शशिको गीतमा कालापानी अतिक्रमणको पीडा

२०७७ असार १३ शनिबार ०९:२२:०० मा प्रकाशित

काठमाडौं । गायक शशिविक्रम थापाले नालापानी र कालापानी अतिक्रमित हुनुको पीडालाई गीतमा उतारेका छन् । उनले राष्ट्रप्रेमले भरिएको गीत नालापानी दुख्यो साथी कालापानी दुख्यो…गीत दर्शक श्रोतामाझ ल्याएका हुन् । गीतलाई जानकी बज्राचार्यले लेखेकी हुन् ।

यो गीतमा पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ । काठमाडौंमा एक भेटघाट कार्यक्रमबीच गायक थापाले यो गीत सार्वजनिक गरेका छन् । सामाजिक दूरी कायम गर्दै यो गीतलाई वरिष्ठ नाट्यकर्मी एवं कलाकार मदनदास श्रेष्ठ, नेपाली कांग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्का, कलाकार प्रभाकरदेव शर्मालगायतले सार्वजनिक गरे ।

कालापानी, लिपुलेख, लिम्पियाधुरा र सुस्तालगायतका क्षेत्रमा छिमेकीद्वारा मिचिएको सिमानाका विषयमा तयार गरिएको गीतको भिडियो पनि सोही क्रममा सार्वजनिक गरियो । यस्ता गीतले नेपालीमा एकता र देशप्रेमको भावना जागरुक गराउने कलाकार मदनदासले बताए ।

भिडियोको निर्देशन गायक शशिविक्रम थापाले स्वयंले गरेका छन् । जसमा प्रेम शर्मा पौडेलको सम्पादन, केशव अधिकारीको छायांकन छ भने भिडियोमा गीतकार जानकी बज्राचार्यसँगै बुद्ध श्रेष्ठ, बलराम कार्की, प्रकाश खत्री, विक्रम आचार्य, नवराज मैनालीलगायतको अभिनय रहेको छ ।
(राजधानी दैनिकबाट)

ताजा खबर