नागरिकता:  फाइदा, समस्या र मध्यमार्ग

२०७७ असार १४ आइतबार १४:३३:०० मा प्रकाशित

यतिखेर देश नागरिकताको विषयलाई लिएर गर्माएको छ । अति राष्ट्रवादीहरु एकातिर र अति समाजवादी अर्कातिर भए जस्तो लाग्छ । त्यो अवस्था सिर्जना गरेकी हुन् संघीय सांसद सरिता गिरीले ।
    
भारतमा जन्मिएकी उनले नेपालमा विवाह गरेर बुहारी भएर भित्रिइन् । उनका जेठाजु प्रदिप गिरी, नेपाली राजनीतिमा औंलामा गनिन सकिने विद्वान् राजनीतिज्ञमध्ये मानिन्छन् । उनी नेपाली कांग्रेसका सांसदका रुपमा निरन्तर संसदभित्र रहिरहेका छन् । परिवारकै प्रभावमा सरिता गिरीले भने मधेशवादी दलबाट संसदमा प्रतिनिधित्व गरेकी हुन् ।

वर्तमान विश्व राजनीति बडो पेचिदो बन्दै गएको छ । भूगोलका लागि युद्ध हुन्थ्यो कुनै बेला । त्यो भूगोलभित्र हुने प्राकृतिक सम्पदा र खनिजजन्य वस्तुको आधिपत्यका लागि लडाइँ गरिरहन्थे । यतिखेर भूगोलभन्दा महत्वपूर्ण रुपमा व्यापार हुन आयो । त्योसँगै शक्ति र प्रभूत्वको लागि देशहरुबीच टकराव हुन थाल्यो । भण्डारणभित्र रहेका हतियारहरु गुज्गुजाउन थाले होलान् सायद, त्यसैले कसलाई कुन राष्ट्रले उचाल्छ र पछार्छ पत्तो हुन छाडेको छ यतिखेर । कसले कहाँ कुन अभिष्ट पूरा गर्न उपस्थिति जनाउँछ, त्यो पनि पत्तो हुन छाडेको    छ ।

यतिखेर नेपालमा थुप्रै मुद्दाहरु छन्– एमसीसी, सीमा विवाद, नागरिकता, भ्रष्टाचार आदिआदि । यी सबै विषयमा विचार बाझिएका छन् । एमसीसीलाई लिएर ठूलै हङ्गामा छ । ठूलो अमेरिकी लगानी नेपाल भित्रिए त्यसै मार्फत अमेरिकी सरकार भित्रिन्छ र छिमेकी राष्ट्र चीन विरोधी गतिविधि गर्छ । अनि हाम्रो देश रणभूमिमा परिणत हुन्छ भन्ने एकथरिमा त्रास छ । अर्कोथरि भने भारतीय दादागिरी ठेगान लगाउन भए पनि यहाँ अमेरिकी उपस्थिति अनिवार्य भएको देख्छन् । कोही एमसीसी मार्फत यथास्थितिवादबाट देशले कोल्टे फेर्छ भन्नेमा ढुक्क छन् । कोही भने लिपुलेक–लिम्पियाधुराको सीमा विवाद र एमसीसी अन्तरसम्बन्धित भएको देख्ने छन् । अर्थात् यति धेरै सम्भावित अनुमानहरु अगाडि आएका छन् कि एकाग्र भएर सबैका कुरा सुन्ने हो भने सबै कुरा सत्य जस्ता लाग्छन् । किनभने हाम्रो देशको कुनै राजनीतिक स्पष्ट नीति छैन, त्यसैले त्यस्तो भएको हुनुपर्छ ।

त्यही लिपुलेक–लिम्पियाधुराको सीमा विवादमा संसदमा उपस्थित मध्ये सबैले एकमतले सीमा नक्सा पास गरे । सरिता गिरीले त्यसको विरोध गरिन्, उनलाई बोल्न रोकियो । उनले संसद बहिस्कार गरिन् । प्रमाणको आधारमा राष्ट्रिय भावनाले ओतप्रोत भएर देश सबै एकमत भएको बेला सरिता गिरी मात्र किन विपक्षमा देखिइन् ? सबैको अनुमान छ– उनको लागि नेपाल त कर्मभूमि मात्र हो । खासमा उनको जन्मभूमि भारत नै हो । त्यसैले उनी यताको राष्ट्रियता भन्दा उताकै राष्ट्रियताको पक्षमा कटिवद्ध छिन् ।

