अधिकांश उद्योग आंशिक सञ्चालनमा

२०७७ असार १२ शुक्रबार ०९:०२:०० मा प्रकाशित

नेपालगञ्ज। सरकारले बन्दाबन्दी खुकुलो बनाएपछि बाँके जिल्लामा रहेका अधिकांश उद्योग आंशिक रूपमा सञ्चालनमा आएका छन् । नेपालगञ्जलगायत जिल्लाका विभिन्न स्थानमा रहेका अधिकांश उद्योगीले कामदारको अभावकै बीच न्यून कामदार र उत्पादनका साथ आंशिक रूपमा आफ्ना उद्योग सञ्चालनमा ल्याएको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बन्दाबन्दी खुकुलो पारिएपछि अवस्था अलिकति सहज बनेकाले आंशिक रूपमै भए पनि २० देखि ३० प्रतिशत कामदार र कर्मचारी बोलाएर उद्योग सञ्चालनमा ल्याएको बताउनुभयो ।

उहाँले अधिकांश उद्योगका दक्ष कर्मचारी भारतीय रहेकाले उनीहरूको अभावमा ३० देखि ४० प्रतिशत मात्रै उत्पादन गरेर भए पनि उद्योग सञ्चालनमा आएको बताउनुभयो ।
सामाजिक दूरीसँगै अन्य स्वास्थ्य सुरक्षाका उपाय अपनाएर बाँकेमा उद्योगलाई आंशिक रूपमा सञ्चालन गरिएको अध्यक्ष मन्सुरीले बताउनुभयो ।

यहाँका उद्योगमा काम गर्ने भारतीय कामदारलाई बोलाएर उनीहरूलाई उद्योगभित्रै क्वारेन्टाइन गरेर काम गर्न लगाउने सहमति जिल्ला प्रशासन कार्यालयमा भएकाले केही दिनमा उद्योगले गति लिने नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव चिरञ्जीवी ओलीले बताउनुभयो । उहाँले भारतीय कामदार बोलाउने पक्रिया सुरु गरिसकिएको पनि बताउनुभयो ।

उता नेपालगञ्ज औद्योगिक क्षेत्रभित्र रहेका सबैजसो उद्योेग सञ्चालनमा आएको नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ ।
औद्योगिक क्षेत्रभित्र रहेका सबै उद्योग सञ्चालनमा आए पनि सामाजिक दूरी र अन्य सरकारी निर्देशनको पालना गर्नुपरेका कारण कामदार निकै कम रहेकाले उत्पादन पनि निकै कम भइरहेको नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख कृष्णबहादुर पुनले बताउनुभयो । उहाँले अधिकांश उद्योगले २५ प्रतिशत कामदार र कर्मचारीको भरमा उद्योगहरू सञ्चालन गरेको र सोही कारणले उत्पादन पनि २५ देखि ३० प्रतिशत मात्रै भइरहेको बताउनुभयो । प्रमुख पुनका अनुसार उद्योगका कामदारलाई औद्योगिक क्षेत्र परिसरभित्रै बस्ने खाने व्यवस्थाका साथै सुरक्षा स्वास्थ्य सामग्री प्रदान गरेर सामाजिक दूरीसहित काममा लगाइएको छ ।

नेपालगञ्ज औद्योगिक क्षेत्र उद्योग विकास सङ्घका अध्यक्ष राजेश मास्केले औद्योगिक क्षेत्रभित्रका सबै उद्योग सञ्चालनमा आए पनि कामदार र उत्पादन दुवै निकै न्यून भएकाले समस्या भइरहेको बताउनुभयो ।
(गोरखापत्र अनलाइनबाट)

ताजा खबर