यो हो चञ्चल मनको लगाम

२०७७ असार १३ शनिबार १३:११:०० मा प्रकाशित

मन वाचाल छ । मन चञ्चल छ । मन सबैको बसमा हुँदैन । मन मान्दैन, मनको कुरा सुन्न पर्छ । मनले मागेको गर्नुपर्छ । मन सबैथोक हो । मन केही पनि होइन । मनको कर्म नै ठूलो हो । मन नै सबैथोक हो । मन पराउनु पर्छ, मन पराउनु हुँदैन जस्ता शब्द हाम्रो दैनिक जीवनमा प्रयोगमा आइरहने शब्द हुन् । वास्तवमै यो मन बाँदर प्रवृत्तिको हुन्छ । यसको गति मापन गर्न सकिने खालकै हुँदैन । यो मन हाम्रा सबै ज्ञानेन्द्रियसँग जोडिएको हुन्छ । यसको सम्पर्कमा नआउन्जेल कुनै कर्म नै बन्दैन । जस्तो खानको लागि मात्र खाने, आँखाले हेर्नको लागि मात्र हेर्ने, सुँघ्नको लागि मात्र सुँघ्ने, छुनको लागि मात्र छुने सुन्नको लागि मात्र सुन्ने गरियो भने वास्तवमा मनसम्म कुनै कुरा पुग्नै सक्दैन र कुनैपनि संस्कार मनले बनाउन सक्दैन र सबै संस्कारको परिणाम भोग्नबाट मानिस बञ्चित रहन्छ । जसले गर्दा उ कुण्ठारहित अवस्थामा रहन सक्छ । यसैलाई उहिलेका पण्डितजीहरुले बैकुण्ठबास होस् भनेर आशिर्वाद दिएका होलान् ।

मनलाई जित्न सक्ने व्यक्तिले संसारका सबै लडाइसँग विजय प्राप्त गर्न सक्छ । डाइजिनिसले अलेक्जेन्डरले जड बन्, जो त संसार जित्ने यात्रामा निस्केको छस्, यसबाट तैंले घृणा द्वेष र अहंकार बाहेक केही जित्दैनस् । चप्पल देखाउँदै भन्छन् यो चप्पलको एक कुना हो यसलाई दबाइस् भने अर्को कुनोले टाउको उठाउनेछ । त विश्व विजेता बन्न एक कुनामा जीत हासिल गर्लास् तर अर्कोकुनामा तेरा विरुद्ध त्यतिकै आवाज उठ्नेछ । त्यसैले यो हारको जीवन भन्दा जड भएर यहि म बसेको ढुंगामा बस् । तेरा सबै मानसिक क्रियाकलापमा विजय पाइस् भने तैंले संसार उपर विजय पाउनेछस् । यहि शिक्षाले अलेक्जेन्डरले मर्दा मेरा हात कफिन बाहिर नै राख्नु ताकि लोकले देखोस् कि मैले मरेपछि साथमा केही पनि लगेको छैन । यो भाव महान अलेक्जेन्डरमा पनि आएको थियो । मुक्त अवस्थामा पुगेर मरे वा मरेनन् त्यो भने उनै जानुन् । 

