फेरि ओली-दाहाल संघर्ष

२०७७ असार १२ शुक्रबार ०७:४३:०० मा प्रकाशित

यति बेला दाहालले वरिष्ठ नेता नेपाल र अन्य शीर्ष नेताको साथ लिएर ओलीलाई टक्कर दिइरहेका छन्।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक शक्ति संघर्ष चुलिँदै गएका बेला स्थायी कमिटी बैठक सुरु भएको छ। पार्टी एकीकरणको दुई वर्ष र सरकार सञ्चालनको अढाइ वर्षमा विकसित घटनाक्रमले नेताहरूबीचको शक्ति संघर्ष देखिनेगरी सतहमा आएको पुष्टि गरेको छ।

नेकपाभित्र न कम्युनिस्ट भाइचारा देखिन्छ न हार्दिकता। यो शक्ति संघर्ष आमनेसामने रहेका बेला कसले कसलाई ढालेर वर्चस्व कायम गर्ने हुन्, चौतर्फी जिज्ञासा बनेको छ। बुधबार सुरु भई शुक्रबारसम्मका लागि तय भएको नेकपा सचिवालयको बैठक ओलीका निम्ति सहज नहुने देखिएको छ।  

यति बेला नेकपाभित्र सबैभन्दा प्रस्ट संघर्ष प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच देखिएको छ। दूधको झिंगाजस्तै गरी पार्टी वरिष्ठ नेता माधवकुमार नेपाललाई निकालेर ओली–दाहालले केही समय मिलिजुली सरकार र पार्टी चलाएका पनि हुन्। तर ओलीको सर्वेसर्वा हुने मोहले अहिले दलभित्रको शक्ति सन्तुलन बिग्रिएको छ। यति बेला दाहालले वरिष्ठ नेता नेपाल र अन्य शीर्ष नेताको साथ लिएर ओलीलाई टक्कर दिइरहेका छन्।  

ओलीको पार्टी सञ्चालन शैली, सरकार सञ्चालन प्रक्रिया र शीर्ष नेतालाई बेवास्ता गर्ने प्रवृत्तिलाई शक्ति संघर्षको कारण मानिएको छ। पार्टीभित्र माधव नेपाल समूहलाई बेवास्ता गर्दै दाहाल–ओली मिल्नु, दाहाललाई ‘साइज’मा ल्याउन उपाध्यक्ष वामदेव गौतमलगायत नेतालाई उपयोग गरिनुजस्ता कारणले पार्टीभित्र आन्तरिक कलह विस्फोटको अवस्थामा पुगेको छ। ओलीको कार्यशैलीबाट पार्टीका शीर्ष नेताहरू दाहाल, नेपाल, झलनाथ खनाल, गौतम, नारायणकाजी श्रेष्ठसमेत असन्तुष्ट छन्। उनीहरूले बारम्बार ओलीलाई कार्यशैली सच्याउन आग्रह गरे पनि समन्वयकारी भूमिका नदेखिएको नेताहरूको गुनासो छ।

यति बेला दाहालले वरिष्ठ नेता नेपाल र अन्य शीर्ष नेताको साथ लिएर ओलीलाई टक्कर दिइरहेका छन्।

६ महिनापछि बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टी स्थायी कमिटी बैठकमा पार्टीका पहिलो अध्यक्षका तर्फबाट ओलीले मन्तव्य राख्दै गर्दा अन्य नेता प्रतिवाद गर्ने तहसम्म पुग्नुलाई अर्थपूर्ण मानिएको छ। यसअघि ओलीका अगाडि धेरैले बोल्न पनि सक्दैनन् भनिन्थ्यो।  

पार्टीभित्रैबाट आफूलाई असहयोग हुँदा बाहिरका शक्ति पनि चल्मलाएको ओली अभिव्यक्तिले नेकपाभित्र शक्ति सन्तुलन धर्मराएको स्पष्ट हुन्छ। एकीकरणकै बेला नेपाल पक्षलाई पेल्न ओलीले दाहालसँग समन्वय गर्नु र नेपाललाई थाहै नदिई प्रधानमन्त्रीको कार्यकाल आधा–आधा बाँड्ने, प्रधानमन्त्री पूरा समय चलाउन दिएबापत कार्यकारी अधिकार दाहाललाई दिएर मिलाउने र ती निर्णय कार्यान्वयन नहुने अवस्था आएपछि दाहालले पार्टी एकीकरण गलत थियो कि भन्ने निष्कर्षमा पुग्नुले पार्टीभित्र ओली एकलौटी हाबी हुन खोजेको देखिन्छ। यसले गर्दा अहिले वरिष्ठ नेता नेपालले पार्टीभित्र सबै नेताको भूमिका समान हुनुपर्ने धारणा राख्न थालेबाट स्थायी कमिटीको बैठक ओलीका लागि सहज हुने अवस्था नदेखिएको हो।

