बाग्मती प्रदेशमा कोरोना सङ्क्रमण बढ्दो

२०७७ असार ११ बिहीबार ०९:५४:०० मा प्रकाशित

हेटौँडा, असार ११ गते ।  कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै यस प्रदेशमा परीक्षणको दायरा बढाउन थालिएको छ । बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयका कोभिड–१९ का प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईले कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै परीक्षणको दायरा बढाउने काम भइरहेको बताउनुभयो ।
कोरोना रोकथाम र नियन्त्रण गर्न क्वारेन्टाइन र आइसोलेसनको शय्या सङ्ख्या र गुणस्तर वृद्धि एवं अन्य व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, विदेशबाट आएकाहरूको स्थानीयस्तरमा आरडीटी परीक्षणसँगै आरटी–पीसीआर परीक्षण हेटौँडा, भरतपुर, धुलिखेल र काठमाडौँ उपत्यकाका गरी आठवटा प्रयोगशालमा भइरहेको छ ।
बाग्मती प्रदेशमा गत जेठ ९ गतेसम्ममा सात हजार ७७५ स्वाबको नमुना पीसीआर विधिबाट परीक्षण गरिएकोमा कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमितको सङ्ख्या २८ रहेको थियो । यस्तै आरडीटी किटबाट २१ हजार ७१२ जनाको परीक्षण गरिएकोमा ४०६ जनाको पोजेटिभ रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी चार हजार ४३६ क्वारेन्टाइन शय्या सङ्ख्या रहेकोमा ३६७ जना बसेको, ९९५ आइसोलेसन शय्या रहेकोमा ४९ जना बसेको र होम क्वारेन्टाइनमा २८७ जना बसेका थिए । एक महिनाको अवधिमा प्रदेशका जिल्लाहरूमा सङ्क्रमित बढेर मङ्गलबारसम्ममा ३२९ सङ्ख्या पुगेको छ भने तीमध्ये निको भएर ८६ जना घर फर्किएका र २३९ जना उपचाररत छन् ।
उता स्वाब सङ्कलनका लागि प्रयोग हुने भीटीएम र कोरोना प्रयोगशालमा पीसीआर विधिबाट कोरोना परीक्षण गर्न किटलगायतका स्वास्थ्य सामग्री अभावमा परीक्षण प्रभावित बन्दै गएको बताइएको छ ।
पीसीआर परीक्षणका लागि स्वाब सङ्कलनको चापअनुसार तीव्र गतिमा प्रयोगशालामा परीक्षण हुनुपर्नेमा जनशक्ति र किट अभावलगायतका समस्याले परीक्षण रोकिने गरेको हो ।

सात जना निको भएर घर फर्किए
प्रदेश राजधानी रहेको मकवानपुरमा हालसम्म कोरोना सङ्क्रमित हुनेको सङ्ख्या १८ पुगेको छ । सङ्क्रमतिमध्ये १२ जना उपचारपछि घर फर्किएका छन् ।
भारतबाट फर्किएका आठ र वैदेशिक रोजगारीका लागि गएर हवाइमार्ग हुँदै आएका तीन जना महिलामा कोरोना पुष्टि भएको छ । हवाइमार्ग हुँदै आएकाहरू काठमाडौँमा नै उपचाररत छन् ।
यस्तै मकवानपुरको थाहा नगरपालिका वीरगञ्जलाई कार्यक्षेत्र बनाएर कार्यरत पत्रकारमा कोरोना पुष्टि भएकोमा उपचारपछि घर फर्किएका छन् । जिल्लाका विभिन्न स्थानमा गरी ३५२ बेड रहेको क्वारेन्टाइनमा १०३ जना, ३५ बेड रहेको आइसोलेसनमा १३ जना र होम क्वारेन्टाइनमा ३०५ जना बस्दै आउनुभएको छ ।
मकवानपुरमा एक हजार ७४६ आरडीटी परीक्षण गरिएकोमा १८ जनामा पोजेटिभ र ८४९ स्वाबको नमुनाको पीसीआर परीक्षण गरिएको छ । किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडास्थित प्रादेशिक प्रयोगशालामा परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएकाहरूलाई पछिल्लो समयमा हेटौँडा–४ स्थित आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको छ ।

