सवारी दुर्घटनाः लकडाउनको अवधिमा मात्रै प्रदेश पाँचमा ६४ जनाको ज्यान गयो

२०७७ असार १२ शुक्रबार ०८:३३:०० मा प्रकाशित

लकडाउनको अवधिमा प्रदेश पाँचमा ६४ जनाले सवारी दुर्घटनामा परि ज्यान गुमाएका छन् ।

कोरोना भाईरस (कोभिड–१९) को संक्रमण भित्रिन नदिनका लागि गत चैत ११ गतेदेखि सरकारले लकडाउन घोषणा गरेको थियो ।

प्रदेश पाँचका १२ जिल्लामा लकडाउन भएको ३ महिनाको अवधिमा २३५ वटा सवारी साधन दुर्घटनामा परेका छन । उक्त दुर्घटनामा परि ३१२ जना घाईते भएको पाँच नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरिक्षक डम्बर बहादुर विक जानकारी गराउनु भयो ।

प्रदेश कार्यालयमा सरुवा भई आउनु भएका प्रहरी उपरिक्षक विक र प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेको रुपन्देहीका पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा उक्त तथ्यांक उपलब्ध गराईएको हो ।

प्रहरीले उपलब्ध गराएको तथ्यांकमा प्रदेश पाँचमा अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षमा दुर्घटनामा परि मृत्यु हुनेको संख्या घटेको छ । चालु आर्थिक वर्षको असारको १० गतेसम्म ४५९ जनाको दुर्घटनामा परि मृत्यु भएको छ ।

अघिल्लो अर्थिक वर्षमा प्रदेश पाँचमा दुर्घटनामा परि मृत्यु हुनेको संख्या ६२३ रहेको थियो भने त्यो भन्दा अघिल्लो वर्ष आर्थिक वर्ष ०७४÷७५ मा ५२० थियो ।

त्यस्तैगरी चालु आर्थिक वर्षमा राजश्व संकलन पनि घटेको छ । ट्राफिक प्रहरीले प्रदेश पाँचमा लकडाउनको अवधिमा मात्रै ६० लाख १७ हजार ५ सय रुपैंया राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षको असार १० गतेसम्म ९ करोड ८४ लाख ७३ हजार रुपैंया राजश्व संकलन भएको छ ।

ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनबाट गत आर्थिक वर्षमा १४ करोड ४१ लाख ९४ हजार ५ सय रुपैंया र आर्थिक वर्ष ०७४/७५ मा १९ करोड ३१ लाख ६ हजार ५ सय रुपैंया राजश्व संकलन भएको थियो ।

अघिल्लो वर्षको तुलनामा राजश्व संकलनमा कमि हुनुमा मुख्य त लकडाउन नै भएको पाँच नं. ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक पाण्डेले बताउनु भयो ।

प्रनाउ पाण्डेका अनुसार लकडाउन अवधिमा प्रदेश भित्र ५० हजार ८९९ वटा सवारी साधन भित्रिएका छन् भने ६७ हजार ८२० वटा सवारी साधन प्रदेशबाट बाहिरिएका छन् ।

त्यस्तै लकडानकै अवधिमा प्रदेश पाँचमा १ लाख ५६ हजार ३७८ जना मानिस भित्रिएका छन् भने २ लाख २३ हजार ३४३ जना मानिस बाहिरिएका छन् ।

त्यस्तैगरी प्रदेश पाँचमा दैनिक सरदर १ हजार ३०५ वटा सवारी साधन प्रवेश गर्ने गरेको र १ हजार ६३२ वटा सवारी साधन बाहिरिने गरेको सूचना अधिकारी पाण्डेले बताउनु भयो ।

त्यस्तै प्रदेशमा दैनिक सरदर ३ हजार ७ सय जना प्रवेश गर्ने गरेका छन् भने ४ हजार ५ सय जना बाहिरिने गरेको उहाँले बताउनु भयो ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर