अब झाडापखालाविरुद्ध बालबालिकालाई ‘रोटा खोप’

२०७७ असार १२ शुक्रबार ०८:५५:०० मा प्रकाशित

काठमाडौं । नेपालमा पहिलोपटक झाडापखालाविरुद्धको ‘रोटा खोप’ सुरु गरिने भएको छ । बच्चा जन्मेको ६ सातामा पहिलो मात्रा र १० सातामा दोस्रो मात्रा दिइने गरी यही असारदेखि नै सो खोप दिन लागिएको हो ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार नियमित खोप अभियानअन्तर्गत रोटा खोप दिइनेछ ।

खोप शाखा प्रमुख डा. गौतमले भने, ‘यो खोप बच्चाहरूलाई मुखबाट दिइन्छ । खोपहरू केन्द्रीय स्टोरबाट प्रदेशमा पठाइसकिएको छ । प्रदेशले जिल्लामा पठाउँछ । केही दिनमै खोप दिइने तयारी छ ।’

चिकित्सकका अनुसार पाँच वर्षमुनिका बालबालिकामा देखिने झाडापखालाको प्रमुख कारणमध्ये रोटा भाइरस एक हो । देशभरका पाँच वर्षमुनिका सम्पूर्ण बालबालिकालाई खोपको पहुँचमा ल्याउन र नयाँ रोगविरुद्धको खोप उपलब्ध गराउने उद्देश्यले सरकारले रोटा भाइरसविरुद्धको खोपलाई नियमित अभियानअन्तर्गत अघि सारेको थियो ।

नियमित रूपमा ११ वटा रोगविरुद्ध निःशुल्क खोप दिइँदै आएकामा अब रोटा भाइरसबाट हुने पखालाविरुद्धको खोप थप गरिएको बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. गौतमले जानकारी दिए ।

बर्सेनि तीन लाख ५० हजार मानिस झाडापखालाबाट प्रभावित हुने गरेको तथ्यांकले देखाएको छ । सरकारले क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुषटंकार, हेपाटाइटिस ‘बि’, हेमोफिलस इन्फ्ल्युएन्जा बी, पोलियो, दादुरा, रुबेला, निमोनिया र जापानिज इन्सेफलाइटिसविरुद्धको खोप तथा गर्भवती महिलाका लागि धनुष्टंकार र भ्यागुते रोगविरुद्धको टिडी खोप मात्रा निःशुल्क उपलब्ध गराउँदै आएको छ । खोप कार्यक्रम सञ्चालनका लागि बर्सेनि तीन अर्ब रुपैयाँभन्दा बढी खर्च लाग्ने गरेको छ ।

२३ र २४ गते भिटामिन ‘ए’ खुवाइँदै
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत दोस्रो चरणको कार्यक्रम आगामी २३ र २४ असारमा सञ्चालन गरिने भएको छ । गत ६ र ७ वैशाखमा सञ्चालन हुनुपर्ने कार्यक्रम बन्दाबन्दीको कारण सचिवस्तरीय निर्णयबाट स्थगित भएको थियो । दोस्रो चरणको कार्यक्रममा ६ महिनादेखि ५९ महिनासम्मका २७ लाख तीन हजार पाँच सय २२ बालबालिकालाई भिटमिन ‘ए’ खुवाउने लक्ष्य राखिएको छ ।

यस्तै, एक वर्षदेखि ५ वर्षसम्मका २३ लाख ९३ हजार एक सय ५२ बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको छ । यस्तै, बालभिटा कार्यक्रम लागु भएका ४१ जिल्लाका ६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई बालभिटा वितरण गरिने पोषण शाखा प्रमुख केदारप्रसाद पराजुलीले जानकारी दिए । यसअघि गत २ र ३ कात्तिकमा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम पहिलो चरणको कार्यक्रम सञ्चालन भएको थियो ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रममार्फत पहिलो चरणमा ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए क्याप्सुल र एकदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि उपलब्ध गराइएको थियो । यस्तै, ६ देखि २३ महिनाका बालबालिकाभलाई बहुसूक्ष्म पोषक तत्व बालभिटा वितरण गरिएको थियो । बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न भिटामिन ए कार्यक्रम महत्वपूर्ण मानिन्छ ।
(राजधानी दैनिकबाट)

ताजा खबर