राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक पक्राउ

२०७७ असार १३ शनिबार ०८:३०:०० मा प्रकाशित

नेपालगन्ज : नेपालगन्जमा रहेको राष्ट्रिय वाणिज्य बैंक त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाही पक्राउ परेका छन्। 

नेपालगन्ज उपमहानगरपालिका–११ का सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढले जग्गाधनी प्रमाणपत्र (लालपूर्जा), ट्रेस, नक्सा, कर तिरेको रसिदलगायतका सरकारी कागजात किर्ते गरी राष्ट्रिय वाणिज्य बैंकलाई झुक्याएर एक करोड २५ लाख रुपैयाँ ऋण लिएको अभियोगमा २७ जेठमा पक्राउ परेका थिए। 

जसगढले मालपोत कार्यालय, नेपालगन्ज उपमहानगरपालिकाको लेटरप्याड, हस्ताक्षर, छाप र प्रमुखको हस्ताक्षरसमेत किर्ते गरेका छन्। मुद्दाको अनुसन्धान गर्ने क्रममा बैंक प्रबन्धक शाहीलाई पनि पक्राउ गरिएको जिप्रका बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिए। 

शुक्रबार नै जिल्ला अदालत बाँकेबाट अनुसन्धानका लागि म्याद थप गरिएको छ। ‘किर्ते सरकारी कागजातका आधारमा ऋण दिँदा बैंक म्यानेजर जिम्मेवार हुने भएकाले पक्राउ गरिएको हो। अनुसन्धान जारी रहेकाले अरुको संलग्नता रहेको वा नरहेको पत्ता लाग्नेछ’, खड्काले भने। 

प्रहरीले अहिले सरकारी कागजात किर्ते गरेको अभियोगमा अनुसन्धान प्रक्रिया अघि बढाएको छ। बैंकिङ कसुरको मुद्दा चल्दा भने बैंकका धेरै अनुसन्धानको दायरामा आउन सक्नेछन्। 

नक्कली धितो बनाएर सुन व्यवसायी जसगढले बैंकबाट दुई करोड रुपैयाँको कर्जा स्वीकृत गराएका थिए। २२ मंसिर, ०७६ मा ५० लाख र २५ जेठ, ०७७ मा ७५ लाख गरी दुई पटकमा गरी एक करोड २५ लाख रुपैयाँ लिइसकेका छन्। थप ऋण लिन नपाउँदै उनी पक्राउ परेका छन्।
(अन्नपूर्ण पोष्टबाट)

ताजा खबर