बहुला कुकुरले टोकेको गाई, भैंसी र खसी मर्न थाले

२०७७ असार १३ शनिबार ०९:०२:०० मा प्रकाशित

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ जुडिबेलामा रेविज रोगेको बहुला कुकुरले टोकेको कारण बस्तुभाउ मर्न थालेका छन् । २८ दिनअघि बहुलाहा कुकुरको टोकाईबाट रेबिज लागेका स्थानीय नारायण थापाका भैंसी, तेजा चौधरीको गाई र बेद बहादुर कार्कीको खसी मरेको हो । स्थानीय रामशरण चौधरीको गाईसहित १० बस्तुभाउलाई एकै दिन सो क्षेत्रमा बहुलाहा कुकुरले टोकेको थियो ।

बहुला कुकुरको टोकाईबाट बस्तुभाउको मृत्यु हुन थालेपछि स्थानीय त्रसित बनेका छन् । भैंसीलाई कुकुरले टोकेपछि स्थानीय यादव खरेल मार्फत भ्याक्सिन लगाएको किसान नारायण थापाले बताएका छन् । उनले सम्बन्धित पक्षले पहल गरी क्षतिपूर्ति दिलाउन समेत माग गरेका छन् । २८ दिनअघि कुकुरले टोकेको भैंसी बिहिबार मरेको थियो । भैंसी मरेपछि थापाका परिवारका ४ सदस्यले रेविजको भ्याक्सिन समेत लगाएका छन ।

यसअघि स्थानिय बेद बहादुर कार्कीको खसी भने कुकुरले टोकेको १२ दिनमै मरेको थियो । केही दिन अघि चौधरीको गाई मरेको थियो । वस्तुभाउलाई सुई लगाएका यादव खरेलले आफूले नगरपालिकाले उपलब्ध गराएका सुई मात्र लगाउने काम गरेको बताएका छन् । यता पशु चिकित्सक खडक मैनालीले भने सबै बस्तुहरुलाई मुखमा नै टोकेको र ब्रेन नजिक परेकोले उपचार गर्दा पनि सुधार हुन नसकेको प्रतिकृया दिएका छन् । मैनालीले पशुपंछि रोग अन्बेषण प्रयोगशाला जनकपुरबाट औषधी ल्याएर भ्याक्सीन लगाएको बताए ।

यता स्थानीय उपचारमा संलग्न खरेलले एक डोज गरुडादेखि ल्याएर उपचार गरेको जानकारी दिंंदै यसअघि पनि रेविजले टोकेको उपचारको गरेको तर यस पटक सुधार हुन नसकेको बताए । दुःख गरेर पालेको बस्तुभाउ मरेपछि किसानहरु चिन्तित देखिएका छन् । बहुलाहा कुकुरलाई भने सोही दिन गाउँलेले मारेका थिए । रेविजको सुई लगाउदा समेत भटाभट बस्तुभाउ मरेपछि यसको उपचारमा समेत शंका उत्पन्न भएको छ ।
(राजधानी दैनिकबाट)

ताजा खबर