कृषिमा अथाह सम्भावना

२०७७ असार १२ शुक्रबार ०७:५४:०० मा प्रकाशित

डडेल्धुरा : गन्यापधुरा गाउँपालिका १ का प्रसाद अवस्थी दुई सय रोपनीमा तरकारी खेती गर्छन्। उनी भागेश्वर कृषि तथा पशुपालन फर्म दर्ता गरी एक दशकदेखि तरकारी खेती गर्दै आएका छन्।

अहिले उनको बारीमा लटरम्म आलु फलेको छ। पछुवा आलु गोड्ने काम चलिरहेको छ भने अगाडि लगाएको आलु खन्ने काम पनि भइरहेको छ। आफ्नो उमेरका साथीहरू विदेश गएको देखेर उनलाई पनि रहर नजागेको होइन। तर, तरकारीबाटै राम्रो आम्दानी हुन थालेपछि आफ्नै माटोमा रमाएको उनी बताउँछन्। ‘सबै खर्च कटाएर वार्षिक झण्डै १५ लाख आम्दानी हुन्छ’ अवस्थीले भने, ‘अहिले भारतबाट फर्केका १५ जना उनको तरकारी बारीमा काम गरिरहेका छन्।’

लकडाउन सुरु हुनु अघि डडेल्धुरा फर्केका अमरगढी १ का सुरेन्द्र चन्द अहिले अवस्थीको बारीमा काम गर्छन्। ‘१४ दिन क्वारेन्टाइनमा बसें। कोरोनाको रिपार्ट नेगेटिभ आयो, अहिले १५ हजार तलबमा काम गरिरहेको छु।’

अवस्थीको तरकारी बारीमा मासिक १२ हजारदेखि १५ हजार सम्म तलब पाउने गरी १५ जना युवा काम गरिरेका छन्। अमरगढी नगरपालिका–१, तडिपाटाका प्रकाशबहादुर ऐर पेसाले शिक्षक हुन्। उनले शिक्षण सँगै तरकारी खेती पनि गरिरहेका छन्। उनी वर्षायाममा झण्डै १२ देखि १५ टन बेमौसमे आलु उत्पादन गर्छन्। प्रकाशले पनि भारतबाट फर्केका पाँच युवालाई आलु खन्ने काम दिएका छन्। यो बेला तराइका जिल्लामा डडेल्धुराको नयाँ आलु खोसाखोस हुन्छ।

‘तरकारी बारीमा काम गरेबापत दैनिक ६ सयदेखि ७ सय ज्याला दिने गरेको छु। भारतबाट फर्केका युवकले सीप अनुसारको काम गर्न लाज मानेनन् भने हाम्रो देश अघि बढ्छ’, उनले भने, ‘उनीहरुलाई अग्र्यानीक र बेमौसमी खेतीमा लाग्न मेरो सुझाव छ।’

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले डडेल्धुरालाई आलु सुपर जोन घोषणा गरेको छ। अहिले त्यहाँ ज्याला मजदुरी मात्रै होइन, अर्को जिल्लाका युवा पनि जग्गा भाडामा लिएर तरकारी खेती गर्न थालेका छन।

बैतडी सिगास गाउँपालिका ढुंगाडका प्रिन्स अवस्थीले डडेल्धुराको अमरगढी नगरपालिका १ मौरडामा जमिन भाडामा लिएर तरकारी खेती सुरु गरेका छन्। उनी भन्छन्, ‘इच्छाशक्ति भयो भने स्वदेशमै विदेशको भन्दा बढी पैसा कमाउन सकिन्छ।’

प्रिन्सको पोली हाउसमा अहिले टमाटर, भेडे खुर्सानी, भण्टा, आलु र काउली फलेको छ। साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाबट २२ लाख अनुदान पाएका उनले तरकारी बारीमा ६४ लाखको लगानी गरेको बताउँदै भने ‘आफु पनि कमाइ रहेको छु, ७÷८ जनालाई रोजगारी पनि दिएको छु।’

त्यस्तै, तरकारी खेती गर्नका लागि जमिन भाडामा लिएको गन्याधुराका खगेन्द्र नाथले सुनाए। लकडाउनको समयदेखि बेरोजगार बनेका र स्वदेश फर्किएका ४० व्यक्तिलाई रोजगारी दिएको उनी बताउँछन्।

व्यवसायिक आलुखेती गर्ने किसानहरुले आलुको उत्पादन बढाएका छन् भने रोजगारीसमेत सिर्जना गरेका छन्। तरकारी खेतीमा गरिएको व्यवसायिकरणले किसानमा उत्साह सिर्जना गरेको प्र्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, आलु सुपर जोन डडेल्धुराका प्रमुख खेमराज जोशीले बताए।

तरकारी खेतीका लागि प्रसिद्ध डडेल्धुरामा बेमौसमी व्यवसायिक तरकारी खेती फष्टाइरहेको र गाँउघरमै दर्जनौ व्यक्तिले रोजगारी पाएको आलुसुपर जोन डडेल्धुराले जनाएको छ। पछिल्लो समय करिब १७ सय युवा व्यवसायिक तरकारी खेतीमा लागेको तथ्यांक कृषि ज्ञान केन्द्रसँग छ।

गत वर्ष १३ सय युवा कृषक आलुखेतीमा लागेका थिए भने यो वर्ष झण्डै दुई हजार युवा आलु खेतीमा लाग्ने योजना छ। त्यसमा पनि भारत तथा अन्य मुलुकबाट बेरोजगार भइ फर्किएका युवालाई प्रत्सोहन गरी तरकारी उत्पादन तर्फ आकर्षित गरिने प्र्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, आलु सुपर जोन डडेल्धुराका प्रमुख जोशीले बताए।

उनले भने, ‘भारतबाट फर्किएका परशुराम नगरपालिका तुलाभाडीका करिब २० युवा तरकारी खेतीमा लागेका छन्। यो वर्ष हरेक युवा कृषकले १० क्विन्टलका दर आलुको बीउ माग गरेका छन्।’ आलु सुपरजोन कार्यक्रमको तथ्यांक अनुसार गत आर्थिक वर्षसम्म १३ सय बढी कृषक आलुखेतीमा संलग्न छन् आलुबाहेक विभिन्न तरकारी खेतीमा संलग्न युवाहरूको संख्या १७ सयभन्दा बढी छ।

भारत लगायत अन्य देशबाट पर्किने युवाको चासो तरकारी तथा फलफुल खेतीमा बढी पाइएकाले कृषि उत्पादनमा युवाको संख्या बढ्ने कृषि ज्ञानकेन्द्र डडेल्धुराका प्रमुख दिलबहादुर विष्टले बताए। कृषि उपज उत्पादनमा अनुदानका साथै मुनाफा पनि लिन सकिने भएकाले युवाहरु कृषि तर्फ आकर्षित हुन थालेको उनको भनाइ छ।

अहिले जिल्ला भर पाँच सय हेक्टर सुन्तला जातको फलफुल, चार सय २० हेक्टर हिउँदे र करिब पाँच सय हेक्टर जमिनमा वर्षा याममा हुने फलफुल खेती भइरहेको। १३ सय बढी हेक्टरमा तरकारी खेती भइरहेकोसकेत प्रमुख विष्टले बताए।
(अन्नपूर्ण पोष्टबाट)

ताजा खबर