जालो बनाउने कीरा लाग्दा स्याउ फलेन, किसान चिन्तित

२०७७ असार १४ आइतबार ०८:३६:०० मा प्रकाशित

सिमकोट। यसपालि बारीमा लटरम्म फल्नुपर्ने स्याउ नफलेपछि किसानहरू चिन्तित भएका छन् । स्याउका बोटमा दाना लाग्नलागेका बेला जालो बनाउने कीरा (गबारो) लागेपछि स्याउ नफल्दा किसान चिन्तित भएका हुन् ।

बारीमा ३५० बोट स्याउ लगाउनुभएका सिमकोट गाउँपालिका वडा नं. ४ का अगुवा किसान जङ्गबहादुर शाहीले स्याउ राम्रो नफलेको बताउनुभयो । स्याउबाट राम्रो कमाइ गर्नुहुने शाहीले अमिलो स्वादका स्याउबाहेक अन्य बोटमा स्याउ दुई-चार दाना मात्र फलेको देख्दा चिन्ता थपिएको बताउनुभयो । स्याउबाट वार्षिक पाँचदेखि सात लाख कमाइ गर्ने शाहीलाई यसपाली कमाइ नहुने चिन्ता लागेको छ ।  

यता सिमकोट गाउँपालिका वडा नं. ६ का शक्तिसिंह रावतले कुनै पनि बोट स्याउका दाना नलागेको र बोटमा कीरा मात्र देखिएको बताउनुभयो । स्याउबाट राम्रो कमाइ गर्ने रावतलाइ बोट हेर्दा पनि वाक्क लाग्न थालेको छ ।

फूल फुल्दा राम्रोसँग फुलेका बोट हेर्दा यसपालि स्याउ राम्रो फल्ने विश्वास लिनुभएका शाहीले अहिले खाली बोट देख्नुपरेकाे छ । गाउँपालिका र कृषि विकास कार्यालयमा उपचारका लागि खबर गर्दा पनि कुनै सुनुवाई नभएको गुनासो उहाँले गर्नुभयो । यो पीडा हुम्लाका दुई प्रतिनिधि मात्रको मात्र नभएर सबै स्याउ किसानको रहेको छ ।

जिल्लाभरिका स्याउमा जालो लगाउने कीरा लागेको जिल्ला कृषि विकास कार्यालयमा प्रमुख चन्द्रभुषण झाले बताउनुभयो । जिल्लाभित्र स्थलगत रुपमा जाँदा पनि सबैतिर स्याउका बोटमा उक्त कीरा लागेको बताउँदै प्रमुख झाले उपचार पनि कठिन भएको बताउनुभयो ।

हुम्लामा ५४० हेक्टर जमिनमा स्याउ खेती गरिएको छ । यहाँ रेड, गोल्डेन डेलिसिय, चक्लेटी, जोनाथन जातका स्याउका बोटहरू लगाइएको कार्यालयले जनाएको छ ।
(गोरखापत्र अनलाइनबाट)

ताजा खबर