भूमिगत जीवनमा बाँसको चुङ्गेमा पिसाब फेरेका कमरेडलाई एक युवा नेताको चेतावनी

२०७७ असार १४ आइतबार १४:०४:०० मा प्रकाशित

धेरै सोचें मनमनै चिन्तन मनन गरें पटक्कै चित्त बुझेन । अनि थोरै ओकल्न मन लाग्यो ।

म ०३४ सालमा इलाम सदरमुकाम माध्यमिक तहको शिक्षा लिन आएँ । उ बेला मलाई अलिअलि वामपन्थी बिचारले प्रभावित पारिसकेको थियोे । कमरेड रत्न वान्तवा, अगम वान्तवा र अन्य केही अगुवा नेता कमरेडहरुको सम्पर्कमा आइसकेको थिएँ । कक्षा ८ मा आदर्श माविमा अध्ययन गर्न शुरु गर्दा बुर्जुवा शिक्षा नपढ्ने, जसले सर्टिफिकेट लिएको छ उसले नि च्यातेर राजनीतिमा लाग्नुपर्छ भन्ने बिचारले निकै प्रभावित पारेको थियोे । उसैबेला कमरेड रत्नको हत्या भयो । ०३६ को आन्दोलन, निर्दल र बहुदलका बीचमा बहस शुरु भयो । मार्कसिट च्यात्ने विषयले बिस्तारै कोल्टे फेर्यो ।

माक्र्सवाद–लेनिनवाद, राजनीतिक स्वतन्त्रता र पार्टी स्वतन्त्रताका बीचमा बहस छलफल हुँदै अघि बढियो । नेताहरू भूमिगत, गरिबी र अशिक्षाले जकडिएको पहाडी जिल्ला । यस्तो अवस्थामा राजनीतिक बिचारले जनताको मन जित्न निकै कठिन थियोे । बिस्तारै पार्टी खुला भयो । निर्वाचनको माध्यमबाट सरकारमा जाने र जनताका समस्या समाधान गर्ने नीति बमोजिम मेरो आस्था र भरोसाको पार्टी अहिले सरकारमा छ । सरकार चलाएको २ वर्ष बितिसकेको छ । पूर्ण बहुमतको सरकार छ । जनताले सरकार र नेताहरूबाट ठूलो आशा नराखेका होइनन् ।

तर नेताहरूले के बुझ्न जरुरी छ भने हिजो तपाईं भूमिगत समयमा बास बसेका गरीबका झुपडीमा कुनै परिवर्तन आएको छैन । पछिल्लोपटक मत माग्दै हिँड्दा तपाईंले बोल्नु भएको कुरा र उ बेलाको पार्टीको घोषणा–पत्र एकपटक स्मरण गर्नु होला । उ बेला भूमिगत बस्ता दिनभर गरीब किसानको घरको सबैभन्दा सुरक्षित ठाउँमा बसेर माटोको भाडा र बाँसको चुङ्गेमा पिसाब फेरेर आफुले फ्याक्न बिर्सेर हिँडेका घरका सुरेस कमरेड र माल दाई (पार्टी नाम) पनि लौरो टेकेर धमिलो आँखाले तपाईंको बिकासे भाषण पूरा होला कि भन्दै पर्खिरहनु भएको छ । जेठा दाइ र सोनाम कमरेड स्वर्गबास भइसक्नु भयो तर तपाईंलाई फेरि मत माग्न आउँदा मात्रै थाहा होला भनेर अहिले सूचना दिएको छु ।

अहिले सांसद हुँदै सरकारमा मन्त्री भए पछि तपाईंहरुलाई पढाउने कस्तो प्रशिक्षक छ ? तपाईंले मार्कसिट च्यात्न लगाएका कमरेडहरु अहिले बाँचेका जति गाउँमा परिश्रम गरिरहेकै छन् । तपाईं तिनै गरिब जनताको मत लिएर नेता हुनुभएको छ । अहिले तपाईंको यो सान कहाँबाट आयो जहाँ तपाईंको उपस्थिति बिगतको राजाको भन्दा कम छैन । अहिलेसम्म पनि सामन्तवादी सोच समाजबाट हटिसकेको छैन । तपाईंहरुलाई कसरी बढी आलोचित बनाउन सकिन्छ भनेर दाउ हेरि हेरि योजना बन्छन् । सचेत रहनु होला । दिएको जति सबै लिने त्यति उत्तम होइन । दिनेले दियो भनेर जे पायो त्यही लिनु चाहिँ हुन्न ।

तपाईंहरुको भाषण र अन्तरवार्ता सुन्दा शीर निहुरिन्छ । अब त जनतालाई जवाफ दिने ठाउँ पनि राखिदिनु भएन । अलि अलि आशा र भरोसा राखेको नेतालाई चाप्लुषी र चाटुकारले सिध्याउनै आँटेको देखिन्छ । राष्ट्र र जनताका लागि काम गर्ने उत्साह बोकेका नेतालाई आफैं भित्रबाट घेराबन्दीमा पारेर च्यापेको बुझिन्छ ।

हिजो बैज्ञानिक र प्रगतिशील शिक्षा हुनुपर्छ भन्ने बिचार आज जन्तरमन्तरमा जानू भनेको कि जन्तरमा प्रतिरोधात्मक क्षमता हुनुपर्छ कि तपाईंमा भएको द्वन्दात्मक भौतिकवादमा आएको पलायन हो कि त कोरोनाले तपाईंको सातो उडाएकै हुनुपर्छ । नत्र पार्टीको स्थायी समितिको बैठकमा जन्तर लगाई दिन ुर बाँड्नुको अर्थ के हुन सक्ला ? तपाईंले हामीलाई दिनु भएको प्रगतिशील र वैज्ञानिक शिक्षा यहि जन्तर जस्तै फु मन्तर हो त ?

एउटा कुरा याद हुनुपर्छ जन्तरे नेताज्यूलाई ०३७ र ०३८ सालतिर इलामको महमाईमा तपाईंलाई पखाला लागेर सिकिस्त भएको समयमा गाउँले किसानले टुनामुना गरेर मेलको अमिलो खुवाएर बचाएको थियोे । तपाईंका ती फोहोर कपडा हामीले माइखोलामा लगेर धोएर ल्याएका थियौं । पछि तपाईं स्वस्थ बन्नु भयो र टुनामुना गर्ने धामी दाईलाई धन्यवाद दिँदै मेलको अमिलोको पूर्ण बिबरण लिनु भएको थियोे । हेक्का राख्नु होला ।

अनि पद र प्रतिष्ठा पाएँ भनेर पिलासमाथि सुटबुट कसेर टेवलमाथि उभिएर सलामी लिँदैमा गतिलो नेता बनिदैन, यो त सामन्तवादको अवशेषले भरिएको दिमाग हो । तपाईंलाई मतदाताले धिक्कार्ने छन् । अन्तर्राष्ट्रिय कम्युनिस्ट नेताहरूबाट नि सिक्नु होला । तपाईंहरुको आडम्बरले हामी पार्टी पार्टी भन्दै हिँड्ने कार्यकर्तासँग तपाईंहरुको हर्कत लुकाउने कुनै कुना बाँकी  छैन ।

आजलाई यति नै । (नेकपा इलाम जिल्लाका नेता गोपाल नेपालले उनको फेसबूकमा पोष्ट गरेको सामग्री हो यो)
  
 

ताजा खबर