शरीर शुद्ध गर्नुपरेमा स्नानको विकल्प छैन । त्यस्तै मनको शुद्धि वा मनको आहार भनेको सम्यक ध्यान नै हो । ध्यानका अनेक विधि हुन सक्छन्, छन् । तर, सम्यक ध्यान होकी हैन भन्ने कुरा त्यसले दिने फलको आधारमा विचरण गरिनु पर्छ । मानिसहरु मुक्तीको नाममा अनेक अभ्यास गरेर बसेको पाइन्छ । तर, मुक्ती हुन्छ कि हुँदैन भन्ने कुराको जानकार व्यक्ति हुन सक्दैन । सम्यक साधनाले हामीलाई तत्काल फल दिन्छ र हाम्रा खराब कर्म संस्कारबाट छुटकारा दिलाएको हुन्छ । कर्म संस्कार मन र शरीर दुवैबाट हुनसक्छ । तर, कुनै कुरा बोल्न वा गर्न मनले नै आज्ञा दिने भएको हुँदा शरीरको कर्म पनि मनकै कर्म हुन जान्छ । जुनसुकै काम गर्दा पनि मनमा कस्तो कुरा (चेतना) उठेको छ त्यसको परिणाम त्यसैले निर्माण गर्ने संस्कारमा निर्भर गर्दछ । संस्कार निर्माण हुँदा जस्तो हामीले चिया खायौं, चिया खाँदा कि मीठो मानेर खायौं भने रागको संस्कार निर्माण हुँदै जान्छ । अब मनले त्यस्तै स्वाद भएको चिया मागिरहन्छ । यो सामान्य उदाहरण मात्र हो । मनमा दुइ किसिमका संस्कार बन्दछन् । एक राग र अर्को द्वेष । रागको क्षेत्र भनेको आसक्तीको क्षेत्र हो भने द्वेषको क्षेत्र घृणा, इष्र्या, आरिश लगायतको कुराको क्षेत्र पर्छ । हाम्रो दुःखको कारण केवल नितान्त रुपमा हामी बाहेक अन्य कोही हुन सक्दैन । हामीलाई लाग्छ मेरो लोग्ने ठीक भइदिएको भए मेरो सारा जीवन सफल हुने  थियो । मेरा छोराछोरी ठीक भएका भए राम्रो हुने थियो वा छिमेकी राम्रो भइदिएको भए बसाइ राम्रो हुने थियो । यी सब बकबास कुरा मात्र हुन् । यस्ता कुराबाट हामीलाई नै अशान्त बनाउने बाहेक केही हुँदैन । हाम्रा कर्म संस्कार जो हामीले विगतका जीवनमा वा दिनमा निर्माण गरेका थियाँै, तिनैका कारण आज हामीले छिमेकको व्यवहार खराब पाएका हाँै वा छोराछोरी नराम्रो गुणवेत्ता भएका पाएका हौं वा हामीले लोग्ने स्वास्नी त्यस्ता पाएका हौं ।

हामी सबै एउटा गल्ती गर्छौँ । त्यो हो । आफुभित्र र आफु निकटका सबैतिर आफ्नो एउटा मूर्ती निर्माण गर्ने र गराउने कोशिस गरेका हुन्छौं । त्यो मूर्ती भनेको म यस्तो म उस्तो, फलानोको छोरो यस्तो उस्तो भन्ने कुराको आधारमा निर्माण हुने कुरा हो । जब मूर्ती ढल्छ अनि दुःख निर्माण भइहाल्छ । मनको वृत्ति बुझ्नको लागि दुःख आर्य सत्य बुझ्नु पर्छ । भगवान बुद्धले आफ्नो जीवनकालमा संसारमा दुःख छ, दुःखको कारण छ, दुःख निवारण हुन्छ र दुःख निवारण गर्ने उपाय छ भन्ने चार आर्यसत्य भन्दा बाहिर गएर केही कुरा बोल्नु भएन । हामी आफ्ना पाण्डित्यपूर्ण कुराले अरुलाई आफुले बुझेको भाषाअनुसार बुझाउन अनेक धारणा बनाएर भएपनि कुरा गर्छँौै तर सत्य त सत्य नै हुन्छ । यो कारण पनि मन नै हो । चार आर्यसत्य नबुझुन्जेल हामी अविद्याको शिकार हुन्छौं । जब ४ आर्यसत्य बुझिन्छ तब मुक्ती नजिक छौं भन्ने कुरा हाम्रो मनले नै पुष्टि गर्छ । धम्मपदमा भनिएको छ– मनोपुब्बङ्गमा धम्मा, मनो सेठ्ठा मनोमया । मनसा चे पटुठ्ठेन भासित वा करोतिवा । ततो नं दुख्खमन्चेति, चक्कं व वहतो पदं अर्थात मन सबै धर्म प्रवृत्तिको अगुवा हो, मन नै प्रधान छ, सबै धर्म मनोमय छ, जब कुनै व्यक्तिले आफ्नो मनलाई फोहर बनाएर वा मैलो बनाएर बोल्छ वा व्यवहार गर्छ अनि दुःख उसको पछाडि गोरुको खुट्टा पछि–पछि गाडाको पाङ्ग्रा झँै पछि लाग्छ । त्यसैले मनको स्वभावलाई सही मार्गमा लैजानको लागि क्षणप्रतिक्षण सजग हुन सिकाउने काम वेदले गरेको हो, भगवद् गीताले गरेको हो, त्यस्ता सबै ग्रन्थले गरे जो स्वयंवेदनबाट निस्के । सम्यक साधनाबाट निस्केको कुरा कल्याणकारी हुन्छन् ।

