हल्दीबारी गाउँसभामा तोडफोड, गाउँपालिकाका अध्यक्षकाे समेत संलग्न

२०७७ असार १२ शुक्रबार ०८:३७:०० मा प्रकाशित

झापाको हल्दिबारी गाउँपालिकाको पाँचौं गाउँसभामा तोडफोड भएको छ । सडक नामकरणको विषयमा उत्पन्न विवादमा लिएर नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कार्यकर्ताहरूले गाउँसभा चलिरहेको अवस्थामा गाउँपालिका तोडफोड गरेका हुन् ।

सोही क्रममा दुई जना घाइते भएका छन् । घाइते हुनेमा नेपाली कांग्रेसका गाउँपालिका उपाध्यक्ष गङ्गाप्रसाद प्रसाईं र कांग्रेसकै वडा नम्बर २ का अध्यक्ष भीमराज फ्याक रहेका छन् । तोडफोडबाट गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरी बस्ने कार्यकक्षको सिसा फुटेको छ । गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले समेत टेबल तोडफोड गरेका थिए ।

साविक जलथल गाविस हाल हल्दिबारी गाउँपालिका ३, ४ र ५ जोड्ने सडकको नामकरणको विषयमा स्थानीय दलहरूबीच विवाद शुरू भएको हो । सो सडकको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्व. दोणचार्य क्षेत्री राख्नुपर्ने बताउँदै आएकोमा नेपाली कांग्रेस र राप्रपाले स्व. केशवकुमार कन्दङ्वा राख्नुपर्ने अडान लिएका थिए ।

सडक नामकरणको विषयमा विवाद उत्पन्न भएपछि जेठ ८ गते गाउँपालिकाको कार्यपालिकाको बैठकले जेठ ८ गते गाउँसभाबाटै नामकरण टुङ्गो लगाउनुपर्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम बुधबार दिउँसो गाउँसभा शुरू भएको थियो । गाउँसभा शुरू भएलगत्तै नेपाली कांग्रेस र राप्रपाका कार्यकर्ताहरू भेला भएर सडककै विषयमा ज्ञापनपत्र बुझाउन गाउँपालिका पुगेका थिए ।

गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीले नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गरिरहेका थिए । उपाध्यक्ष गिरीको प्रस्तुत सकिएपछि कांग्रेस र राप्रपाका कार्यकर्ताहरूले अध्यक्ष रवीन्द्र लिङ्देनलाई ज्ञापनपत्र बुझाउन खोजिरहेका थिए । तर, अध्यक्ष लिङ्देनले ज्ञापनपत्र बुझ्न मानेनन्, उनले सडकको नामकरणको विषयमा सभामै कुरा राख्न भनेका थिए ।

ज्ञापनपत्र नलिएको भन्दै नेपाली कांग्रेस र राप्रपाका कार्यकर्ताहरूले सभा बिथोल्दै एक्कासि तोडफोड उत्रिएका थिए । सोही क्रममा नेकपाका कार्यकर्ताले अध्यक्षमाथि आक्रमण गरेका थिए । सोही क्रममा दुवै पक्षबीच झडप हुन पुग्यो ।

गाउँपालिकामा तोडफोड भएपछि सशस्त्र प्रहरी र नेपाल प्रहरी तत्काल घटनास्थल पुगेका थिए । प्रहरीले गाउँपालिकामा कडा सुरक्षा प्रदान गर्दै तोडफोडमा उत्रिएका कार्यकर्ताहरूलाई त्यहाँबाट हटाएर माहोल शान्त बनाएका थिए ।

राप्रपाबाट जितेका हल्दिबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनसहित ६ जना जनप्रतिनिधिले गाउँसभा बहिष्कार गरेका छन् । सडक नामकरणको विषयमा बल्झिएको विवादपछि गाउँपालिकामा तोडफोड भएपछि उनीहरू गाउँसभा बहिष्कार गरेर हिँडेका हुन् । अध्यक्ष लिङ्देनसहित वडा नम्बर ५ का वडाध्यक्ष शेरबहादुर नेम्वाङ, ४ नम्बर वडाध्यक्ष होमप्रसाद चुडाल र अन्य तीन जना वडा सदस्य रहेका छन् ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर