महानगर काठमाडौं प्लाजामा सर्दै

२०७७ असार १२ शुक्रबार ०८:२१:०० मा प्रकाशित

भवन खालि गर्न ट्रस्टले पठायो दोस्रो पत्र

चार वर्षदेखि भाडाको घरमा बस्दै आएको काठमाडौ महानगरपालिका नेपाल ट्रस्टको स्वामित्वमा रहेको काठमाडौं प्लाजामा सर्ने भएको छ ।

काठमाडौं प्लाजामा कामपा मुख्यालय रहने भएपछि त्यहाँ रहेका बैक वित्तीय संस्था र अन्य कार्यालयलाई समस्या परेको छ । महानगरले जी टु जी (सरकार–सरकारबीच) सम्झौता अनुसार १० वर्षसम्मको लागि सो भवन भाडामा लिन लागेको हो ।

आफ्नो भवन तयार नहुन्जेलसम्म काठमाडौं प्लाजा भाडामा दिने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको छ । वार्षिक करिब ६० लाख ५० हजार रुपियाँ तिर्ने गरी सम्झौता गर्ने तयारी भइरहेको कामपाले जनाएको छ ।

कामपाका सहसचिव राजेश्वर ज्ञवालीले सरकारसँग सम्झौता भएपछि कार्यालय राख्न सहज हुने बताउनुभयो । उहाले भन्नुभयो–‘सम्झौता गर्ने अन्तिम तयारीमा छौं, सम्भmौता भएको दुई महिनामा कार्यालय सार्नेछौं ।’

‘विभिन्न स्थानमा छरिएको विभाग र महाशाखालाई एकै स्थानमा ल्याउन काठमाडौं प्लाजालाई छनोट गरेका हौं ।’ –सहसचिव ज्ञवालीले भन्नुभयो । उहाँका अनुसार नेपाल ट्रस्टको कार्यालयले खालि गराएको दुई महिनामा सबै कार्यालय सार्ने योजना छ ।

कामपाको आफ्नो भवन भूकम्पले क्षतिग्रस्त भएपछि २०७३ सालदेखि चाइना टाउनसँगैको जेडिएको भवनमा सारिएको थियो । सो भवनमा सीमित र अत्यावश्यक सेवा दिने कार्यालय मात्र रहेका छन् । झन्डै एक दर्जन विभाग, महाशाखा र शाखाहरू विभिन्न सरकारी कार्यालयको कोठा भाडामा लिएर सञ्चालन भइरहेको छ ।

ट्रस्टको कार्यालयले यही असार २ गते सार्वजनिक सूचना जारी गरी भवनमा रहेका कार्यालय खालि गर्न आग्रह गरेको छ । नेपाल ट्रस्ट कार्यालयले कन्सेप्ट डेभलपर्स प्रालिलाई १० वर्षसम्मका लागि भाडामा दिएको थियो । यही असार २ गते सम्झौताको अवधि सकिएपछि खालि गर्न पत्राचार गरेको थियो ।

नेपाल ट्रस्टको कार्यालयका प्रवक्ता सहसचिव बाबुराजा श्रेष्ठले पहिलो सूचनाबाट खालि नभएपछि अस्ति बुधबार दोस्रो पत्र काटेको जानकारी दिनुभयो । ‘बुधबार १५ दिने पत्र काटेका छौं, १५ दिनभित्र खालि भएपछि महानगरसँग सम्झौता गर्नेछौं ।’ –श्रेष्ठले भन्नुभयो ।

उहाँले जनताको सेवा गर्ने काठमाडौं महानगरपालिकाको कार्यालय विभिन्न स्थानमा छरिएर रहेको बताएपछि सबै कार्यालयलाई एउटै भवनमा ल्याउन कामपासँग सम्झौता गर्न लागेको जानकारी दिनुभयो । हाल सो भवनमा मुक्तिनाथ विकास बैंकको मुख्यालय, वेस्टर्न युनियन मनी ट्रान्सफर, सिद्धार्थ इन्सुरेन्सलगायतका कार्यालय रहेका छन् ।

कामपाका सहसचिव ज्ञवालीले एउटै छानामुनिबाट करिब ४० लाख जनतालाई सेवा दिन स्थानान्तरण गर्न लागिएको बताउनुभयो । कामपाको आफ्नो भवन नभएपछि मुख्यालयले मासिक १५ लाख रुपियाँ भाडा तिर्दै आएको थियो ।

विभिन्न सरकारी र अन्य कार्यालयमा महानगरको विभाग, महाशाखा र शाखा बसेपछि भाडाबातप मासिक ३० लाख भाडा तिर्दै आएको थियो । सिंहदरबारस्थित जिल्ला सम्वन्य कार्यालयमा कामपाको निजी साझेदारी कार्यक्रमको कार्यालय,जनस्वाथ्य, विपद् व्यवस्थापन, समाजिक विकास विभाग, सूचना प्रविधि महाशाखा रहेका छन् ।

त्यस्तै बबरमहलस्थित कर कार्यालयको भवनमा राजस्व र भवन विभाग, थापाथलीमा जनस्वाथ्य, बिजुलीबजारमा सहकारी विभाग, थापाथलीमा शहरी योजना आयोग र ताहाचलमा शिक्षा र कृषि विभागको कार्यालय रहेका छन् ।

कामपाले अधिकांश कार्यालयको भाडा तिर्ने गरेको छ । ‘अब खर्च कटौती गरी एउटै स्थानबाट जनतालाई सबै सेवा दिन नयाँ भवन खोजिएको सहसचिव ज्ञवालीले बताउनुभयो । उहाका अनुसार दशैंअघि कामपा सरकारी स्वामित्वको भवनबाट सञ्चालन हुने भएको छ ।

कामपाले बागदरबार (हरि भवन) मा आफ्नै भवन बनाउने तयारी गरेको थियो । पुरातत्व विभाग र सरकारले ऐतिहासिक दरबार भत्काउन नदिएपछि कामपा चार वर्षदेखि भाडामा बस्दै आएको छ । अहिलेसम्म कामपाले भाडाबापत झन्डै ७ करोड २० लाख रुपियाँ खर्चिसकेको छ ।

बागदरबार (हरिभवन) भत्कनेवित्तिकै राष्ट्रिय सभागृहबाट कामपाको प्रशासन चल्ने गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सभागृहमा महानगरको कार्याललय राख्न नहुने बताएपछि कामपा भाडाको घरमा बस्दै आएको छ । अब १० वर्षसम्म काठमाडौं प्लाजामा बसेपछि आफ्नै भवन बनाएर सर्ने तयारी गरेको कामपाको भनाइ छ ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर