लिभरपुल इंग्लिश प्रिमियर लिगको च्याम्पियन

२०७७ असार १३ शनिबार ०९:५९:०० मा प्रकाशित

काठमाडौँ । लिभरपुलले इङ्गलिश प्रिमियर लिगको उपाधि हात पारेको छ । बिहीबार राति सम्पन्न प्रिमियर लिगको खेलमा चेल्सीले म्यान्चेष्टर सिटीलाई हराउँदा लिभरपुल उपाधि हात पार्न सफल भएको हो ।

जर्जन क्लोपको लिभरपुललाई एक मात्रै खेलमा जित हात पारे उपाधि सुनिश्चित हुने थियो । तर म्यान्चेष्टर सिटीले चेल्सीसँग हार बेहोर्दा लिभरपुललाई समात्न नसक्दा उसले उपाधि जित्न सफल भएको हो । सन् १९८९–१९९० पछि लिभरपुलको यो पहिलो प्रिमियर लिग उपाधि हो । लिभरपुलले उपाधि जितेको यो १९ औँ अवसर पनि हो ।

लिभरपुलले उपाधि जितेसँगै एनफिल्डमा हजारौँ समर्थक जम्मा भएर बधाई आदानप्रदान गरे । एनफिल्डका मेयरले भने घरमै बसेर खुशीयाली मनाउन गर्नुभएको आव्हानले समर्थकलाई रोक्न सकेन ।

लिभरपुलका गोलकिपर एलिस्सन, डिफेन्डर भर्जिल भान डाइक र मीडफिल्डर एलेक्स अक्सलैड चैम्बरलैन सिटी र चेल्सीबीचको खेलपछि सँगै बसेर खुशीयाली मनाए । सन् १९७३ देखि १९९० को बीचमा लिभरपुलले ११ पटक उपाधि हात पारेको थियो ।

लिभरपुलले जारी संस्करणमा ३१ खेलमध्ये २८ मा जित हात पारेर ८६ अङ्क बटुलेको छ । दुई वटा बराबरी र एक खेलमा उसले हार बेहोरेको छ ।
(गोरखापत्र अनलाइनबाट)

ताजा खबर