‘बाम गठबन्धनले खतरनाक उदेश्य बोकेको छ’

चुनावको तयारी कस्तो हुँदैछ ? 

हाम्रो पार्टीका साथीहरुसँग भेटघाट शुरु भएको छ । यस्तै केही ठाउँमा यहाँका टोलवासीहरुले बोलाएका छन् र उहाँहरुसँगको अन्तरसंवाद छलफल निरन्तर भइरहेको छ ।

टिकट बितरणमा धेरैको असन्तुष्टि देखियो, पक्षपात भयो भन्ने पनि सुनियो  के भएको हो ?

 नेपाली कांग्रेसको लामो इतिहास छ, यो पुरानो पार्टी हो । यसमा धेरै त्याग तपस्या गरेका कार्यकर्ताहरु छन् । धेरैजना टिकट पाउने सम्भावना भएका र टिकट पाएर जित्ने सम्भावना भएका व्यक्तित्वहरु हुनुहुन्छ यसमा । त्यसले गर्दा जसलाई टिकट नदिएपनि समस्या यहाँ देखिन्छ । तर त्यो सँगसंँगै नेपाली कांग्रेसले आफ्नो मान्छे होइन भनेर कसैलाई पन्छाएको छैन । कुनै सम्भावना भएका साथीहरुलाई पनि आफ्नो होइन भनेर पाखा लगाएको छैन ।  नेपाली कांग्रेसको मान्छे जसले साँच्चै नै त्यो ठाउँमा जित्न सक्छ,जसलाई जनताको राम्रो समर्थन छ भने त्यस किसिमका क्षमतावान् कार्यकर्तालाई निर्विवाद रुपमा टिकट दिने प्रचलन हुनुपर्छ भन्ने मलाई लाग्छ । अब टिकट बितरणलाई लिएर यो तेरो मान्छे र उ मेरो मान्छे भनेर भाग लगाउन थालियो भने त्यसले चाहि पार्टीलाई धेरै पछि पुर्याउँछ ।

भागबण्डाले त नेपाली कांग्रेसमा परम्परागत गुट अझै पनि जिवीतै छ जस्तो देखिन्छ नि ? 

अब एउटा तर्कसहित विवेक सहित निर्णयहरु गरियो भने त्यसले विवाद कम ल्याउँछ । यसमा धेरै कार्यकर्ता धेरै नेताहरु छन् । अरुको पार्टीका भन्दा हाम्रो पार्टीमा धेरै भिन्नता छ । तर अब आफ्नै मान्छे भनेर गरिन्छ र आफ्नै गुटको मान्छे भनिन्छ भने त्यसले असन्तुष्टी बढाउँछ ।

बाम गठबन्धनले कांग्रेसको परम्परागत पकड माथि कस्तो असर गर्ला, यसलाई कसरी मूल्याङ्कन गर्नु भएको छ ? 

मलाई के लाग्छ भने, बाम गठबन्धन अहिले यसको मूल समस्या के भने हामीले मूल लोकतान्त्रिक शासन जस्ता प्रणालीहरु स्वीकारेका छौं । अब त्यसकै खिलाफमा बाम गठबन्धन भयो । संविधानको मूल भावनामाथि बाम गठबन्धनले खेलवाड गर्न खोज्यो । लगभग ७० वर्षको लामो संघर्ष पश्चात नेपाली जनताले लोकतन्त्रमा आधारित मूल राजनीतिक शासन प्रणाली अँगालेका छन् । यो सार्थक मान्यता हो । त्यसका विपरित जुन बाम गठबन्धन खतराबोधक छ ।  लोकतान्त्रिक प्रणालीकै मार्ग बदलियो भने देश फेरि अर्को द्वन्दमा , षडयन्त्रमा फस्छ । अहिले के देखिन्छ भने अधिनायकवाद तर्फ जाने खतरा बढेको छ । अहिले बामगठबन्धनको जुन मोर्चाबन्दी भयो त्यसले अधिनायकवादको खोजी गरेको देखिन्छ । नेपाली जनताले कहिले पनि अधिनायकवादलाई स्वीकार्दैनन् । जनता लोकतान्त्रिक शासन प्रणाली नै चाहन्छन् । यही नै सर्बस्वीकार्य भैसकेको छ ।

कांग्रेसको अन्य दलहरुसँग चुनावी तालमेलको सम्भावना कत्तिको छ ? 

नेतृत्वहरुले बसेर गर्ने गरिरहनुभएको छ । त्यसमा आ–आफनो हैसियत अनुसार बसेर गर्दा ठीक हुन्छ जस्तो मलाई लाग्छ । 

 कांग्रेसले गोरखामा नयाँ शक्ति पार्टीका नेता बाबुराम भट्टराईलाई सहयोग गर्ने कुरा पनि आइरहेको छ, के यो सत्य हो ? 