कोरोना जितेपछि दङ्ग
सिन्धुली जिल्लाका कोरोना सङ्क्रमित सात जनामध्ये तीन जना निको भएर दङ्ग हुँदै घर फर्किएका छन् ।
सिन्धुली अस्पतालको आइसोलेसनमा भर्ना भई उपचार गराइरहेका सङ्क्रमितमध्ये कोरोनालाई जितेर सोमबार तीन जना आफ्नो घर गएका उक्त अस्पतालले जनाएको छ ।
झन्डै २२ दिनको अस्पतालको बसाइपछि कोरोना जितेर डिस्चार्ज भएका तीनै जनालाई बेहुलाझैँ सिँगारेर अस्पतालले बिदाइ गरेको अस्पताल विकास समितिका अध्यक्ष प्रल्हादकुमार पोख्रेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार कमलामाई नगरपालिका ११ का १७ वर्षीय राजु गोले र कमालमाई नगरपालिका–१४ का २३ वर्षीय मनोज गदौली तथा तीनपाटन गाउँपालिका ३ का २५ वर्षीय चन्द्रबहादुर गोले रहनुभएको छ । एकजना सिन्धुली अस्पतालको आईसोलेसनमा उपचाररत रहेको बताइएको छ । उनीहरू भारतबाट फर्किएका हुन् ।
सिन्धुली जिल्लामा ४५५ वटा क्वारेन्टाइन बेड र ३३ वटा आईसोलेसन बेड रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । हालसम्म क्वारेन्टाइनमा बसेर ३०४ जना र आइसोलेसनमा उपचार गरी १९ जना घर फर्किएका छन् ।

कोरोना मुक्त काभ्रे
काभ्रेपलाञ्चोक जिल्ला कोरोना मुक्त भएको छ । गत जेठ २३ गते कोरोना देखिएका पाँच जना नै गत शुक्रबार कोरोना मुक्त भएर घर फर्किएपछि काभ्रेपलाञ्चोक जिल्ला कोरोना मुक्त भएको हो ।
भारतबाट आएका चार र एक स्थानीय महिलामा कोरोना देखिएकोमा डिस्चार्ज भएर घर फर्किसकेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।
जिल्लामा अहिलेसम्म ८०७ बेडको क्वारेन्टाइन निर्माण भइसकेको काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार १३ वटै स्थानीय तहलाई सय बेडको क्वारेन्टाइन बनाउन भनिएको छ ।
त्यस्तै अहिलेसम्म जिल्लामा १३ बेडको मात्र आइसोलेसन वार्ड रहेको छ । स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्रकुमार झाले जिल्लाका क्वारेन्टाइन नेपाल सरकारले तोकेको र स्वास्थ्य मन्त्रालयको विधिअनुसार बनेको दाबी गर्नुभयो । भारतलगायत तेस्रो मुलुकबाट २५० जनाभन्दा बढी जिल्लामा आएको स्वास्थ्य प्रमुख झाले जानकारी दिनुभयो । अहिलेसम्म दुई हजार २९५ जनाको आरडीटी र एक हजार १६९ जनाको आरडी पीसीआर परीक्षण भएको छ ।

