वर्षासँगै विपद्को जोखिम बढ्दो

२०७७ असार १४ आइतबार ०८:२३:०० मा प्रकाशित

सुर्खेत। वर्षाको सुरुवातसँगै बाढीपहिरो आउने क्रम सुरु भएको छ । बाढीपहिरोबाट व्यापक धनजनको क्षति पुगेको छ । विपद्लाई समयमै न्यूनीकरण गर्नसके क्षति कम गर्न सकिन्छ ।

सडक अवरुद्ध
हुम्ला समाचारदाताका अनुसार सडक सञ्जाल नजोडिएको हुम्ला जिल्लामा आन्तरिक रूपमा सञ्चालन हँुदै आएका सडकहरू अवरुद्ध भएका छन् । भारी वर्षाका कारण आधा दर्जन स्थानमा पहिरो गएर सडकमा क्षति पुगेपछि यातायात सेवा अवरुद्ध भएको हो । खार्पुनाथ यातायात प्रालिका सवारीचालक सिङ्गम भण्डारीले वर्षाका कारण पहिरो जाँदा सिमकोट–खार्पु खण्डको सडकमा गाडी सञ्चालन गर्न नसकिने जानकारी दिनुभयो ।
सडक निर्माण गर्ने सिमकोट गाउँपालिका, हिल्सा–सिमकोट सडक आयोजना र पूर्वाधार विकास कार्यालयले मर्मतका लागि चासो नदेखाएको यातायात व्यवसायीको गुनासो छ । पूर्वाधार विकास कार्यालयका प्रमुख देवी ऐडीले अवरुद्ध सडक खुलाउनका लागि कामदार लगाइएको बताउँदै मेसिन प्रयोग नगरेसम्म अवरुद्ध सडक सुचारु हुन समस्या हुने उल्लेख गर्नुभयो । सो क्षेत्रमा हेलिकप्टरबाट ढुवानी गरेका जिप र ट्याक्टर चल्दै आएका छन् ।

आउजाउमा कठिनाइ
जाजरकोट समाचारदाताका अनुसार अविरल वर्षाका कारण विभिन्न स्थानमा आएको बाढीपहिरोले बस्तीहरू जोखिममा परेका छन् । सडकहरूमा पनि क्षति पु¥याएको छ । वर्षाले जाजरकोट–डोल्पा सडक खण्डको ठाँटी बजारमा सडक बगाउँदा दुई दिनसम्म यातायातका साधन अवरुद्ध भए । भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले अविरल वर्षासँगै आएको पहिरोले दर्जनभन्दा बढी बस्ती र सडक जोखिममा परेको बताउनुभयो ।
जिल्लाका ग्रामीण सडकहरु पनि अवरुद्ध हुँदा आवागमन ठप्प भएको छ । नेपाल रेडक्रस सोसाइटीका सभापति हरि बस्नेतले बाढीपहिरोले क्षति पुगेका ठाउँबाट त्रिपाललगायत सामग्रीको माग बढेको बताउनुभयो । जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले वर्षा अत्यधिक हँुदा सडक, बालीनाली, जमिनमा धेरै क्षति पुगेको बताउनुभयो ।

असारे विकासले जोखिम
दैलेख समाचारदाताका अनुसार बजेट सक्ने बहानामा दैलेखमा रातारात उपभोक्ता समिति निर्माण गर्ने र डोजर चलाएर मोटो रकम सक्ने विगतको परम्पराका कारण अधिकांश ग्रामीण बस्ती बाढीपहिरोको जोखिममा परेका छन् । बजेट सक्ने हतारोमा रातारात सम्झौता गर्ने विगतको परम्परा स्थानीय सरकारले समेत निरन्तरता दिएपछि अहिले प्रत्येक दुर्गम गाउँमा खनिएका सडकका कारण बाढीपहिरोको जोखिम बढ्दै गएको छ ।
अघिल्लो आर्थिक वर्षमा दैलेखका ९० वडामा ९८ वटा डोजर प्रयोग भएका थिए । मापदण्डविपरीत खनिएका सडकले विपत्ति निम्त्याइरहेका छन् । भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले डोजरले निर्माण गरेका सडकका कारण बस्तीसमेत जोखिममा पर्ने र बाढी, भूक्षयजस्ता प्राकृतिक विपत्ति आउने भएकाले अघिल्लो वर्षबाट ‘युवा स्थापित र डोजर विस्थापित’ नारा अघि सारेको बताउनुभयो । नारायण नगरपालिका प्रमुख रत्नबहादुर खड्काले भूक्षय हुने र नदीमा बाढीको आयतन बढेर कटान गर्ने क्रम बढेकाले त्यस्तो काम आफूहरूले नगर्ने बताउनुभयो ।