२०७२ सालमा संविधान जारी भएपछि सम्पन्न आमनिर्वाचनमा चुनावी तालमेल र पार्टी एकता घोषणा गरेका एमाले र माओवादी चुनावमा गएपछि झन्डै दुईतिहाइ नजिकको सरकार गठन भएको थियो। सरकार गठनको चार महिनापछि २०७५ जेठ ३ गते दुई पार्टी एकीकरण भएको घोषणा गरियो तर त्यही दिनदेखि आन्तरिक झमेला सुरु भयो। एकीकरणपछि अध्यक्षको जिम्मेवारी लिएका ओली र दाहालले पार्टी हाँकिरहेको देखिए पनि उनीहरूबीच जिम्मेवारी बाँडफाँट र सरकार सञ्चालनका विषयमा सधैं खटपट परिरहेकै छ। ‘अध्यक्ष ओलीले आफूलाई सामन्तवादी चरित्रमा ढालेर अन्य नेताप्रति रैतीको व्यवहार गरेका र बैठक सञ्चालनमा समेत फरकफरक व्यवहार देखाएका कारण नेताहरू एकले अर्काप्रति विश्वास गर्न सकिरहेका छैनन्। कहिले ओली–दाहाल साँठगाँठ हुने, कहिले ओली–दाहाल–गौतम मिलाप देखिने त कहिले दाहाल–नेपालको मिलेमतो बन्ने भएकाले नेताहरू आफैंआफंै तर्सिने गरेका छन्,’ नेकपाको पछिल्लो गतिविधिको मूल्यांकन गर्दै एक स्थायी कमिटी सदस्यले भने।  

ओलीले पार्टीका वरिष्ठ नेता नेपाल पक्षलाई जिम्मेवारी दिन नखोज्नु र दाहालले आफू पक्षका नेताहरूलाई सकेसम्म बढी जिम्मेवारी दिन खोज्नु पार्टीभित्रको आन्तरिक विवाद हो। यसले गर्दा नेकपाको आन्तरिक विवादको चुरो त्यसैमा अड्किने गरेको छ।  

बिहीबारको स्थायी कमिटी बैठकमा ओलीले पार्टीभित्र आफ्ना विरोधीहरू रहेको बताउनु, दाहालले पार्टी एकीकरण नै गलत थियो कि भन्नेजस्ता अभिव्यक्ति दिनुले पार्टीभित्र दुई अध्यक्षबीच खटपट छ, यसले पार्टीलाई उन्नत दिशातर्फ लैजाँदैन भन्ने देखिएको नेताहरूले बताउन थालेका छन्। ‘हामी चाहन्छौं विवाद समयमै सुल्झन्छ, नेताहरू आफ्नो भूमिकालाई स्पष्ट पारेर अघि बढ्नुहुनेछ, एकअर्काको भूमिकालाई बेवास्ता गर्ने र कुनै समूह तथा व्यक्तिको नाम लिएर कोहीकसैलाई प्रतिशोध साँध्ने काम हुँदैन भन्ने कुरा यो बैठकले सबैलाई आश्वस्त पार्न सक्नुपर्छ,’ स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले भने। उनका अनुसार बुधबारको बैठकमा दुवै अध्यक्षको भनाइलाई ध्यान दिने र अर्का वरिष्ठ अध्यक्षले बीचैमा बोल्नुपर्ने अवस्था आउनु राम्रो सन्देश होइन। पार्टीका नेताहरूले सरकारमा रहेका मन्त्रालय र मन्त्रीहरूले भ्रष्टाचार गरिरहेको, भ्रष्टाचारीलाई बालुवाटारबाटै संरक्षण भएको लगायत गम्भीर आरोप लगाएका छन्। प्रधानमन्त्री ओलीले यसलाई चिर्न सकेका छैनन्। भ्रष्टाचारी भनेर सञ्चारमाध्यममा नाम आएका व्यक्तिलाई प्रधानमन्त्रीले बचाउ गर्नुपर्ने, पार्टीलाई एकढिक्का बनाउनुको साटो उल्टै पार्टीका नेताहरूलाई अविश्वास गर्ने र बाहिर गुटबन्दी गरेको आरोप ओलीले लगाइरहेका छन्। तर उनले बालुवाटारमा नेताहरूलाई बोलाएर भेटघाट गरेको, सांसदहरूलाई बोलाएर आश्वासन बाँडेको र सरकारमा बसेर पार्टीका नेताहरूलाई तर्साउनेगरी संवैधानिक निकायमा प्रमुखहरूसँग बैठक गरेको जस्ता विषयमा ओली मौन छन्।  