उनको यो कटिवद्धताका कारण नागरिकता विधेयकमा भारतबाट आउने बुहारीहरुलाई बंशीय नेपाली समाजले शंकाको दृष्टिकोणले हे¥यो । त्यसैले अब आउने बुहारीहरुले सात बर्षपछि मात्र नेपाली नागरिकता प्राप्त गर्नेछन् भन्ने विषयले प्रवेश पायो । त्यसैका विषयमा अहिले समाज चिरा परेको छ । यस विषयमा बुहारीले सात बर्षपछि नागरिकता पाउनु ठीक भन्नेहरु राष्ट्रवादी र गलत भन्नेहरु अराष्ट्रवादी जस्तो व्याख्या हुन थालेको छ । यस विषयमाथि एकछिन् गम्भीर बनौं । र, फाइदा, समस्या र समाधानका विषयमा छुट्टाछुट्टै कुरा गरौं ।

फाइदा

एउटा भारतीय फिल्म छ– राजी । १९७१ को सत्य घटनामा आधारित सिनेमा हो त्यो । त्यसमा हिरोइन आल्या भट्टलाई भारतीय सरकारको योजना अनुसार सुराकीको रुपमा पाकिस्थानी राजनीतिमा असर गर्ने ठूलो परिवारमा विवाह गरेर पठाइन्छ । उनले त्यहाँको सुराकी गरेर भारत खबर पठाउँछिन् । धेरैको हत्या गरिन्छ, तहस नहस पारिन्छ । अर्थात् सरकारहरुले महिलालाई पनि त्यसरी पनि प्रयोग गर्ने रहेछन् भन्ने सन्देश छ त्यहाँभित्र । त्यो बुझेपछि मनमा प्रश्न उठ्छ– नेपाल भित्रिने बुहारीहरु त्यो अभिष्ट लिएर आएका छैनन् वा हुँदैनन् भन्ने कसरी विश्वास गर्न सकिन्छ ? त्यसैले त्यस्ता चरित्रहरुलाई रोक्नका लागि यो ठीक छ ।

यस्तै डरको कारण हुनुपर्छ, संसारकै ठूलो मध्येको लोकतान्त्रिक मुलुक भारतमा समेत अन्यत्र मुलुकबाट बुहारी भएर भारत आएकी सोनिया गान्धीलाई राष्ट्रिय राजनीतिमा स्वीकार गरिएन ।

नागरिकता प्रदान गर्दैजाँदा बिस्तारै देश इज्राइल गठनको प्रक्रिया जस्तै टुक्रिने पो हो कि भन्ने ठूलो त्रास रहेको छ । त्यसैले त नेपाल कृषि प्रधान देश भने पनि भूमिमा हदबन्दी लागेको छ । यहाँ धेरै जग्गा समेट्न पाइन्न । यदि नागरिकता विधेयक सजिलो बनाउने र विदेशी नागरिकले नागरिकता प्राप्त गरेपछि जमीन जोड्दै जाने हो भने बिस्तारै भूमि उनीहरुले कब्जा गर्दै जान्छन् । अनि माओवादीले उठाएको स्वनिर्णयको अधिकार प्रयोग गरेर देश टुक्रिदै छिमेकी मुलकभित्र बिलय हुने हो कि त्रास रहन्छ नै । त्यसैले नागरिकता विधेयक कडा आवश्यक हुन्छ नै ।

हाम्रो देशको वर्तमान संविधानले अंगिकृत नागरिकले समेत संसदमा उपस्थिति जनाउन सक्ने गरीको बडो सजिलो प्रावधान बनाएको छ । केही महत्वपूर्ण पद बाहेक सबैतिर अंगिकृतले कब्जा गरेको दिन संविधानले तोकेका केही सीमित पदहरुले मात्र देश जोगाउन सक्छ ? सक्दैन । त्यसैले पनि यस्ता सम्भावित खतराहरु टार्नको लागि नागरिकता प्राप्त गर्ने बाटो अलिक जटिल बनाउन आवश्यक नै छ ।

