लकडाउनको ३ महिना : १८ सय चार्टर्ड उडान, ४७० टन मेडिकल सामग्री आयात

२०७७ असार १५ सोमबार ०६:०९:०० मा प्रकाशित

सर्वाधिक अन्तर्राष्ट्रिय उडान गर्नेमा नेपाल वायुसेवा निगम र आन्तरिकमा सीता एयर

काठमाडौँ — कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ देखि लकडाउन घोषणा गरेको थियो । उक्‍त लकडाउनको घोषणासँगै व्यवसायिक उडानमा पनि रोक लाग्यो ।

तर, चैत ११ देखि असार १० गतेसम्मको अवधिमा अन्तारिक र अन्तर्राष्ट्रिय गरी १ हजार ८ सय ११ वटा चार्टर्ड उडान भएका छन । ती उडानमा २४ हजार ६ सय ८३ जना यात्रुले सेवा लिएका छन् ।

नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको चार्टर्ड उडानको अनुमति दिने हवाई यातायात महाशाखाले शनिबार राति जारी गरेको तथ्यांक अनुसार १ हजार ८ सय ११ चार्टर्ड उडान मध्ये १ सय ६४ वटा अन्तर्राष्ट्रिय उडान रहेका छन् भने १ हजार ६ सय ४७ आन्तरिक उडान छन् । आन्तरिक चार्टर्ड उडानमध्ये १ हजार २ सय ८० घरेलु वायुसेवा कम्पनीका जहाजले गरेका थिए भने ३ सय ६७ वटा हेलिकप्टरबाट गरिएका आन्तरिक उद्धार उडान रहेका महाशाखाले जनाएको छ ।

लकडाउनको पहिलो तीन महिनामा भएको यात्रु आवागमन अन्तर्गत अन्तर्राष्ट्रियतर्फ २१ हजार ४ सय ९९ यात्रुले ओहोरदोहोर गरेका छन् । अध्यागमन विभागका अनुसार, नेपालबाट फर्किने १३ हजार ७५ यात्रु नेपालसहित कम्तीमा ७९ मुलुकका नागरिक हुन् । त्यस्तै, विदेशबाट ८ हजार ४ सय २४ जना हवाइ जहाजमार्फत नेपाल आएका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र छाउनीका अनुसार नेपाल आउनेमा २१ वटा मुलुक हुँदै फर्केका ९५ प्रतिशत भन्दा बढी नेपाली नागरिक हुन् । त्यसरी नेपाल आउनेमा अधिकांस श्रम गन्तव्यमा अलपत्र परेका नेपाली छन् ।

तीन महिनाको यो अवधिमा हेलिकप्टरले ३ सय ६७ वटा उडान गरेको छ । काठमाडौंबाट भएका अधिकांस ती चार्टर्ड उडानबाट ४ सय ४० जनाले ओहोरदोहोर गरे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाका अनुसार यिनमा विदेशी पर्यटक तथा बिरामीको उद्धार संख्या बढी छ ।

९ वटा घरेलु वायुसेवा कम्पनीलाई व्यवसायिक उडानमा रोक लगाइए पनि ७ वटा कम्पनीका विमानले विशेष अनुमति लिएर १ हजार २ सय ८० वटा उडान गरेका छन् । ती उडानबाट १ हजार ५ सय २१ टन खाद्यान्‍न, औषधि, निर्माण सामग्री लगायतको कार्गो ढुवानी भए ।कार्गोबाहेक यी विमानले २ हजार ७ सय ४४ यात्रुलाई ओसारेका छन् ।

प्राधिकरणले जारी गरेको तथ्यांकअनुसार आन्तरिकतर्फ सर्वाधिक चार्टर्ड उडान गर्नेमा सीता एयरले ५ सय ४७ वटा, तारा एयरले ४ सय ६ र समीट एयरले ३ सय २ वटा गरेका छन् ।लकडाउनको अवधिमा चार्टर्ड उडान गर्दै नगर्नेमा सिम्रिक र सौर्य एयरलायन्स छन् ।

लकडाउन अवधिभर अन्तर्राष्ट्रियतर्फ २९ वटा फरकफरक वायुसेवा कम्पनी, सैनिक वायुसेवा र चार्टर्ड उडान गर्ने विमान कम्पनीका जहाजले काठमाडौंमा उडान गरेका थिए । जसमध्ये चारवटा नेपाली वायुसेवा कम्पनीका बुद्ध एयर, श्री एयरलायन्स, हिमालय एयरलायन्स र नेपाल वायुसेवा निगम थिए । यो अवधिमा म्यानमार र चीनका दुईटा सैनिक विमानले काठमाडौंबाट आफ्ना नागरिकको उद्धार गरेका थिए । बाँकी २३ वटा व्यवसायीक तथा चार्टर्ड उडान गर्ने वायुसेवा कम्पनी थिए ।

अन्तर्राष्ट्रियतर्फ सर्वाधिक उडान गर्नेमा नेपाल वायुसेवा निगमले ४५, हिमालय एयरलायन्सले ३७ र कतार एयरले २१ उडान गरे । तीन महिना यताको चार्टर्ड उडान तथ्यांक स्वदेश तथा विदेशकालागि चार्टर्ड उडान अनुमती दिने प्राधिकरणको हवाई यातायात महाशाखा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जारी गर्छन् । यी दुई निकायले जारी गर्ने तथ्यांकबीच एकरुपता भने छैन । जसका कारण राष्ट्रिय सभामा भएको विनियोजन सम्बन्धिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले असार ४ गते चार्टर्ड उडानबारे प्रस्तुत गरेको तथ्यांक फरक परेको थियो ।

सरकारले असार २१ गतेसम्म आन्तरिक र अन्तर्राष्ट्रियतर्फका व्यवसायिक उडानलाई रोक लगाएको छ । चैत ९ गतेयता ७ औं पटक निर्णय गर्दै सरकारले कोभिड–१९ माहामारी नियन्त्रण गर्नुपर्ने कारण देखाउँदै उडान रोकेको हो । तर, कोरोनाको विश्वव्यापी संक्रमणका कारण उत्पन्‍न असहज परिस्थितिमा स्वदेश फर्किनै पर्ने अवस्थामा रहेका नेपालीलाई जेठ ३२ गतेदेखी उद्धार उडानमार्फत सरकारले निश्चित समयका लागि सर्तसहितको आवागमन खुला गरेको छ ।

स्वदेश आउनैपर्ने नेपालीलाई ध्वजावाहक नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सका ८ वटा जहाजले दैनिक एक दर्जनसम्म उडान गर्दै काठमाडौं ल्याउँदै आएका छन् । यी बाहेक तीन वटा विदेशी विदेशी वायुसेवालाई पनि नेपालीलाई उद्धार गर्न अनुमती दिइएको छ ।
(कान्तिपुर अनलाइनबाट)

ताजा खबर