सप्तकोसीको बहाव तीव्र, २६ ढोका खोलियो

२०७७ असार १३ शनिबार ०७:२६:०० मा प्रकाशित

विराटनगर — सप्तकोसी नदीमा पानीको बहाव तीव्र रुपमा बढिरहेको छ । केही दिनयता भइरहेको लगातार वर्षाका कारण कोसीमा पानीको बहाव वृद्धि भएको हो । पूर्वी पहाडी जिल्लामा केही दिनयता लगातार वर्षा भइरहेको छ । तराइका जिल्लामा पनि उस्तै अवस्था छ ।

शुक्रबार मध्याह्न गरिएको मापनअनुसार कोसी ब्यारेज भएर १ लाख ७६ हजार ५ सय ८० क्युसेक पानीको बहाव थियो ।

बिहीबार करिब १ लाख १० हजार क्युसेक पानीको बहाव रहेकामा शुक्रबार वृद्धि भएको कोसी ब्यारेजस्थित नियन्त्रण कक्षले जनाएको छ ।

पानीको सतह बढ्न थालेपछि निकास दिनका लागि ब्यारेजका ५६ मध्ये २६ वटा ढोका खुला गरिएको छ ।

पानीको बहाव लगातार बढिरहेको कोसी ब्यारेजस्थित एक प्राविधिकले बताए । तत्काल कुनै खतराको अवस्था नरहेको भन्दै उनले तर सामान्य भन्दा पानीको बहाव तीव्र रुपले वृद्धि भइरहेकाले सतर्कता अपनाउनुपर्ने अवस्था रहेको जनाए ।
(कान्तिपुर अनलाइनबाट)

ताजा खबर