महिलाहरुमा समस्या

एउटी छोरी, बुहारी भएर नेपाल भित्रिन्छे । यता आउँदा परिवार मात्र छाडेकी हुन्न । त्योसँगै समाज र देश नै त्यागेर आजीवनका लागि यता भित्रिएकी हुन्छे । उताबाट आउँदा ऊ मात्र आउँदिन, त्यहाँको संस्कार र सभ्यता पनि लिएर आएकी हुन्छे । सीप र कला पनि लिएर आएकी हुन्छ । विवाह गर्ने उमेरसम्म उसले जति पनि कुरा सिक्छे, त्यसलाई रोपेर फलाउने बेलामा यता भित्रिएकी हुन्छे । यता आएपछि परिवारले त उसलाई स्वीकार्यो तर नागरिकता नै प्राप्त गर्न नसकेपछि देशले स्वीकार्न नसकेको प्रष्ट हुन्छ ।

ऊ उता पढेकी हुन्छे, सीप जानेकी हुन्छे । आफू केही गरेर देखाउने गरी नै आएकी हुनसक्छे, तर एउटा नागरिकताको कागजको अभावमा न त उसले सवारी चालक अनुमति पत्र पाउन सक्छे, न त उसले क्षमता अनुसारको जागिर खान सक्छे । न त कुनै व्यापार–व्यावसायलाई वैधरुपमा संचालन गर्न सक्छे । केही गर्न नसक्ने गरी बुहारी भएर भित्रिएकी ऊ बच्चा जन्माउने मेसिन र घरेलु मजदुरका लागि मात्र भित्रिएकी हो त ? यसको स्पष्ट उत्तर धेरैसँग नहुन सक्छ ।

कुनै सक्षम बुहारी कतै रोजगार गर्न जान्छे भने कहिलेसम्म उसले अन्य देशका प्रमाणपत्रहरु बोकेर कुदिरहने ? कहिलेसम्म उसले आफू यो देशको नभएर अरु नै देशको भएको महसुस गरिरहने ? ती प्रमाणपत्रहरु हेरेर कहिलेसम्म उसले आफू तिरस्कारमा परेको महसुस गरिरहने ?

सबै विवाह सफल हुँदैनन् । अझ वैदेशिक रोजगारले सिर्जना गर्दै गरेको नयाँ सँस्कृतिले त वैवाहिक संस्थाको आयु लामो हुनै छाडेकै छ । बुहारी भएर आएकी महिलाको पारिवारिक सम्बन्ध लामो हुन सकेन र नागरिकता नबनाइकनै सम्बन्ध बिच्छेदन भयो भने उनको अवस्था के हुन्छ ? यो प्रश्न अलिक जटिल छ ।

भारत नै फर्किन् ती महिला भने कुरा सकियो । फेरि परिवार र देशले स्वीकार्ला या जेसुकै गरोस्, हाम्रो देशवालाहरुकोे टाउको दुखाइ कम होला । तर सदाका लागि आएकी उनले यो देश छाड्न चाहिनन् भने उनको जीविकोपार्जनको स्थायी समस्या कसरी समाधान होला ? सम्बन्ध बिच्छेदनपछि प्राप्त अचल सम्पत्ति कसरी उनको नाममा रहन सक्ला ? सम्बन्ध बिच्छेदन गरेर बसेकी उनको नागरिकतामा कसले सनाखत गरिदिएर बनाइ देला ? वैद्य रुपमा व्यापार व्यवसाय वा रोजगारीका लागि अनिवार्य जस्तो लाग्ने नागरिकताको अभावमा त्यो कसरी सम्भव होला ?

बाबुले आमा छाड्दा गर्भमा रहेको सन्तानलाई बाबुले स्वीकार गर्न सकेन भने आमाको नामबाट नागरिकता प्राप्त हुने व्यवस्थाको प्रयोग गरेर त्यो सन्तानले कसरी नागरिकता प्राप्त गर्न सक्ला ? आफूलाई विदेशबाट आएकी बुहारी सम्झिएर समस्याहरुको अनुमान लगाउन थालियो भने उत्पन्न त्रासले घाँटीमा नै सास अड्केला जस्तो लाग्छ ।