विपश्यना साधना यस्तो साधना हो, जसले हामीलाई जन्ममरणको चक्रबाट अनुभूतिको स्तरले छुटकारा दिन सक्ने मार्ग दिन्छ । शुद्ध चित्त निर्माण गर्नको लािग विकार रहित मन हुनु आवश्यक हुन्छ । विकार रहित हुनको लागि शुद्ध धर्मको अभ्यास गर्नुपर्छ । धर्म भनेको न हिन्दु हो न बुद्धिष्ट हो, न त कुनै अन्य सम्प्रदाय नै हुन् । धर्म भनेको मनले धारण गरेको स्वभाव हो । अहिलेको क्षणमा मनमा जे कुरा छ मनले धारण गरेको धर्म त्यही  हो । चित्तलाई पुनित गर्ने कामलाई पुण्य भनिन्छ । चित्त भनेको मन हो । मनलाई पूण्यमयी बनाउनको लागि अरुको भलाईमा आफ्नो भलाई हुन्छ भन्ने भाव ल्याउन जरुरी हुन्छ । त्यो भाव आउन तपस्याको आवश्यकता  पर्छ । यसरी लेख्दा कसैलाई एक सम्प्रदायबाट अर्को सम्प्रदायमा आउनको लागि लालायित बनाउनको लागि होइन ।

हाम्रा गुरुज्यू तथा अनेक साधक साधिकाहरुका अनुभवबाट देखिन्छ । स्वयं पूज्य गुरुज्यू सत्यनारायण गोयन्काको माइग्रेन जो प्रत्येक पन्ध्र दिनमा आक्रमण गथ्र्यो र मोर्फिया लिनुहुन्थ्यो । त्यस्ता कठिन दिनबाट वहाँ बाहिर निस्किनु भएको थियो । यो भनिरहन राम्रो त होइन तर पनि हामीले हाम्रो जीवनलाई सामान्य भन्दा सामान्य समस्याबाट घनघोर अनकन्टार अवस्थामा पुर्याएको हुँदा त्यस्तो मनको अवस्थाबाट बाहिर निस्किनको लागि यो विपश्यना साधना सम्यक साधना हो । मन शुद्ध राख्नको लागि शिल, समाधि र प्रज्ञा यी तीनै कुराको अनिवार्य अभ्यासबाट मात्र सही तरिकाले मन शुद्ध हुने रहेछ भन्ने कुरा आफुले बुझेको छु र अरुलाई पनि बुझ्नको लागि प्रयत्न गर्नको लागि पनि यो विचार प्रस्तुत गरेको हो । यति लेख्दै गर्दा अरुले गरेको साधनाप्रति कुनै वैरभाव नराखी, द्वेष भावना राखेको छैन । सबैको मंगल होस् ।  (पेशाले कानून व्यवसायी जोशी विपश्यनाका नियमित साधक हुन्)

ताजा खबर