पर्यटन उद्योग धराशायी

२०७७ असार १३ शनिबार ०८:२१:०० मा प्रकाशित

गुलरिया : पर्यटकले खचाखच भरिने पश्चिम नेपालकै पर्यटकीय गन्तव्य बर्दिया राष्ट्रिय निकुञ्ज अहिले सुनसान छ। प्राकृतिक सौन्दर्यलगायत वन्यजन्तु अवलोकन गर्न आउने स्वदेशी र विदेशी पर्यटकले भरिने यो क्षेत्रमा कोभिड—१९ महामारीका कारण शून्य अवस्थामा पुगेको छ। पर्यटक आउन छाडेपछि पर्यटन उद्योग धराशायी बनेका छन्।

कोरोनाको असर पर्यटन क्षेत्रमा बढी परेको भन्दै बर्दियाका पर्यटन व्यवसायी चिन्तित छन्। ठाकुरद्वाराको पर्यटकीय क्षेत्र तीन महिनादेखि ठप्प छ। निकुञ्ज भित्रका जंगलक्षेत्रको अवस्था पनि उस्तै छ। होटल र रिसोर्टका ढोका बन्द छन्। कर्मचारीलाई घर बिदा दिईएको छ। ठाकुरद्वारास्थित बर्दिया गैंडाक्याम्प रिसोर्टका सञ्चालक रामजी थापाले भने, ‘हामी होटल व्यवसायी त नराम्ररी धराशायी भयौं। तीन महिनाको अवधिमा करिब २० लाख रुपैयाँ बराबरको कारोबार हुन्थ्यो। लकडाउन पछि त कारोबार ठप्प हुँदा आम्दानी पनि शून्य छ।’

कोरोना महामारी रोकथामका लागि गरिएको लकडाउनमा पर्यटन व्यवसायीलगायत धेरैको आय आर्जनको अवसर गुम्यो। उनले थपे,‘अब लामो समयसम्मको अवस्था यस्तै हो। १/२ वर्षसम्म पर्यटक खासै आउँदैनन्। हाम्रो व्यवसाय धरापमा पर्यो।’ साढे १ करोड बैंकको ऋण छ। व्यापार छैन। बैंकले धमाधम ब्याजको ताकेता गरिरहेका छन्। कसरी ऋण तिर्ने हो मानसिक तनाव बढ्न थालेको उनले बताए।

सरकारले पर्यटनसम्बन्धी नीति बनाएरै पर्यटन व्यवसायीको समस्या सम्बोधन गर्नुपर्ने उनको भनाइ छ। बैंकको ब्याजदर घटाएर किस्ता अवधि लम्ब्याइ दिए पनि राहत हुने व्यवसायी बताउँछन्। यतिखेर देशैभरका पर्यटन व्यवसायीको हालत उस्तै छ। कोरोना महामारीका कारण पर्यटकको आवागमन नहुँदा पर्यटकीय गन्तव्य सुनसान छन्। पर्यटन व्यवसायीको मनोवल बढाउन पनि राज्यले नीतिगत रुपमा राहतको प्याकेज ल्याउनुपर्ने व्यवसायीको माग छ।

बर्दियाको प्राकृृतिक गन्तव्य ठाकुरद्वारा क्षेत्रमा २८ वटा पर्यटकीय होटल छन्। पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै करोडौंको लगानीमा खुलेका होटल पनि यतिखेर व्यवसायविहीनको अवस्थामा छन्। बर्दियाको पर्यटन क्षेत्रको करिब ७ अर्ब लगानी कोरोना महामारीले डुबेको थारु होमका सञ्चालक तथा पर्यापर्यटन विकास मञ्च बर्दियाका अध्यक्ष मोहनलाल चौधरी बताउँछन्।