उपाय

धेरै देशहरुमा स्थायी बसोबास र नागरिक प्रमाणपत्र गरी दुई किसिमको कागजहरु चलेको देखिन्छ । भारतमा नै पनि रासन कार्ड र नागरिकता दुई प्रकारका प्रमाणपत्रहरु रहेका छन् सायद । यी दुबै प्रमाणपत्रका आआफ्नो क्षेत्र छन् । राजनीतिक पहुँचका लागि नागरिक प्रमाणपत्र अनिवार्य छ । तर अन्य कुनै पनि प्रयोजनका लागि त्यो नभए पनि हुन्छ । जस्तो जमीन जोड्न, व्यापार गर्न, पासपोर्ट बनाउन, सवारी चालक अनुमति पत्र बनाउन, निश्चित तहसम्म जागिर खान ।

एउटा आममान्छेले चाहेका कुरा कति हुन्छन् र ? तिनै त हुन् । परिवार चलाउनु, सम्पत्ति जोड्नु, मनोरंजन गर्नु, उचित शिक्षादीक्षा लिनुदिनु, सके कतै भ्रमण गर्नु, रोजगारीका लागि बाहिर जानु, आदि–इत्यादि ।

हाम्रो देश अन्यत्र जस्तो छैन । यहाँ एउटै मात्र प्रमाणपत्र छ– त्यो हो नागरिकता । हरेक कुरा त्यही नागरिकतासँग गएर जोडिन्छ । जसले गर्दा यो नागरिकताको विषय जहिले पनि ठूलो राजनीतिक मुद्दा बन्छ । जहिले पनि जिल्ला प्रशासन र जनप्रतिनिधिहरुले कमाउने ठूलो स्रोतको रुपमा रहेको छ यो । नागरिकता लाखौं रुपैयाँमा बिक्री वितरण भइरहेको छ । पाउनेले पाएको छैन, नपाउनेले उहिल्यै किनिसकेको छ । नागरिकता पाउन गाह्रो पनि छैन, सर्बसाधारणका लागि सजिलो पनि छैन कहिल्यै पनि ।

देशको सुरक्षाको लागि नागरिकता पाउने तरिका अझ कठोर बनाउँदै लानु नै पर्छ । तर आम मान्छेहरुको सजिलोका लागि राजनीतिक तथा ठूला सरकारी तहमा पुग्न नपाउने गरी दोस्रो तहको सजिलो प्रमाणपत्र जारी गर्न आवश्यक भएको छ । जसले मान्छेको दैनिकी सजिलो बनोस् ।

कुनै यस्तो मध्यममार्गी प्रमाणपत्र आवश्यक छ, जुन प्रमाण–पत्र भएमा देशभित्रका नागरिकलाई नागरिकता हुनु–नहुनुको कुनै महसुस नै गर्नु नपरोस् । त्यसका लागि मान्छेले कुनै भ्रष्टाचार मौलाउने गरी बाटो बिराउनु नै नपरोस् । अर्थात् एउटा सामान्य जीवन बाँच्न चाहानेले नागरिकता नभए पनि जीवन चलाउने सजिलो बाटो भेटोस् । एउटा तहभन्दा माथिको सरकारी संयन्त्रमा पुग्न र कुनै पनि राजनीतिक तहका लागि मात्र नागरिकताको आवश्यकता महसुस होस् ।


हामी देशभित्र विभेदरहित समाजका कुरा गर्छौं, अझ त्यो भन्दा माथि पुगेर आधुनिक साम्यवादका कुरा पनि गर्छौं । यति त्यो तहबाट सोच्ने हो भने पृथ्वीमा जन्मिएका हरेक जीवको यो धर्तिमाथि उत्तिकै हक छ । अनि बाँच्न र भोग्न पाउने अधिकार पनि उत्तिकै छ । संचालन र स्वाभिमानका लागि सीमा कोरिएका थुप्रै देशहरु जस्तै मात्र न हो हाम्रो देश पनि । त्यसका लागि हाम्रो भूमिभित्र बाँच्न आएका, संघर्ष गर्न आएका, वैधरुपमा आएका, यही जन्मिएका हरेक मान्छेको जीवन सजिलोका लागि नागरिकता भन्दा अलग्गै एउटा प्रमाण–पत्र बनाओस् सरकारले । जसले त्रासरहित, भयरहित, प्रेमपूर्वक, श्रद्धापूर्वक यस भूमिलाई स्वीकार गर्न सकोेस् र पृथ्वीबासीका रुपमा बाँच्ने अधिकार प्राप्त भएको अनुभूति गर्न सकोस् । [email protected]
 

ताजा खबर