नेपाल समूहका नेताहरू भने ‘एक व्यक्ति एक जिम्मेवारी’को विषय कार्यान्वयन गर्ने र सरकार सञ्चालनमा पूर्णतः पार्टीको नियन्त्रण हुनुपर्ने पक्षमा देखिएका छन्। उनीहरूले सुरुदेखि नै यो विषय उठाउँदा ओली र दाहाल पक्ष दुवैलाई मन परिरहेको छैन। दोहोरो जिम्मेवारीमा धेरैजसो ओली–दाहालकै नेता भएका कारण उनीहरू दुवै यो पक्षमा छैनन्। ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नुपर्ने भन्ने दबाबले दाहाललाई फाइदा पुग्ने भएकाले उनी बेलाबखत मौन बस्दै आएका छन्। स्थायी कमिटी सदस्य वेदुराम भुसालका अनुसार पार्टीभित्र उत्पन्न पछिल्लो विवाद र परिस्थितिमा विधि र प्रक्रिया मिचेर गरिएका निर्णयहरू सच्चिनुपर्छ। ‘पछिल्लो समय पार्टीको समन्वयबेगर सरकारले गरेका विभिन्न निर्णयका कारण पार्टीको छवि बिग्रेको र गलत कामले समेत प्रोत्साहन पाएका कारण गम्भीर रूपमा सरकारको समीक्षा हुनु जरुरी छ। सरकारको कामले पार्टीलाई राम्रो गरिरहेको छैन भन्ने कुरा सरकार सञ्चालनको नेतृत्व गरिरहेका र पार्टीको सचिवालयमा बसेका नेताहरूले बुझ्नु जरुरी छ,’ नेता भुसालले भने।  

पार्टीभित्र विवाद हुँदा सरकारले गरेका राम्रा कामलाई समेत पार्टीका नेता–कार्यकर्ताले स्वाभाविक प्रचारप्रसार गर्न सकेका छैनन्। एक वर्षदेखि पार्टीका कुनै संगठनबाट पनि राम्ररी काम हुन सकेका छैन। बैठक, भेला, प्रशिक्षण तथा सरकारको समीक्षा तथा अन्य विषयमा पार्टीभित्र सोधखोज हुन छाडेको छ। सरकारमा पार्टीभित्रका नेता–कार्यकर्ताले भन्दा सरकारमा बसेका नेताहरूको गुणगान गर्ने व्यक्तिलाई आकर्षक स्थानमा नियुक्ति गर्ने परिपाटी सिर्जना भएको छ। त्यसले गर्दा सरकार र पार्टीभित्र समन्वय अभाव बढ्दा पार्टी एकीकरण नै जोखिममा परेको नेताहरूले बताएका छन्। एकीकरण प्रक्रियादेखि नै पार्टीभित्र हेपाइमा परेको नेपाल समूहले आन्तरिक बैठकहरूमा सहमतिका लागि ओली पक्षसँग ठोस प्रस्ताव लिएर आउन आग्रह गरेको छ। तर ओली त्यस्तो पक्षमा छैनन्। उनी नेपाललाई पेलेरै जाने मनस्थितिमा छन्। यसबीचमा आफूविरोधीलाई पेल्दै जाने मनस्थिति बनाएका ओलीका लागि कोरोना संक्रमणको समय पनि सरकार र सरकार संरक्षित कम्पनी तथा व्यक्ति भ्रष्टचारमा निर्लिप्त भएको भन्दै पार्टीभित्रका नेताहरूले आलोचना गरेपछि उनी त्यसको बचाउमा लागेको र ओली पक्षीय नेताहरूलाई कारबाही गर्नबाट जोगाएको आरोप पनि उनका लागि अप्ठ्यारो बन्दै गएको छ।
(नागरिक न्युजबाट)

ताजा खबर