दोलखामा कोरोना सङ्क्रमण छैन
हिमाली जिल्ला दोलखामा भने हालसम्म कोरोना सङ्क्रण भएको पाइएको छैन ।
लकडाउन सुरु भएयता एक हजार ३७७ जनाको आरडीटी र १८४ जनाको पीसीआर परीक्षण गरिएकोमा सबैको नेगेटिभ आएसँगै जिल्लामा कोरोना सङ्क्रमण नदेखिएको हो ।
काठमाडौँलगायतका स्थानमा परीक्षण गरेका दोलखा घर भएका तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले जानकारी दिनुभयो ।
जिल्लामा भारत लगायत तेस्रो मुलुकबाट करिब नौ सयको हाराहारीमा नागरिक भित्रिएका छन् । उनीहरूलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको छ ।
हालसम्म ६८४ जना क्वारेन्टाइनमा बसेर घर फर्किसकेको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय जिल्लाभित्र बसोबास गर्नेहरूका लागि आवतजावतमा खुकुलो बनाइए पनि जिल्ला प्रवेश र जिल्ला बाहिर जान कडाइ गरिएको छ ।

रसुवा कोरोनाविहीन जिल्ला
बाग्मती प्रदेशको एकमात्र रसुवा जिल्लाका हालसम्म कोरोना सङ्क्रमित भेटिएका छैनन् ।
जिल्लाका पाँचवटै गाउँपालिकामा ३६० बेड क्षमताको क्वारेन्टाइन तथा कालीका गाउँपालिकाको जिवजिवे ग्रामीण अस्पताल र गोसाइकुण्ड गाउँपालिकाको धुन्चेमा गरी ३५ बेडको आइसोलेसन कक्ष रहेको छ ।
स्वास्थ्य कार्यालय प्रमुख किरण श्रेष्ठका अनुसार हालसम्म आरडीटी परीक्षण ४१४ जनाको भएको छ । अहिले क्वारेन्टाइनमा ४३ जना रहेका छन् । ४९ जनाको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएकोमा ३२ जनाको परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको छ । १७ जनाको परीक्षणका लागि पठाएको प्रमुख श्रेष्ठले बताउनुभयो ।
भारत तथा तेस्रो मुलुकबाट आउने नागरिकलाई अनिवार्य क्वारेन्टाइन राख्ने स्थानीय तहसँग समन्वय भएको प्रमुख जिल्ला अधिकारी हरि पन्तले बताउनुभयो ।

धादिङमा सङ्क्रमितको सङ्ख्या एक सय
जिल्लाका कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमितको सङ्ख्या एक सय नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय धादिङका अनुसार ७६ जनाको स्वाब परीक्षण गरिएकोमा ११८ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
नीलकण्ठ नगरपालिकामा मात्रै कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ६० पुगेको छ । यस्तै ज्वालामुखी गाउँपालिकामा २७ र त्रिपुरासुन्दरी गाउँपालिकामा १८ जना रहेका छन् । कोरोना सङ्क्रमितमध्ये ३४ जना निको भएर घर फर्किएका छन् ।
जिल्लाभर क्वारेन्टाइन बेडको क्षमता एक हजार ३७६ रहेकोमा हाल १३ महिलासहित २४० जना बसिरहेका छन् । आइसोलेसन बेडको सङ्ख्या ३९ रहेकोमा आठ महिलासहित ८९ जना रहेको स्वास्थ्य कार्यालय धादिङका प्रवक्ता दीपक अछामीले जानकारी दिनुभएको छ ।
जिल्ला अस्पताललगायत अन्य पालिकामा रहेका क्वारेन्टाइनलाई व्यवस्थित बनाएर  आइसोलेसनका रूपमा प्रयोगमा ल्याइएको छ । नीलकण्ठ नगरपालिका, ज्वालामुखी गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिकाले क्वारेन्टाइनलाई व्यवस्थित बनाएर आइसोलेसनका रूपमा प्रयोग गरिरहेका  छन् ।
कोरोना सङ्क्रमितहरूलाई व्यवस्थित बेड, तातोपानीको लागि विद्युतीय जग, पर्सनल थर्मामिटर, स्वस्थ र तागतिला खाना, खाजाको व्यवस्था मिलाइएको जिल्ला स्वास्थ्य कार्यालय धादिङका
प्रमुख डा. भुवन पौडेलले जानकारी दिनुभएको छ ।
(गोरखापत्र अनलाइनबाट)

ताजा खबर