‘खानेपानीको अभावमा चिउराले छाक टार्थ्यौं’

२०७४ कार्तिक १३ सोमबार ०७:५५:०० मा प्रकाशित

दोलखा, १३ कात्तिक । पिउने पानीको अभावमा कहिले सिँचाइ कुलाको पानी र सुख्खा चिउरा खाएर जीवन गुजारा गर्ने दोलखा मिर्गेका भञ्ज्याङबासीहरुले अहिले सफा पिउने पानी पाएका छन् ।

दोलखा जिल्ला बैतेश्वर गाउँपालिका ४ साविक मिर्गे गाविस भञ्ज्याङका बासिन्दाहरु अहिले आफ्नै गाउँमा पिउने पानी पाएर निकै खुशी भएका छन् । भञ्ज्याङका हरिबहादुर दाहाल पिउनेपानीको निकै दुःख भएको भञ्ज्याङमा यार्सा गैरीधारा खानेपानी तथा सरसफाइ कार्यक्रम सम्पन्न भएपछि स्थानीय बासिन्दा निकै खुशी भएको बताउँछन् ।

‘वर्षाको बेला सिँचाइ कुलाको पानी खानुपथ्र्यो, खानेपानी उपभोक्ता समूहका अध्यक्षसमेत रहेका हरिबहादुरले भने, ‘पानीको अभावमा कहिलेकाहीँ त सुख्खा चिउरा खाएर पनि छाक टा¥यौँ ।’ 

सुख्खायाममा बस्तीभन्दा तलको ठुलोखोलाबाट पानी ल्याएर खाने गरेको दःखेसो अध्यक्ष दाहालले सुनाए । डेढ घण्टा टाढाबाट पानी ल्याएर खानुपर्दा गाउँलेलाई निकै सास्ती भएको उनले बताए । उनले भने, ‘सेवक नेपालले खानेपानी योजना बनाइदिएपछि हाम्रो दुःखका दिन सकिएका छन्, अहिले हामीलाई स्वर्ग छ ।’

खानेपानीको दुःख हरिबहादुरलाई मात्रै हैन भञ्ज्याङका ३० घरधुरीलाई थियो । ‘खोलाको पानी २ घण्टा लगाएर ल्याउनुपथ्र्यो, सफा पनि हुँदैनथ्यो’, भञ्ज्याङकी शोभा नेपालीले भनिन्, ‘अहिले पानीको लागि आनन्द भाको छ, आँगनमै धारा छ ।’

पहिलापहिला घरदेखि टाढा पानी लिन जाँदा खाना पकाउन ढिलो हुँदा छोराछोरीहरुलाई स्कुल पठाउन ढिलो हुने गरेको भञ्ज्याङकै उषा दाहालले बताइन् । उनले भनिन्, ‘तर अहिले पानी मनग्गे चलाउन पाइएको छ, बच्चाहरु बेलैमा स्कुल जान पाउँछन् ।’

सिँचाइ कुलो र खोलाको पानी  लागि ल्याएर खाँदा मौसमी रोगका सिकार भएका उनीहरुमा अहिले त्यस्तो रोगको कमी देखिएको छ । ‘पहिला सफा खानेपानी नहुँदा खोलो र सिँचाइको पानी खान्थ्यौँ, त्यतिबेला रुघाखोकीले सताइरहन्थ्यो, अहिले रुघाखोकी त्यति धेरै लाग्दैन ।’ भञ्ज्याङकै निर्मला दाहालले भनिन् ।

सेवक नेपालको सफा पानी कार्यक्रम अन्तर्गत ८ लाख ६२ हजार ९ सय ५८ रुपैयाँको लागतमा आयोजना निर्माण भएको हो । आयोजनामा स्थानीयको १ लाख २४ हजार ८ सय ३९ रुपैयाँ लगानी रहेको छ ।

त्यसैगरी सेवक नेपालले मिर्गेकै ढाडे खोल्मेमा समेत खोनेपानी आयोजना सम्पन्न गरेको छ । मुधान बैशाखेश्वरी खानेपानी आयोजना सम्पन्न भएपछि २१ घरधुरीका ११५ जना लाभान्वित भएका छन् ।

  आयोजना बन्नुअघि डेढ घण्टा टाढाको मुसुरेडाँडाबाट पानी बोक्नुपर्ने बाध्यता रहेको उपभोक्ता समितिका कोषाध्यक्ष मानबहादुर खत्रीले बताए । ‘सुख्खा मौसममा गाईवस्तुलाई खुवाउन पानीको अभाव हुँदा पानी चोर्नसमेत बाध्य भयौँ, ठुलोपाताल लगेको पानी लहरेमानेमा राती १२ बजे चोथ्र्यौँ ।’ उनले विगत सम्झँदै भने, ‘अहिले आँगनआँगनमा पानी छ, राती ढुक्कले सुत्न पाइएको छ ।’

खानेपानीको हाहाकार भएको मिर्गेको भञ्ज्याङमा सेवक नेपालले सफा पानी कार्यक्रम अन्तर्गत यार्सा गैरीधारा खानेपानी तथा सरसफाइ आयोजना तथा मुधान बैशाखेश्वरी खानेपानी आयोजना सञ्चालन गरेपछि त्यहाँका बासिन्दालाई खानेपानीको सुविधा पुगेको हो । अमेरिकी अन्तर्राष्ट्रिय सहयोग विकास नियोग, युएसएडको सहयोगमा सञ्चालित आयोजनाबाट भञ्ज्याङका ३० घरधुरीका १६३ जना लाभान्वित भएको सेवक नेपालका कार्यक्रम अधिकृत प्रह्लाद तिमिल्सिनाले जानकारी दिए ।

दोलखामा सेवक नेपालले विभिन्न गाउँपालिकामा गरी २६ वटा खानेपानी आयोजना सम्पन्न गरेको छ । 
 

ताजा खबर