नागरिकता विधेयक र राजु सदाको मृत्युको विरोधमा जनकपुरमा लगातार चौथो दिन प्रदर्शन

२०७७ असार १४ आइतबार ०६:५७:०० मा प्रकाशित

संघीय सरकार र प्रदेश सरकारका पछिल्ला कदमहरुको विरोध गर्दै नेपाली काँग्रेसको भातृ संगठन तरुण दल धनुषाले जनकपुरमा लागातार चौथो दिन प्रदर्शन गरेको छ । विदेशी बुहारीलाई ७ वर्षपछि मात्र प्रावधान सहितको नागरिकता विधेयक, कोरोना नियन्त्रण तथा रोकथाममा ढिलाई, प्रादेशिक अस्पताल जनकपुरमा उपचार नपाएर राजु सदाको मृत्यु भएको विरोधमा तरुण दलले शनिबार जनकपुरमा सिटी जुलुश प्रदर्शन गरेको हो ।

‘विभेदकारी नागरिकता बिधेयक खारेज गर, राजु सदा को हत्यारा लाई कारबाही गर, जनकपुर प्रादेशिक अस्पताल लाई भ्रस्टाचार मुक्त गर लगायतका नारा लगाउँदै जनकचोकबाट सुरु भएको जुलुस भानुचोकमा कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै तरुण दल धनुषाका उपाध्यक्ष राकेश विक्रम साहले संघीय सरकारले नेपाल भारतबीचको रोटीबेटीको सम्बन्ध तोड्न संघीय सरकारले नागरिकता विधेयक ल्याएको बताए ।  

‘हजारौ वर्षदेखिको रोटीबेटीको सम्बन्ध बिगार्न मधेसीलाई लक्षित गरी संघीय सरकाले भारतबाट आएको बुहारीलाई ७ वर्षपछि अंगीकृत नागरिकता दिने विधेयक ल्याएको छ । यो विधेयक अबिलम्ब फिर्ता लिनुपर्छ,’ उनले भने । उपचार नपाएर प्रादेशिक अस्पताल जनकपुरमा राजु सदाको मृत्यु भएको घटनाको निष्पक्ष छानविन गरी मेसु लगायतका जिम्मेवार व्यक्तिलाई तुरन्त कारबाही हुनेपर्ने समेत उनीहरुको माग छ । ‘यहाँ कोही भोकै सीमामा मर्छन् कोही उपचार नपाएर अस्पतालमा मर्छन । प्रदेश सरकारले जनताको सानोतिनो काम समेत गर्न सकेको छैन । अधिकारको कुरा गरेर जनतामा द्धन्द सिर्जना गर्न खोजेका छन्,’ उनले थपे ।  

नेपाल विद्यार्थी (नेवि) संघकी केन्दिय्र सदस्य ममता महतोले भारतबाट बिहे गरेर आएकी बुहारीलाई ७ वर्षपछि अंगीकृत नागरिकता दिनु कुनै हालतमा स्वीकार्य नहुने चेतावनी दिइन् । सरकारले यो विधेयक तुरन्त फिर्ता नलिए आन्दोलन झन चर्काउने नेविसंघ धनुषाका अध्यक्ष सुजित मिश्रले चेतावनी दिए । उनका अनुसार आइतबार जनकपुरमा महिला संघले सिटी जुलुश प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । उनीहरुले हातमा कालोपट्टी बाँधेर प्रदर्शन, पुत्ला दहन, चक्काजाम लगायका कार्यक्रम गरी सरकारको विरोध जनाउदै आएका छन् ।
(नागरिक न्युजबाट)

ताजा खबर