तयारी अवस्थामा
वीरेन्द्रनगर समाचारदाताका अनुसार सुर्खेतमा वर्षात्का कारण बाढीपहिरोजस्ता प्राकृतिक विपद्को जोखिमबाट बच्न र बचाउनका लागि सरोकारवाला निकायहरू पूर्वतयारी अवस्थामा रहेका छन् । प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले प्रतिकार्ययोजना बनाउन यसअघि नै जारी गरिसकिएको र सरोकारवालासँग छलफल गरेको बताउनुभयो । उहाँले बासिन्दालाई पूर्वसूचना दिने, बाढीपहिरो गए तत्काल खटिन सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको र थप आवश्यक सामग्री खरिद गर्ने काम भएको जानकारी दिनुभयो । अहिले पनि सडकमा पहिरोका कारण अवरुद्ध भइरहेकाले तत्काल पन्छाएको उहाँको भनाइ छ ।
सिम्ता गाउँपालिकाका अध्यक्ष कवीन्द्र केसीले विपद् जोखिम न्यूनीकरण समितिमार्फत छुट्टै कोष बनाएको बताउनुभयो । वीरेन्द्रनगर नगरपालिकाका कार्यवाहक प्रमुख मोहनमाया ढकालले इत्राम र खोर्के खोलाका आसपासमा रहेका बस्ती र पहिरोको जोखिममा रहेका ठाउँमा सचेत गराउने, एसएमएसमार्फत सूचना दिने काम गरिएको बताउनुभयो ।

सामनाको तयारी
जुम्ला समाचारदाताका अनुसार स्थानीय सरकारले प्राकृतिक प्रकोपको समेत तयारी गर्न थालेका छन् । अहिलेसम्म जुम्लामा बाढीपहिरोले असर पु¥याएको छैन । तथापि स्थानीय सरकारहरूले प्रकोप व्यवस्थापन कोषलाई सक्रिय बनाएका छन् । कोरोना महामारी रोकथामका लागि भिन्नै र प्राकृतिक प्रकोप व्यवस्थापनका लागि आठदेखि १० लाख रुपियाँ विनियोजन गरिएको बताएका छन् । पातारासी गाउँपालिकाले १० लाख रुपियाँ प्रकोप व्यवस्थापनका लागि बजेट विनियोजन गरेको छ । तिला गाउँपालिका, तातोपानी गाउँपालिकाले समेत १०÷१० लाख रुपियाँ बजेट छुट्याएका छन् । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जिल्लाका सबै स्थानीय सरकारले कोष खडा गरेर रकम विनियोजन गर्ने काम भइरहेको र अब बैठक बसालेर योजनाअनुसार अगाडि बढ्ने जानकारी दिनुभयो ।

कारक नयाँ सडक
कालीकोट समाचारदाताका अनुसार कालीकोटका विभिन्न ठाउँमा नयाँ खनिएका सडकका कारण पहिरोको जोखिम बढिरहेको छ । स्थानीय सरकारले सडकलाई प्राथमिकता दिएर स्काभेटर लगाएर सडक निर्माण गरेका ठाउँमा पहिरो जाने क्रम बढेको छ । सान्नीत्रिवेणी गाउँपालिका–९, मेहेल्लेमा खनिएको सडक पहिरोले पुरिएको छ । खेतीयोग्य जमिनको बीचैबाट स्काभेटरले सडक खनेपछि जमिन नै पहिरोमा परिणत भएको हो । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले विकासका नाममा विस्तार भइरहेका सडकले पहिरोको जोखिम बढाएको बताउनुभयो । उहाँले सबै ठाउँबाट पहिरोले सडकमा क्षति पु¥याएको सूचना आएको जनाउनुभयो ।

विपद् पूर्वतयारी
सल्यान समाचारदाताका अनुसार सल्यानमा वर्षायाममा हुनसक्ने विपद्को पूर्वतयारी गरिएको छ । बाढीपहिरो लगायतका विपद्बाट हुनसक्ने जोखिम आकलन गरी पूर्वतयारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले विषयगत कार्यालय र सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको बताउनुभयो ।
उहाँका अनुसार स्थानीय तहलाई सम्भावित जोखिम क्षेत्रको पहिचान र सूचीकरण गर्न भनिएको छ । दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले खोला किनारमा बाढी र ग्रामीण क्षेत्रमा पहिरो जोखिम रहेको बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले विपद् प्रतिकार्ययोजना बनाएको छ । खोला किनारमा रहेका बस्ती जोखिममा रहने भएकाले सतर्कता अपनाउन सूचित गरिएको छ ।
(गोरखापत्र अनलाइनबाट)

ताजा खबर