यो राजनीतिको सम्भावनाकै खेल हो । मैले पहिले पनि भनिसकें जुन परिस्थितिको उपज भएको छ त्यो परिस्थितिलाई सम्हाल्नको लागि नयाँ परिस्थितिसँग जुध्नका लागि नेपाली कांग्रेसले रणनीतिगत निर्णय गरेको हो ।

तपाईँको निर्वाचन क्षेत्रको हालखवर कस्तो छ ? 

यहाँका जनताले नेपाली कांग्रेस र मलाई जिताउनु हुन्छ भन्ने मलाई बिश्वास छ किनभने विगतमा हामीले राम्रो र असल कामहरु गरेका छौं जस्तो मलाई लाग्छ । यहाँका जनताले दुई पटक मलाई विश्वासको मत दिएर संविधानसभामा पठाउनु भएको थियो । हामीले संविधान निर्माणमा हामी जित्छौं भनेर भनेका थियौं त्यसैले संविधान लिएर आएका छौं । हामीले स्थानीय समस्याहरुलाई पनि समाधान गर्ने भरमग्दूर प्रयास गरेका छौं । राष्ट्रिय रुपमा पनि केही प्राप्तिहरु हाम्रो क्षेत्रले गरेको छ । बिशेष गरेर दश वर्षभित्र हामीले धेरैलाई रोजगारी दिन सक्छौं भन्ने कार्यक्रम ल्याएका   छौं । म मन्त्री भएको बेलामा पनि यस्ता बिभिन्न कार्यक्रमहरु गरिएको थियो र त्यसलाई धेरै जनताले रुचाएका पनि छन् । त्यसले गर्दा यो क्षेत्रमा मैले चुनाव जित्छु भन्ने विश्वास छ ।

नेपाली कांग्रेसमा संस्थागत भन्दा पनि व्यक्तिगत शैलीमा निर्वाचनको प्रचार प्रसार गर्ने देखिन्छ नि ?

यसमा पार्टीका सबै साथीहरु लाग्नुहुन्छ त्यसैले हामी संस्थागत रुपमा नै अगाडि बड्छौं । व्यक्तिगत भन्दा पनि हामीले चुनावी मुद्धाहरुको विषयमा लड्ने हो । मैले चुनावी मुद्धाहरुको विषयमा नै लड्ने हो । मैले चुनावमा मतदातासँग भेट्न जाँदा विगतमा आफूले गरेका कामहरुको लेखाजोखा गरेर बताउँछु । मेरो यो एउटा परीक्षा हो र यो परीक्षामा मात्र होइन मैले सधैं नै जनतालाई भगवान मान्छु । जनताले जे निर्णय गर्नुहुन्छ मलाई त्यो स्वीकार्य छ । मैले आजसम्म गरेका कामहरुले जनतामा कस्तो प्रभाव पारेको छ भन्ने कुरा पनि यही परीक्षामा थाहा हुन्छ ।

बामगठबन्धन र नयाँ खुलेका दलहरुले काठमाडौंमा बिशेष फरक पर्ला जस्तो देखिन्छ नि ? 

यसमा धेरै फरक पर्छ भन्ने मलाई लाग्दैन । काठमाडौंका जनताले लोकतान्त्रिक शासन प्रणाली छाडेर बाम शासन प्रणाली ल्याउँछन् भन्ने सोचै नराखे हुन्छ । यो स्थानीय निर्वाचनको बिषय नै होइन । अहिलेको समय र स्थानीय निर्वाचनको समयमा एकदमै भिन्नता छ ।

तपाईँ काठमाडौं महानगरपालिकाको उपमेयर भैसक्नुभएको नेता हो,महानगरको नयाँ नेतृत्वको भूमिकालाई कसरी मूल्याङकन गर्नुहुन्छ ?

मेयर भएपछि उहाँले आफ्नो भूमिका नै धेरै देखाउन सक्नुभएको छैन । मैले उहाँको भूमिकालाई कसरी मूल्याङकन गर्ने । पहिला राम्रोसँग आफ्नो काम हेर्नुपर्यो र भूमिका निभाउन सक्नुपर्यो नी ।

अन्त्यमा, युवापुस्ताका मतदाताहरुलाई तपाईंको केही भन्नु छ कि ? 

मलाई लाग्छ हामी अहिले युवापुस्ताले चाहेको जस्तो राजनीति गर्ने प्रयासमा छौं । हामी अहिले युवाहरुले चाहेको जस्तो समाज निर्माण र राष्ट्र निर्माण गर्ने सोचहरुले अगाडि बढिरहेका छौं । म युवापुस्ता प्रति पनि धेरै आशावादी छु । युवा पुस्ताले चाहेको पनि शुद्ध राजनीति हो र मलाई लाग्छ म त्यहि मान्यताको लागि राजनीतिमा काम गरिरहेको छु ।  
प्रस्तुति : सुकृत नेपाल 

 
 


 


 

ताजा खबर