भ्रमण वर्ष लक्षित करोडौंको लगानीमा थपिएका बबई रिसोर्ट, गुन्द्रक, बर्दिया रोयल एडभेन्चरलगायत होटल संकटमा छन्। पर्यटन व्यवसाय चौपट भइरहँदा यहाँका कृषि तथा पशु उपज, स्थानीय बजारलगायत निकुञ्जको राजस्वसमेत प्रभावित बनेको छ। ठाकुरद्वारा क्षेत्रमा होटल व्यवसायमा संलग्न ५ सय जना कर्मचारीको रोजगारी गुमेको छ। यस्तै अवस्था रहे संरक्षण क्षेत्रमा पनि नकारात्मक असर पर्नसक्ने चिन्ता उनको छ। ‘धराशायी बनेका पर्यटन उद्योग प्रर्बद्धनमा सरकारले अहम् भूमिका निभाउनुपर्छ। होटल व्यवसायीका ऋणको ब्याज घटाउँदै किस्ता बुझाउने म्याद थपको व्यवस्था राज्यले मिलाउनुपर्छ’, उनले भने। परिस्थिति सुध्रिएपछि सुलभ ब्याजदरमा पुनर्कर्जाको व्यवस्था भए व्यवसायीले केही हदसम्म राहत महशुस गर्न सक्ने उनी बताउँछन।

कोरोना महामारीले सबैभन्दा बढी पर्यटन क्षेत्रलाई मर्का पारेको छ। सबै होटल बन्द छन्। ‘भोलिका दिनमा कहिलेबाट होटल सञ्चालनमा आउने कुनै निश्चित छैन’, ठाकुरद्वारास्थित जंगल हेवेनका सञ्चालक कृष्णप्रसाद भट्टराईले भने। कोरोनाबाट थलिएको पर्यटन उद्योगलाई उकास्न राज्य संवेदनशील हुनुपर्ने उनको भनाइ छ।

व्यवसायीले निकुञ्जमा थपिएको दस्तुर घटाउनुपर्ने माग गरेका छन्। यसले पर्यटकलाई निकुञ्ज घुम्न आर्कषण गर्न सक्छ। लगानीका लागि लिएको ब्याज तिर्न सक्ने उपाय नभएको व्यवसायी बताउँछन्। सरकारले ब्याज मिनाह गर्ने व्यवस्था मिलाउनुपर्ने उनको भनाइ छ।


सरकारलाई साँचो बुझाउने तयारी

कोरोनाका कारण ठप्प भएको होटल व्यवसायलाई राहत दिन होटल व्यवसायी महासंघले सरकारसँग माग गरेको छ। मुलुकमा ८२ हजारभन्दा बढी होटल व्यवसाय सञ्चालन रहेको र साढे ४ लाखभन्दा बढिलाई प्रत्यक्ष रोजगारी दिइरहेको यो व्यवसायलाई बचाइ राख्न सरकारसँग मागसहित विभिन्न कार्यक्रम संघले सार्वजनिक गरेको छ।

होटल व्यवसाय घरभाडा तिर्नेदेखि व्यवसाय कसरी जोगाउने भन्ने समस्यामा रहेको उल्लेख गर्दै कार्यवाहक महासचिव शेरबहादुर थापाले अहिले घरधनी भाडाका लागि किचकिच गर्ने गरेको बताए। कुल सञ्चालित होटलमध्ये करिब १० प्रतिशत घर भाडामा लिएर सञ्चालनमा छन्। पर्यटन मन्त्रालय, अर्थ मन्त्रालय, पर्यटन बोर्डलगायत सम्बन्धित सरोकारवालालाई बारम्बार लिखित रुपमा माग राख्दा पनि सुनुवाइ नभएको उनले बताए।

अब पनि सरकारले मागको सुनुवाइ नगरे ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालयमा विज्ञप्ति बुझाउने कार्यक्रम महासंघको छ। त्यहाँबाट पनि सुनुवाइ नभए जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने कार्यक्रम छ। त्यहाँबाट पनि सुनुवाइ नभए सरकारलाई व्यवसाय गर्न नसकिने भन्दै साँचो चाबी बुझाउनेसम्मको कार्यक्रम तय भएको थापाले जानकारी दिए।
(अन्नपूर्ण पोष्टबाट)

ताजा खबर