एनटीएका खेलाडीले दुई अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दोमा भाग लिने

२०७७ असार १४ आइतबार ०८:०८:०० मा प्रकाशित

काठमाडौं । नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए)का खेलाडीले दुई अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दो प्रतियोगितामा भाग लिने भएका छन् । दुवै प्रतियोगिता पुम्से विधामा हुनेछ ।

जुलाई ७ देखि १० तारिखसम्म हुने प्रथम मलेसिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो इस्पोर्ट्स च्यालेन्जमा ७ खेलाडीले विभिन्नि स्पर्धामा प्रतिस्पर्धा गर्ने एनटीएका अध्यक्ष अशोक खड्काले जनाएका छन् । प्रवीण श्रेष्ठले ९ वर्षमुनि, भिजन तामाङले ११ वर्षमुनि, प्रगति कुइकेलले १४ वर्षमुनि, अस्मिता नगरकोटीले १७ वर्षमुनि, चन्दु शाही र पुष्पप्रसाद गौतमले ३९ वर्षमुनि तथा मधुसूदन सापकोटाले ४० वर्षमाथि स्पर्धामा खेल्नेछन् ।

त्यस्तै, अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीको आयोजनामा हुने आईओएफटीसी लकडाउन कोभिड–१९ अनलाइन भिडियो च्याम्पियनसिपमा ५ खेलाडीले सहभागिता जनाउनेछन् । मेलिना राई र प्रगति कुइकेलले १२–१४ वर्ष, अस्मिता नगरकोटीले १५–१७ वर्ष, चन्दु शाही र पुष्पप्रसाद गौतमले १८–३० वर्ष र मधुसूदन सापकोटाले ४१–५० वर्ष उमेरसमूहमा आफ्नो कौशल प्रदर्शन गर्नेछन् । प्रतियोगिता जुलाई १२ देखि १८ तारिखसम्म हुनेछ ।

खेलाडीलाई कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा, कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिका अध्यक्ष रामप्रसाद पुडासैनी, समाजसेवी अमरचन्द्र बोहरालगायतले एक कार्यक्रमबीच सफलताका लागि शुभकामना दिएका थिए ।

सो अवसरमा मेयर थापाले पदक विजेता खेलाडीलाई नगरपालिकाले नगदसहित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेको अध्यक्ष खड्काले बताए । दुवै प्रतियोगितामा खड्काले निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।
(राजधानी दैनिकबाट)

ताजा खबर