बाढी र डुबान समस्या समाधानमा नेपालसँग समन्वय भइरहेको छ : भारत

२०७७ असार १२ शुक्रबार ०७:११:०० मा प्रकाशित

नयाँदिल्ली — भारतले बाढी र डुबान समस्या समाधान सम्बन्धमा नेपालसँग समन्वय भइरहेको बताएको छ । भारतका विदेश मन्त्रालयद्वारा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अनुराग श्रीवास्तवले बाढी र डुबान समस्या सम्बोधनका लागि दुई देशबीच रहेको संयन्त्रले काम गरिरहेको बताएका हुन् ।

 

नेपालका नदीहरुमा आउने बाढीका कारण बिहारलगायतका सिमावर्ती राज्यहरुमा हुने डुबानका विषयमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा जवाफ दिँदै प्रवक्ता श्रीवास्तवले भने,‘भारत र नेपालबीच बाढी नियन्त्रणको कामका लागि दुई पक्षीय संयन्त्र छन् । सीमामा रहेका नदीहरुमा बाढी नियन्त्रण र भूक्षय रोक्ने काम सुरु भइसकेको छ ।’ साथै यो वर्षको मनसुनमा हुनसक्ने क्षति कम गर्न दुवै पक्षबीच समन्वय भइरहेको समेत उनले बताएका छन् ।

प्रत्येक वर्ष नेपाल र भारतको सिमावार्ती क्षेत्रमा वर्षाका बेला नदी र खोलाको सतह बढ्दा बाढी र डुबान समस्या हुने गरेको छ । जसका कारण ठूलो मात्रामा अन्न बाली र धनमालको क्षति हुने गरेको छ ।

सीमाका दुई दर्जनभन्दा बढी ठाउँमा भारतले एकतर्फी रुपमा निर्माण गरेका तटबन्धले पनि नेपाली भूभागलाई डुबाउने गरेको त्यसले ठूलो मात्रामा धनमालको क्षति हुने गरेको छ । यस विषयलाई नेपालले उच्च राजनीतिक तहमा उठाउँदै आए पनि भारतले त्यति वास्ता नगर्ने गरेको नेपाली अधिकारीहरुले गुनासो गर्दै आएका छन् ।

अझ भारतीय पक्षले उल्टो नेपालका कारण भारतीय क्षेत्रमा डुबान हुँदै आएको आरोप लगाउने गरेको छ । केही दिनअघि बिहारका जलसंशाधन मन्त्री सन्जय झाले नारायणी (गण्डक) नदीमा बनेको बाँधको सफाई र मर्मतको काममा नेपालले अवरोध गरेका आरोप लगाएका थिए । यसले बिहारमा बाढी र डुबानको जोखिम बढाएको समेत जनाएका थिए ।

तर, नेपालले भने मन्त्री झाको आरोपको खण्डन गर्दै कोभिड १९ को नियन्त्रण र रोकथामका लागि सीमा बन्द गरिएको र संक्रमणको जोखिम कम गर्न बाँधको मर्मत एवं सफाइका लागि आउने प्राविधिकहरुको सूची पठाएको खण्डमा अनुमति दिइने जनाएको थियो । त्यही प्रक्रिया पुरा गर्नका लागि समय लागेको हुँदा बाँधको काम रोकेको भन्ने मन्त्रीको आरोप सत्य नभएको जनाएको थियो ।
(कान्तिपुर अनलाइनबाट)

ताजा खबर