुर सडकखण्डमा पनि बेला बेलामा पहिरो जाँदा अबरुद्ध भएको छ । गुल्मी, अर्घाखाँची र पाल्पाका ग्रामिण भेगमा पहिरोले सदरमुकामसँगको सम्बन्ध विच्छेद भएको छ । गुल्मीमा पहिरोका कारण बस्तीहरु असुरक्षित भएका छन् ।  

खोलामा हाम फाल्दा तीन घाइते
अर्घाखाँची पाणेनीमा एक महिला तीन बच्चासहित खोलामा हाम फाल्दा आफूसहित चार जना घाइते भएका छन । पाणीनी गाउँपालिका हर्राबोट निवासी २५ वर्षिया पबिता नेपाली आफ्ना तीन जना बच्चा सहित चौरेखोलामा हाम फालेकी थिईन । खोलाले बगाएको बेला स्थानीयहरुले तत्काल उद्धार गरेका कारण उनीहरु बाँच्न सफल भएका छन । 

घाइते अवस्थामा उद्धार गरिएको पवितासहित ६ वर्षिय छोरी टिका, ४ वर्षिय छोरा चरण नेपाली, १८ महिनाका छोारा बिष्णु छन् । श्रीमान सुवास नेपालीसँग झगडा भएकाले श्रीमती खोलामा हाम फालेको प्रहरीले जनाएको छ । 
(नागरिक न्युजबाट)

ताजा खबर