११ दिनमै उठ्यो २४ अर्ब बढी राजस्व, सबैभन्दा धेरै आयकर

२०७७ असार १३ शनिबार ०९:२७:०० मा प्रकाशित

काठमाडौं । बन्दाबन्दी (लकडाउन) खुकुलो भएसँगै राजस्व संकलन तीव्र भएको छ । आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष समाप्त हुने अन्तिम महिना असारका ११ दिनको अवधिमा मात्रै २४ अर्ब बढी राजस्व संकलन गरेको छ । तीन महिनाको लगातारको लकडाउनका कारण अत्यन्तै न्यून राजस्व संकलन भएको थियो । तर, सरकारले लकडाउन खुकुलो गरेलगत्तै राजस्व उठ्ने क्रममा वृद्धि भएको हो ।

विभागका अनुसार १–१२ असारसम्म कुल २४ अर्ब २२ करोड राजस्व संकलन भएको छ । जसमध्ये आयकरतर्फ १२ अर्ब ६२ करोड, अन्तःशुल्कतर्फ ३ अर्ब ८ करोड र मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ ८ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

कुल राजस्व संकलन : २४ अर्ब २२ करोड रुपैयाँ
आयकरतर्फ : १२ अर्ब ६२ करोड
अन्तःशुल्कतर्फ : ३ अर्ब ८ करोड
मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ : ८ अर्ब १६ करोड
शिक्षा र स्वास्थ्य सेवा कर : ३६ करोड

यस अवधिमा जम्मा भएको २४ अर्ब २२ करोड राजस्व मध्ये आयकर, अन्तःशुल्क र मूल्य अभिवृद्धि कर (भ्याट)बाट गरी जम्मा २३ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन भएको हो भने अन्य बाँकी ३६ करोड रुपैयाँ शिक्षा सेवा र स्वास्थ्य सेवा करबापत संकलन भएको विभागले जनाएको छ ।

सरकारको गत ७ असारभित्र कर तिर्न दिएको पछिल्लो अल्टिमेटमलाई सर्वोच्च अदालतले खारेज गरिदिएको थियो । तर, सर्वोच्चले दिएको यस्तो मौकाका बाबजुद पनि करदाता एवं सेवाग्राही व्यवसायीले असारको बितेका ११ दिनमा २४ अर्ब २२ करोड रुपैयाँ राजस्व खातामा दाखिला गरिदिएर सरकारलाई संकट परेको बेला सारथी बनिदिएका हुन् ।

विभागका महानिर्देशक विनोदबहादुर कुँवरले १ असारबाट लकडाउन केही खुकुलो भएसँगै सेवाग्राही एवं व्यवसायीले स्वःस्फूर्त रूपमा धमाधम राजस्व बुझाउन थालेकाले छोटो समयमा धेरै राजस्व संकलन भएको बताए । निजी क्षेत्रले आफ्नो जिम्मेवारीअनुसार समयमै राजस्व बुझाएर सरकारलाई राम्रो साथ दिएको र यो सरकारका लागि गौरवको विषय भएको महानिर्देशक कुँवरको भनाइ छ ।

निजी क्षेत्र तथा व्यवसायीले आफ्नो जिम्मेवारीअनुसार समयमै राजस्व बुझाएर संकटको बेला सरकारलाई राम्रो साथ दिएका छन्, यो सरकारका लागि गौरवको विषय हो ।
विनोदबहादुर कुँवर, महानिर्देशक, आन्तरिक राजस्व विभाग

महानिर्देशक कुँवरले अहिलेसम्मको राजस्व उठ्तीको अवस्था हेर्दा विभागले असारमा राजस्व उठाउन लिएको लक्ष्य पूरा हुने दाबी गरे । आन्तरिक राजस्व विभागले चालु आवको असारमा करिब ८२ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको थियो । अहिलेसम्म उठेको राजस्वले असार महिनाको लक्षित राजस्व सजिलै पूरा हुने विभागका महानिर्देशक कुँवरको दाबी छ ।  ‘अहिले आम करदाताले स्वस्फूर्त रूपमा राजस्व तिरिरहेका छन् त्यसैले सरकारलाई सहयोग मिलिरहेको छ,’ कुँवरले राजधानीसँग भने ।

अहिले मुलुकमा कोरोना भाइरस संक्रमणको दर उच्च देखिएको छ । शुक्रबारसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या ११ हजार सात सय ५५ जना पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या २७ जना पुगिसकेको छ । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने उच्च जोखिमका बाबजुद पनि अहिले सेवाग्राही आपूmले बुझाउनुपर्ने राजस्व तिर्न विभिन्न कर कार्यालय पुगिरहेका छन् । विगत तीन महिनाभन्दा बढी समयदेखि आफ्ना व्यवसाय बन्द गरी लकडाउनले घरमा थुनिएका व्यवसायीले लकडाउन खुकुलो भए पनि अझै राम्रोसँग व्यापार÷व्यवसाय गर्न सकिरहेका छैनन् । सरकारले उनीहरूलाई कुनै राहत पनि दिएको छैन तर पनि व्यवसायीहरूले आफ्नो दायित्वअनुसार उत्साहका साथ कर बुझाइरहेका छन् ।

लामो लकडाउनका कारण देशको ढुकुटी सकिनै लाग्दा व्यवसायीले तिरेको करले पुनः ढुकुटी भरिन थालेको छ । ढुकुटी सकिन लाग्दा सरकारलाई दैनिक खर्च सञ्चालनमा समेत समस्या पर्न थालेको थियो तर व्यवसायीले समयमा नै कर तिरेपछि सरकारलाई दैनिक कार्य सञ्चालनमा राम्रो सहयोग मिलेको हो ।

– सरकारको सारथी बन्दै व्यवसायी 
– लकडाउन खुकुलो भएसँगै राजस्व संकलन उत्साहजनक

अहिले सर्वाेच्च अदालतले सहज अवस्थामा मात्र कर तिरे हुने गरी फैसला गरिदिए पनि सरकारले कर तिरेर सहयोग गर्न गरेको आग्रहप्रति व्यापारीले निकै सकारात्मक रूपमा सहयोग गरेको विभागले जनाएको छ । विभागका उपमहानिर्देशक मुक्ति पाण्डेले अहिले निकै उत्साहजनक रूपमा राजस्व संकलन भइरहेको बताए ।

पाण्डेका अनुसार अहिलेसम्म उठेको राजस्वमध्ये आयकरको योगदान सबैभन्दा राम्रो देखिएको छ । त्यसपछि मूल्य अभिवृद्धि कर (भ्याट) र तेस्रो स्थानमा अन्तःशुल्कको योगदान रहेको छ । उद्योगमा उत्पादित मदिरा कारखाना बाहिर निस्किएको भए अन्तःशुल्कमा ठूलो योगदान हुन्थ्यो । तर, त्यो हुन नसक्दा मदिराबाट उठ्ने अन्तःशुल्क अपेक्षाकृत रूपमा उठेन ।

विभागले लकडाउनयता करिब ६५ अर्ब ९६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । विभागले चालु आवमा कुल ४ खर्ब ८६ अर्ब राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।
(राजधानी दैनिकबाट)

ताजा खबर